Connect with us

POLITICS

भक्तपुर र ललितपुरले शिक्षा र स्वास्थ्यमा सहकार्य गर्ने

Avatar

Published

on

आपसी भलाकुसारी गर्दै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे र ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन । तस्बिर : इन डेप्थ

भक्तपुर । भक्तपुर नगरपालिका र ललितपुर महानगरपालिकाले शिक्षा र स्वास्थ्यमा सहकार्य गर्ने भएका छन् ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा भक्तपुर नपाले छुट्टै पहिचान बनाउँदै आएको छ । त्यसैबाट प्रभावित भएर ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन बुधबार भक्तपुर पुगेर ललितपुर महानगरले शिक्षा र स्वास्थ्य क्षेत्रमा भक्तपुर नपासँग सहकार्य गर्ने स्पष्ट पारेका हुन् ।
मेयर महर्जनले भक्तपुर नगरबाट ललितपुर महानगरले धेरै कुरा सिक्न बाँकी रहेकोसमेत बताए ।
भक्तपुर पुगेका मेयर महर्जनले बुधबार नै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग पनि भेटेका थिए । उक्त भेटमा पनि मेयर महर्जनले शिक्षा र स्वास्थ्य क्षेत्रमा ललितपुर महानगरले भक्तपुर नगरसँग सहकार्य गर्न चाहेको स्पष्ट पारेको ललितपुर महानगरकी प्रेस संयोजक रमा लुइँटेलले जानकारी दिइन् ।
उनका अनुसार मेयर महर्जनले सम्पदा संरक्षणमा ललितपुर महानगरले गरिरहेको कार्यहरुबारे अध्यक्ष बिजुक्छेलाई जानकारी गराएका थिए ।
‘ललितपुर महानगरले पनि भक्तपुर नगरले जस्तै सम्पदाको जीर्णोद्धार र पुनर्निर्माणमा स्थानीय उपभोक्ता समितिलाई जोड दिएको मेयर महर्जनले स्पष्ट पार्नुभयो’, उनले भनिन् ।
उक्त अवसरमा नेमकिपाका अध्यक्ष बिजुक्छेले प्राचीन र ऐतिहासिक सहर तथा सम्पदा क्षेत्रमा भारी सवारीसाधनको प्रवेशमा निषेध गर्नुपर्ने सुझाव दिए ।
मेयर महर्जनले शताब्दी पुरुष सत्यमोहन जोशीको नाउँमा विद्यालय सञ्चालन गर्न लागेको जानकारी गराउँदा नेता बिजुक्छेले भाषा र साहित्य क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई नगरपालिकाले विशेष ध्यान दिनुपर्ने सुझाव दिए ।
बिजुक्छेले पुरानो सीप तथा प्रविधिको संरक्षण गर्न समेत नगरपालिकाले ध्यान दिनुपर्ने औंल्याए ।
भेटमा भक्तपुर नपाका मेयर सुनिल प्रजापतिको पनि उपस्थिति रहेको थियो ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!