भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिर परिसरमा भएको विरोधसभा सहभागी नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता । तस्बिर : इन डेप्थ
भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन सदर गरे कांग्रेस चुनावमा जान तयार भएको स्पष्ट पारेका छन् । नेपाली कांग्रेसको घोषित कार्यक्रमअनुसार सोमबार भक्तपुरको टौमढीमा भएको विरोधसभामा उनले सर्वोच्चले मुद्दा किनारा लगाएसम्म कांग्रेस प्रतिनिधिसभा पुनःस्थापनाकै पक्षमा रहेको स्पष्ट पारेका हुन् । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम भएको भन्दै देशव्यापी आन्दोलन गर्दै आएको छ । सोमबार घोषित कार्यक्रमअनुसार कांग्रेसले देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन तथा सभा आयोजना गरेको थियो । सोही कार्यक्रमअनुसार भक्तपुरमा भएको विरोधसभालाई सम्बोधन गर्दै नेता जोशीले प्रतिनिधिसभा विघटन सदर भई निर्वाचन नभए प्रधानमन्त्री ओली र उनका नेता तथा कार्यकर्ताहरुलाई जनताले बाँकी नराख्ने चेतावनी दिए । ‘प्रतिनिधिसभा विघटन सदर हुने तर घोषित निर्वाचन नहुने भए प्रधानमन्त्री ओली र उहाँका नेता तथा कार्यकर्ताहरुलाई जनताले बाँकी राख्नेछैनन्’, उनले भने, ‘प्रधानमन्त्री ओली पक्षका नेता तथा कार्यकर्ताहरु गाउँगाउँ र सहरसहरबाट लखेटिनेछन् । ओलीका साइबर सेना लुक्नुपर्नेछ ।’
विरोधसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशी ।
ओलीको साइबर सेनालाई स्यालको संज्ञा दिँदै नेता जोशीले जताततै स्याल हुइयाँमात्रै सुनिएको टिप्पणी गरे । ‘ओलीले तयार गरेको साइबर सेना होइन स्याल सेना हो । देशभर स्याल हुइयाँमात्रै सुनिन्छ’, उनले थपे, ‘नेपाली कांग्र्रेस स्याल र अरिङ्गालबाट तर्सँदैन ।’ कांग्रेस चुनावमा जान नडराउने उनको स्पष्टोक्ति थियो । उनले कांग्रेसका नेता तथा कार्यकर्ताले जनताबीच जान कुनै अप्ठ्यारो मान्नुपर्ने अवस्था नभएको बताए । ‘जनताका घरघरमा जाऔं । कान समातेर हिजो गल्ती भए, अब दोहोराउने छैन भन्ने बाचा गरौं’, पूर्वसांसदसमेत रहेका जोशीले भने, ‘जनताले पक्कै माफी दिनेछन्, कांग्रेसलाई विश्वास गर्नेछन् तर कांग्रेस नभई फेरि गुटका नेता र कार्यकर्ता गयौं भने फेरि पनि जनताले सजाय दिनेछन् ।’ हिजो कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरु सत्तामा आएपछि रुन पनि पाइँदैन भनी टिप्पणी गर्दा आफूलाई पनि यस्तो त नहोला भन्ने लागेको सुनाउँदै उनले अहिले स्थिति त्यहीं आएको चर्चा गरे । उनले ओली सरकार निरंकुुशतातर्फ अघि बढेर जनतामा तानाशाही शासन थोपर्न उद्यत रहेको स्पष्ट पारे । ओलीले सत्ता कब्जा गरेर आफ्नै गुटको मान्छेको मात्रै स्वार्थ पूरा गरेको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा, नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईं, कांग्रेस भक्तपुर नगरका पूर्वसभापति रवीन्द्र प्रधानले मुलुकलाई संवैधानिक बाटोमा हिँडाउन प्रतिनिधिसभा पुनःस्थापना हुनैपर्नेमा जोड दिए । नेकपाको ओली सरकारले दुईतिहाइ सरकारकै धज्जी उडाएको भन्दै उनीहरुले केपी ओलीले जस्तोसुकै कदम चाले पनि त्यसविरुद्ध लड्न कांग्रेस तयार रहेको बताए । ओली सरकारलाई भ्रष्टाचारी, स्वेच्छाचारी, अलोकतान्त्रिक र बलात्कारीको संज्ञा दिँदै उनीहरुले संविधानको चीरहरण गर्ने ओली तानाशाही बन्न खोजेको आरोप लगाए । विरोधसभाअघि भक्तपुर नपा १ दूधपाटीबाट विरोध जुलुस प्रदर्शन गरिएको थियो । जुलुस दूधपाटीबाट वंशगोपाल, नासमना, गःहिटी हुँदै सभास्थल टौमढीस्थित पाँचतले मन्दिर परिसरमा समापन भएको थियो ।