Connect with us

POLITICS

बर्मामा जारी नरसंहारविरुद्ध ललितपुरमा प्रदर्शन

Avatar

Published

on

ललितपुर । बर्मा (म्यानमार) मा जारी सैनिक शासकहरुको नरसंहारको विरोधमा शुक्रबार ललितपुरमा विरोध प्रदर्शन गरिएको छ । नेपाल मानव अधिकार संगठन, प्रजातान्त्रिक विचार समाज नेपाल र न्यायका लागि मानव अधिकार सञ्जालले ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि उक्त प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी मानव अधिकारकर्मीहरुले म्यानमारमा जारी सैनिक दमन र मानव अधिकार उल्लंघनको अन्त्य गर्न माग गरेका छन् ।
शान्तिपूर्ण विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेपाल मानव अधिकार संगठनका पूर्वमहासचिव प्रा. कपिल श्रेष्ठले बर्मामा जारी जनताको हत्या तत्काल बन्द गर्न र मानव अधिकारको हनन तथा उल्लंघनको अन्त्य गर्न माग गरे ।
मानव अधिकार तथा मानवियताको रक्षाको लागि बर्माको सैनिक शासकहरुलाई युद्ध अपराधको मुद्दामा अन्तर्राष्ट्रिय अदालतमा उपस्थित गराउन ढिलाइ गर्न नहुने उनको भनाइ थियो ।
‘जननिर्वाचित सरकारलाई अपदस्थ गरी सेनाले कुमार्फत अहिलेको २१ औं शताब्दीमा पनि कसैले नसोचेको नागरिकको नृशंस हत्याको श्रृंखला मच्चाएको छ’, प्रा. श्रेष्ठले भने, ‘शान्तिपूर्ण विरोधमा उत्रिएका जनताको गोली हानी हत्या गरिएको छ । नौ महिनाको बच्चाको आँखामा समेत गोली हानिएको छ । यो कस्तो अमानवीयता हो ? यो प्रजातन्त्रविरोधी अपराधमात्रै होइन मानवताविरोधी अपराधसमेत हो ।’
प्रजातान्त्रिक विचार समाज नेपालका उपाध्यक्ष कुलचन्द्र वाग्लेले बर्मामा नृशंस हत्याहिंसा र नरसंहार हुँदा पनि मानव अधिकारलाई सर्वोपरि राख्ने राज्य, सरकार र संस्थाहरु मौन रहेको भन्दै आपत्ति जनाए ।
उनले प्रजातन्त्र के हो र स्वतन्त्रताको मूल्य के हो बर्मामा रहेका नेपालीलाई सोध्न आह्वान गरे ।
‘नेपालमा पनि प्रजातन्त्र छाडावाद र हुल्लडवाद भएकोले तानाशाह ल्याउन पर्छ र निरंकुश राजा ल्याउन पर्छ भन्ने जमात बढेको छ’, वाग्लेले भने, ‘यसो हो भने तानाशाह र निरंकुश शासन कस्तो हुन्छ भन्नेबारे अहिले बर्मामा बस्ने नेपालीहरुलाई सोधे हुन्छ, प्रजातन्त्र के हो ? स्वतन्त्रताको मूल्य के हो ? जीवनको मूल्य के हो ?’
कार्यक्रममा नेपाल मानव अधिकार संगठनका अध्यक्ष महामुनिश्वर आचार्य, पूर्वअध्यक्ष इन्द्रप्रसाद अर्याल, मानव अधिकारकर्मीहरु केदारनरसिंह केसी, राजन कुइँकेल, लोकराज अवस्थीलगायतले प्रजातन्त्र र मानव अधिकारको रक्षाको सवालमा सबै देश र क्षेत्रका मानव जाति एक हुनुपर्नेमा जोड दिए ।
बर्मामा अहिलेसम्म पाँच सयभन्दा बढी जनता मारिएको बताइएको छ । सयौंलाई वेपत्ता पारिएको छ । सेफ द चिल्ड्रेनले अहिलेसम्म ४१ जना बालबालिकाको हत्या भइसकेको जनाएको छ ।
गएको नोभेम्बरमा जनताबाट निर्वाचित आङ सान सुकीको सरकारलाई अपदस्थ गरी त्यहाँको जुन्ता सैनिकले कू मार्फत सत्ता हातमा लिएको थियो । नोभेम्बर २० मा त्यहाँ भएको निर्वाचनमा सैनिक समर्थित उम्मेदवारहरु पराजित भएर सुकी नेतृत्वको पार्टीले अत्यधिक बहुमत ल्याएपछि त्यसबाट तर्सेर जुन्ता सैनिकले सत्ता हातमा लिएको हो ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!