Connect with us

POLITICS

सर्वोच्चको आदेशमा पनि महन्तले पाएनन् मठमा ठाउँ !

Avatar

Published

on

भक्तपुर नपा ९ दत्तात्रयस्थित चिकंफले मठ । तस्बिर : इन डेप्थ

भक्तपुर । भक्तपुर नगरपालिका ९ दत्तात्रयस्थित चिकंफले मठका महन्त रामप्रसाद वनले सर्वोच्च अदालतको आदेशसमेत नटेरी राष्ट्रिय कला संग्रहालयले मठ कब्जा गरिबसेको आरोप लगाएका छन् ।
उनले सर्वोच्चले संग्रहालयलाई मठ खाली गरेर मठमा हुने पूजापरम्परा तथा धर्म लोप हुने काम नगर्न आदेश दिएको बताए ।
तर सर्वोच्चले आदेश दिएको वर्षदिन हुन लाग्दा संग्रहालयले मठ खाली नगरेको महन्त वनले गुनासो गरे ।
उक्त मठ भक्तपुर दरबार क्षेत्रस्थित राष्ट्रिय कला संग्रहालयले धातुकला प्रदर्शनी गर्न प्रयोग गर्दै आएको छ । गुठी संस्थानको सम्पत्तिको रुपमा रहेको उक्त मठमा महन्त वनका पुस्ताहरुले पूजाआजा गर्दै आएका थिए । मठभित्र महादेवको शिवलिंगसहितको मन्दिर रहेको छ । जहाँ महन्तको रुपमा वनहरुले पूजाआजा गर्दै आएको बन बताउँछन् । विगतमा उक्त मठमा दैनिक पूजाआजा, वडादसैंमा जमरा राख्नेलगायतका परम्परा गर्न महन्तको परिवार मठमै बस्ने परम्परा थियो ।
तर उक्त मठमा महन्त हुने विषयमा विवाद हुन पुग्यो । जुन विवाद अदालतसम्म पुगेको थियो । अदालतले उक्त विवाद छिन्दै हालका महन्त वनलाई मठमा पूजापरम्परा चलाउने जिम्मा दिएको थियो । सोहीअनुसार अहिले मठको पूजापरम्परा नियमित गर्न ठाउँ अभाव भएको भन्दै महन्त वनले विगत २÷३ वर्षदेखि गुनासो गर्दै आएका छन् ।
आफ्नो गुनासोको सुनुवाइ नभएपछि उनी गत वर्ष सर्वोच्च अदालतसम्म पुगेका थिए ।
सर्वोच्चले दिएको आदेश कार्यान्वयन नभएको भन्दै महन्त वनले पुरातत्व विभागमा निवेदनसमेत दिएका थिए । लगत्तै विभागले गएको पुसमा भक्तपुरस्थित कला संग्रहालयलाई पत्र लेखेर सर्वोच्चको आदेश कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।
‘भक्तपुरस्थित राष्ट्रिय कला संग्रहालयले सर्वोच्च अदालतले दिएको आदेश पनि टेरेन’, महन्त वनले भने, ‘उसले पुरातत्व विभागले दिएको निर्देशन पनि मानेन ।’
अदालत र विभागको आदेश तथा निर्देशन कार्यान्वयन नभएपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिँदा पनि आफूले न्याय नपाएको महन्त वनले गुनासो गरे ।
‘न्याय पाउन सर्वोच्च अदालत गएँ, विभाग गएँ र प्रमुख जिल्ला अधिकारीकहाँ पनि पुगेँ । तैपनि न्याय पाइनँ’, उनले थपे, ‘अब न्याय पाउन म कहाँ जाउँ ।’
यता भक्तपुरस्थित राष्ट्रिय कला संग्रहालयकी प्रमुख अरुणा नकर्मीले भने सर्वोच्चको आदेश र विभागको निर्देशनअनुसार महन्त वनलाई पूजा परम्परा नियमित गर्न आवश्यक ठाउँ उपलब्ध गराइसकेको दावी गरिन् ।
सर्वोच्चले पूरै मठ खाली गर नभनेको र महन्त वनले पनि त्यो माग नगरेको उनको भनाइ थियो ।
‘सर्वोच्चले संग्रहालयलाई पूरै मठ खाली गर भनेर आदेश दिएको छैन’, प्रमुख नकर्मीले भनिन्, ‘महन्त वनले पनि धार्मिक कार्यमा प्रयोग हुने कोठाहरु खाली गर्न माग गर्नु भएको र उनको मागअनुसार ती कोठाहरु खाली गरिदिइसकेका छौं ।’
उनले महन्त वनले अनधिकृत रुपमा पूरै मठ खाली गराउन खोजेको जिकिर गरिन् ।
महन्त वनले अरु निजी मठजस्तै गुठीको स्वामित्व भएको चिकंफले मठ आफ्नो व्यक्तिगत रुपमा एकलौटी ढंगले चलाउन खोजेको प्रमुख नकर्मीको आरोप छ ।

चिकंफले मठको इतिहास

वि.सं. १८०२ मा कमल गोसाईं वनले भक्तपुरका तात्कालिन मल्लराजा रणजीतको पालामा ताम्रपत्रबाट उक्त मठ स्थापना गरेका थिए । मठमा दसैंको जमरा राख्न छुट्टै जमरा कोठाको व्यवस्था छ । महन्तका नातागोतालाई दसैंको टीकाजमरासँगै प्रसाद ग्रहण गराउन गद्दी बैठक कोठाको समेत व्यवस्था गरिएको छ ।
ती दुवै कोठा संग्रहालयले प्रयोग गर्दै आएको महन्त वन बताउँछन् ।
जर्मन सरकारकोे सहयोग नियोग जीआईजेडअन्तर्गत भक्तपुर विकास परियोजनाअन्तर्गत २०३९÷४० मा उक्त मठ जीर्णोद्धार गरिएको थियो । गुठी संस्थानअन्तर्गत रहेको उक्त मठ जीर्णोद्धारपछि २०४१ सालमा राष्ट्रिय कला संग्रहालय सञ्चालनमा ल्याइएको थियो ।
मठमा संग्रहालय सञ्चालनमा आए पनि महन्थलाई दसैंको लागि जमरा कोठा र गद्दी बैठक कोठा प्रयोग गर्न कुनै बाधा व्यवधान खडा नगरिएको संग्रहालयले जनाएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!