Connect with us

POLITICS

वडावासीलाई कुटेर वडा अध्यक्ष खड्का फरार !

Avatar

Published

on

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका ५ का वडा अध्यक्ष जयन्द्र खड्का आफ्नै वडावासीलाई कुटेर फरार भएका छन् ।
उनले साथीहरु विश्व खड्का र प्रकाश लामिछानेसँग मिलेर स्थानीय ३२ वर्षीय लक्ष्मण खिचाजूलाई मरनासन्न हुने गरी कुटपिट गरेका थिए । घाइतेका परिवारका अनुसार वडा अध्यक्ष खड्का र विश्वले लक्ष्मणको घाँटी अठ्याएर सांघातिक हमला गरेका थिए ।
जयन्द्र गएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका जनप्रतिनिधि हुन् ।
घाइते खिचाजूका परिवारले वडा अध्यक्ष खड्कासहित आक्रमणकारीविरुद्ध महानगरीय प्रहरी परिसर भक्तपुरमा किटानी जाहेरीसमेत दिइसकेका छन् ।
परिसरकी प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले वडा अध्यक्षलगायतविरुद्ध किटानी जाहेरी परेको बताउँदै वडा अध्यक्षलगायत फरार रहेको जानकारी दिइन् ।
उनले वडा अध्यक्ष खड्कासहितको खोजी तीव्र बनाइएको बताइन् ।
‘सांघातिक हमला गरी घाइते बनाएको भन्दै वडा अध्यक्षलगायतविरुद्ध किटानी जाहेरी परेको छ’, प्रहरी उपरीक्षक थापाले भनिन्, ‘उहाँहरु फरार हुनुहुन्छ । हामी खोजिरहेका छौं ।’
उनका अनुसार घाइतेको अवस्थामा सुधार भइरहेको छ । घाँटी अँठ्याएर कुटपिट गरेकाले घाइतेको घाँटीमा समस्या रहेको प्रहरीले जनाएको छ ।
शनिबार घटनालगत्तै भक्तपुर अस्पताल लगिएका घाइते खिचाजूको अहिले मध्यपुर थिमि नपा ३ कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरी उपरीक्षक थापाले शनिबार गाडी पार्किङको विषयमा वडाध्यक्ष र घाइते खिचाजूबीच विवाद भएको जानकारी दिए । विवादकै वीच वडा अध्यक्ष खड्का र विश्वले लक्ष्मणमाथि मरनासन्न हुने गरी कुटपिट गरेको जाहेरीमा उल्लेख गरिएको छ ।
घटना विवरणअनुसार वडा अध्यक्ष खड्का शनिबार दुई साथीसहित खिचाजूको घर अगाडि रहेको एक पसलमा खाजा खान पुगेका थिए । उनले आफ्नो गाडी खिचाजूको पसल अगाडि पार्किङ गरे । पसल अगाडि अर्को गाडी पार्किङ भएको पाएपछि लक्ष्मणले त्यसैको सामुन्ने आफ्नो गाडी पार्क गरे ।
खाजा खाएर फर्केका वडा अध्यक्ष खड्काले आफ्नो गाडी निकाल्न अर्को गाडी निकाल्न भन्दै आफ्नो रवाफ देखाएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
उनका अनुसार लक्ष्मणले आफ्नै घर अगाडि पार्क गरेको गाडी हटाउन नपर्ने बताउँदै गर्दा एक्कासी वडा अध्यक्ष खड्काले उनीमाथि आक्रमण गरेका थिए ।
घाइते लक्ष्मणका दाजु रामले गाडी नहटाएको निहुँमै वडा अध्यक्ष खड्का र उनीसँगै आएका विश्वले लक्ष्मणमाथि एक्कासी कुटिपट गरेको बताए ।
विश्व पूर्व सैनिक रहेको उनले जानकारी दिए । उनले भाइमाथि सांघातिक हमला गर्ने वडा अध्यक्षसहित सबैलाई कानुनी कारबाही गरेर क्षतिपूर्ति भराउन माग गरेका छन् ।
भक्तपुर प्रहरीका अनुसार वडा अध्यक्ष खड्का यसअघि पनि एक स्थानीयलाई कुटपिट गरेको मुद्दामा प्रहरी परिसर उपस्थित भएका थिए । त्यसबेला मिलापत्र गरेर वडा अध्यक्ष खड्कालाई छोडिएको भक्तपुर प्रहरीले जनाएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!