Connect with us

POLITICS

देको–मिबा–इतापाके जग्गा एकीकरण आयोजना पीडितको आन्दोलन जारी

Published

on

भक्तपुर नगरपालिका कार्यालय घेराउ गर्दै देको–मिबा–इतापाके जग्गा एकीकरण आयोजनाका पीडितहरु । तस्बिर इन डेप्थ

भक्तपुर । देको–मिबा–इतापाके जग्गा एकीकरण आयोजनाका पीडितहरुले आइतबार भक्तपुर नगरपालिका कार्यालय घेराउ गरेका छन् ।
भक्तपुर नगरपालिकाले सञ्चालन गरेको उक्त आयोजनाले मनोमानीपूर्ण ढंगले जग्गा बाँडफाँट गरेको भन्दै पीडित जग्गाधनी तथा किसानहरुले नगरपालिका कार्यालय घेराउ गरेका हुन् ।
घेराउसँगै उनीहरुले भक्तपुर नपाका मेयर सुनिल प्रजापतिलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै मेयर प्रजापतिले पीडितका माग सम्बोधन हुने गरी आयोजनाले काम गर्ने वचन दिएको संघर्ष समितिका अध्यक्ष सञ्चज्ञान याकामीले जानकारी दिए ।
भक्तपुर नगरपालिकाको साविक वडा नं. ५, १० र १५ तथा हाल वडा नं. २ र ६ स्थित देकोचा, कासन, व्यासी, मिबाछें, इतापाके क्षेत्रको एकहजार ६ सय ५४.६ रोपनी जग्गामा उक्त आयोजना सञ्चालन गरिएको छ । उत्तरमा खासाङखुसङ खोला, दक्षिणमा भक्तपुर नगरकोट सडक, पूर्वमा देकोचा चोकदेखि बन्को जाने पुल र पश्चिममा सल्लाघारी–ठिमी पुरानो बाटोको चौघेरा क्षेत्रमा आयोजनाले काम गरिरहेको छ ।
वि.सं. २०७२ माघ २५ गते स्वीकृत गरिएको उक्त आयोजना अहिले ६ वर्षमा पनि चालू रहेको छ । २ वर्षभित्र सम्पन्न गर्ने भनी सुरु गरिएको आयोजना ६ वर्ष पूरा हुँदा पनि नसकिएको भन्दै पीडितहरुले गुनासो गरेका छन् ।
आयोजनाले अबको ३ वर्षपछि मात्रै आयोजना पूरा हुने बताएपछि पीडितहरु झन् आक्रोशित देखिएका छन् । पीडितहरुले कसको स्वीकृतिमा आयोजना लम्ब्याउँदै गएको भन्दै प्रश्नसमेत गरेका छन् ।
‘आयोजनाका मुख्य अधिकार प्राप्त व्यक्ति हामी जग्गावालाहरु हौं । आयोजना त एउटा व्यवस्थापन समितिमात्रै हो’, पीडित गोपालकृष्ण याकामीले नपा घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘हामी अधिकारवालाहरुलाई जानकारी नै नदिई अझै कति वर्षसम्म आयोजना लम्ब्याउने हो ? आयोजनाले अपारदर्शी ढंगले कहिलेसम्म काम गर्ने हो ?’
उनले आयोजना ढिलो हुँदा लागतसमेत बढिरहेको भन्दै बढेको लागत कसले व्यहोर्ने भनी प्रश्नसमेत गरे ।
‘आयोजना सुरु गरिँदा एक अर्ब १७ करोड लागत भनियो अहिले त्यो बढेर एक अर्ब ७० करोड लाग्छ भनिएको छ’, याकामीले थपे, ‘आयोजनाको अवधि लम्बिँदै जाँदा लागत पनि बढ्दै आएको छ । बढेको लागत कसले व्यहोर्ने ? के बढेको लागत पूर्ति गर्न अझै हामी जग्गावालाहरुले थप जग्गा काटेर तिर्ने हो ?’
पीडितहरु रामभक्त सुवाल, सत्य त्वायनालगायतले आयोजनाले आफ्नो मनोमानीपूर्ण ढंगले गरिएको जग्गा बाँडफाँट सच्याउनुपर्ने माग गरे ।

पीडित जग्गाधनी तथा किसानहरुले भक्तपुर नपा र नपामा निर्वाचित जनप्रतिनिधिहरुको पार्टी नेपाल मजदुर किसान पार्टीले आयोजनामा चलखेल गरेको आरोप लगाउँदै आएका छन् । नपा र नेमकिपाले आफ्नो आसेपासेलाई राम्रो एवं आकर्षक ठाउँमा जग्गा दिएर फरक मत राख्ने र पहुँच नभएकाहरुलाई खोला किनार र अनाकर्षक क्षेत्रमा जग्गा दिनेगरी बाँडफाँट गरिएको भन्दै उनीहरुले आक्रोश पोख्दै आएका छन् ।
पीडितहरुले जग्गा बाँडफाँट गर्दा अन्यायमा पारेको भन्दै आयोजनामा सयौं उजुरीसमेत दिइसकेका छन् । पीडितहरुले आफूहरुको गुनासो सम्बोधन गराउन संघर्ष समितिसमेत गठन गरेका छन् । त्यहीं संघर्ष समितिले आइतबार भक्तपुर नपाको कार्यालय र आयोजनाको कार्यालय घेराउ गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
संघर्ष समितिले आयोजनामा सुधार गर्नुपर्ने १६ बुँदे मागसमेत पेस गरिसकेको छ । संघर्ष समितिले चरणवद्ध संघर्षका कार्यक्रमअन्तर्गत नेमकिपाका केन्द्रीय सचिव एवं विघटित प्रतिनिधिसभाका सदस्य प्रेम सुवालको घर समेत घेरिसकेका छन् ।
नेता सुवाल भक्तपुर नपामा जननिर्वाचित प्रमुखको हैसियतले काम गर्दैगर्दा उक्त आयोजना अघि बढेको थियो । उनले अहिले पनि आयोजनामा हस्तक्षेप गरेको भन्दै पीडितहरुले भक्तपुर नपा २ औद्योगिक क्षेत्रस्थित नेता सुवालको निवास घेरेका थिए ।
आयोजना उपभोक्ता समितिका अध्यक्ष तुलसीराम धुख्वा तथा पदाधिकारीहरुले आयोजनामा चलखेल गरेको भन्दै उनीहरुको घरसमेत घेरिएको थियो । त्यस्तै भक्तपुर नपाका १० वटै वडा अध्यक्षलाई ज्ञापनपत्र बुझाउँदै आयोजना सञ्चालन भएको वडा नं. २ र ६ वडा कार्यालयमा घेराउ गरिसकेको संघर्ष समितिका अध्यक्ष सञ्चज्ञान याकामीले जानकारी दिए ।
उनले आफूहरुको माग सम्बोधन नभएसम्म चरणवद्ध आन्दोलन जारी रहने बताए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!