Connect with us

POLITICS

व्यक्ति होइन, व्यवस्था नै फेर्नुपर्छ : गजुरेल

Avatar

Published

on

नेकपा क्रान्तिकारी माओवादी र देशभक्त जनगणतान्त्रिक मोर्चाले भक्तपुरको पाँचतले मन्दिर परिसरमा गरेको कार्टुन प्रदर्शनी नियाल्दै एक स्थानीय । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले नेपालमा व्यक्तिभन्दा व्यवस्था नै फेर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले सोमबार भक्तपुरको टौमढीमा आयोजना गरेको कार्टुन प्रदर्शनीलाई सम्बोधन गर्दै उनले संसदीय व्यवस्थाकै असफलताले गर्दा नेपालमा पटकपटक जनआन्दोलन गर्नुपर्ने अवस्था आएको स्पष्ट पारे ।
केपी ओलीले संसदीय व्यवस्थाको कमजोरीको फाइदा उठाएको भन्दै उनले भोलि केपी ओलीको ठाउँमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आए पनि यो व्यवस्था रहिरहेसम्म नेपाली जनताको जनजीविकामा कुनै तात्विक परिवर्तन नहुने बताए ।
‘नेपालको अहिलेको राजनीतिक अस्थिरताको दोषी केपी ओलीको असफलतामात्रै होइन, सिंगो संसदीय व्यवस्थाकै असफलता हो’, क्रान्तिकारी माओवादीका नेतासमेत रहेका गजुरेलले थपे, ‘त्यसैले नेपालमा अहिले व्यवस्था नै फेर्नुपर्छ । अहिले असफल संघीय लोकतान्त्रिक गणतन्त्रको ठाउँमा संघीय जनगणतन्त्र ल्याउनुपर्छ ।’
उनले वर्तमान व्यवस्थालाई राक्षस उत्पादन गर्ने मेसिनको संज्ञा दिए । उक्त मेसिनले जुन रंग प्रयोग गरियो त्यहीं रंगको राक्षस उत्पादन गर्ने तर हामीले भगवान उत्पादन हुने आशा पालिरहेको उनको भनाइ थियो ।
‘राक्षस उत्पादन गर्ने मेसिनले राक्षसमात्रै उत्पादन गर्छ, देउता त निस्किँदैन’, नेता गजुरेलले थपे, ‘देउता निकाल्न त मेसिन नै अर्को चाहिन्छ । हाम्रा नेताहरुले पनि यहीं व्यवस्थाबाट परिवर्तन आउँछ भनिरहेका छन् ।’
उनले मूल त्रुटि व्यवस्थामै रहेकाले व्यवस्था नै बदल्नुपर्ने जिकिर गरे ।
‘व्यवस्थाको एउटा पात्रलाई हटाएर अर्को पात्र ल्याएर समस्या हट्नेवाला छैन’, उनले थपे, ‘हामी भन्छौं यो व्यवस्थामै त्रुटि छ । त्यसैले यो व्यवस्था नै हटाउनुको विकल्प छैन । यो हटाएर संघीय जनगणतन्त्रतर्फ अघि बढ्नुपर्छ ।’
एकपक्षले गणतन्त्र नै काम नलाग्ने भइसकेकाले राजतन्त्र फर्काउनुपर्ने आवाज उठाइरहेको भन्दै उनले गणतन्त्रको विकल्प राजतन्त्र कदापि नहुने र राजतन्त्रको उल्टो दिशामा मुलुक अघि बढ्न नसक्ने स्पष्ट पारे ।
नेता गजुरेलले लोकतान्त्रिक गणतन्त्र असफल भइसकेकाले पार्टी र मोर्चाले जनतामा संघीय जनगणतन्त्रबारे सचेत गर्न देशभर विभिन्न गतिविधि अघि बढाइरहेको सुनाए ।
‘ठूला दलहरु शक्ति प्रदर्शन गरिरहेका छन्’, उनले थपे, ‘तर हामी लोकतान्त्रिक गणतन्त्र असफल भइसक्यो भनी जनतालाई बुझाइरहेका छौं किनभने जनताले नबुझेसम्म नेपालमा जनगणतन्त्र आउँदैन । जनता निर्णायक शक्ति हो ।’
उनले आगामी दिन अझ चुनौतीपूर्ण हुने भन्दै नेपाली जनता जनगणतन्त्रको लागि अघि बढ्न तयार भएर बस्नुपर्ने बताए ।
कार्टुन प्रदर्शनीलाई पनि जनगणतन्त्रको प्रचारको माध्यमको रुपमा अघि बढाइएको उनको भनाइ थियो ।
पार्टीले भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिर परिसरमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित वर्तमान राजनीतिक अस्थिरता, नेताहरुको अवसरवादी चरित्र, सत्तालोलुपता झल्काउने सयौं कार्टुन प्रदर्शनी गरेको थियो ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!