Connect with us

POLITICS

जिल्ला प्रशासन भन्छ, बैकल्पिक उपायबाट बिस्का जात्रा गरिन्छ

Avatar

Published

on

जिल्ला प्रशासन कार्यालय भक्तपुरको निर्णयबारे जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई । तस्बिरहरु : ईश्वरकाजी खाइजू

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढेको भन्दै जिल्लामा कुनै किसिमको मेला, जात्रा, सांस्कृतिक कार्यहरु नगर्न र नगराउन अनुरोध गरेको छ ।
कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै जिल्लाका कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न भिडभाड हुने गरी कुनै किसिमको मेला, जात्रा, सांस्कृतिक कार्यलगायत नगर्न अनुरोध गरेको हो ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयको पत्रानुसार जिल्लामा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न उक्त निर्णय लिइएको जानकारी दिए ।
भक्तपुरमा नजिकिँदै गरेको बिस्का जात्रामा भने बैकल्पिक उपाय खोजिने उनको भनाइ थियो ।
‘तत्काल बिस्का जात्रा रोक्ने भनेर निर्णय लिएका छैनौं’, प्रजिअ भट्टराईले भने, ‘बिस्का जात्रा सञ्चालन गर्न बिकल्प खोज्छौं ।’
उनले सीमित जात्रालुहरुको उपस्थितिमा बिस्का जात्रा सञ्चालन गर्नेतर्फ विचार गरिने स्पष्ट पारे ।
गत वर्ष पनि कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि भनेर भक्तपुरको बिस्का जात्रा रोकिएको थियो । जसअनुसार गत वर्ष बिस्का जात्रा औपचारिकतामा सीमित गरिएको थियो ।
बिस्का जात्राको लागि अहिले भक्तपुरमा भैरवनाथको रथ बनाउने कार्य भइरहेको छ । लिंगोको लागि आवश्यक काठको जोहो गरिसकिएको छ ।
बिस्काजात्राअन्तर्गत नै मध्यपुर थिमि नपा ८ बोडेमा वैशाख २ गते जिब्रो छेड्ने जात्रा तथा सिन्दूर जात्रा सञ्चालन हुँदै आएको छ । जुन गत वर्ष रोकिएको थियो ।
यस वर्ष जिब्रो छेड्ने जात्रा अवलोकनको लागि सरकार प्रमुख वा राष्ट्र प्रमुखलाई ल्याउन पहल गरिएको छ । मध्यपुर थिमि नपाको तर्फबाट गरिएको उक्त पहल अब रोकिने सम्भावना बढेको छ ।
प्रमुख जिल्ला अधिकारी भट्टराईले भक्तपुरको बिस्का जात्राअन्तर्गत भैरवनाथको रथ तान्न र लिंगो उठाउन सीमित जात्रालुको सहभागितामा प्रविधि प्रयोग हुनसक्नेसमेत संकेत गरे ।
लिंगोजात्राको लागि आवश्यक लिंगो काठ ल्याउँदा डोजर प्रयोग गरिएको औंल्याउँदै उनले भने, ‘लिंगो परम्परागत रुपमा नल्याई डोजर प्रयोग गरेर ल्याइएको छ । अब भैरवनाथको रथ र लिंगो तान्ने कार्यमा पनि केही बैकल्पिक उपाय प्रस्ट रुपमा भन्दा मेसिन नै प्रयोग गर्ने हो ।’
तैपनि यस विषयमा बिस्का जात्राका सरोकारवालाहरुसँग छलफल गरेर निक्र्योल गरिने उनले स्पष्ट पारे ।
प्रजिअ भट्टराईले कोरोना भाइरसका कारण मान्छे नै रहने कि नरहने भन्ने अवस्थामा बिस्का जात्राका बारेमा पनि उपाय गरेर जात्रापर्व पनि समाप्त नहुने गरी बैकल्पिक उपाय अपनाइने सुनाए ।
प्रशासनले कोभिड १९ संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालनमा ल्याइएका क्वारेन्टाइन, आइसोलेसन केन्द्रलाई पुनः तयारी अवस्था राख्न सम्बन्धित कार्यालयलाई निर्देशन दिएको छ । उसले स्वास्थ्य युनिटहरुलाई समेत आवश्यकताअनुसार तत्काल परिचालन गर्ने गरी तयारी अवस्थामा राख्न जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ ।
प्रशासनले कोभिड १९ को जोखिमबाट बच्न सरकारबाट जारी भएका स्वास्थ्य सुरक्षालगायतका मापदण्ड पालना गर्नसमेत जिल्लावासीलाई आग्रह गरेको छ । उक्त मापदण्ड उल्लंघन गर्नेहरुलाई संक्रामक रोग २०२० बमोजिम कारबाही गर्ने बताएको छ ।
प्रशासनले नजिकिँदै गरेको होली पर्वसमेत भिडभाड नहुने गरी मनाउन भनेको छ ।
सरकारी तथा अन्य सेवाप्रदायकहरुबाट सेवा प्रवाह गर्दा कोभिड १९ को मापदण्ड पालना गरेरमात्र सेवा प्रदान गर्न उसले जोड दिएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!