Connect with us

POLITICS

हनुमन्ते कोरिडोर निर्माण र पुरानो बाटो विस्तार तत्काल रोक्न माग

Published

on

हनुमन्ते खोला फर्काएर बलजफ्ती कोरिडोर निर्माणविरुद्ध भक्तपुरका प्रमुख जिल्ला अधिकारीलाई दिइएको ज्ञापनपत्र पढेर सुनाउँदै कांग्रेसका मध्यपुर सभापति सुरेन्द्र श्रेष्ठ । तस्बिरहरु : ईश्वरकाजी खाइजू

नरोकिए नेपाली कांग्रेस मध्यपुर थिमि नगर समितिले चरणबद्ध आन्दोलन गर्ने

भक्तपुर । गैरन्यायिक ढंगले हनुमन्ते खोला फर्काएर निर्माण गरिएको कोरिडोर र भक्तपुरबाट पुरानो ठिमी भएर काठमाडौंको पेप्सीकोला जोड्ने पुरानो सडक विस्तार कार्य तत्काल रोक्न माग गर्दै ज्ञापनपत्र बुझाइएको छ ।
दुई क्षेत्रको विकास योजनाबाट पीडित स्थानीयको नेतृत्व गर्दै नेपाली कांग्रेस मध्यपुर थिमि नगर समितिले बुधबार प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई उक्त ज्ञापनपत्र बुझाइएको हो ।
कांग्रेस मध्यपुर थिमि नगर सभापति सुरेन्द्र श्रेष्ठले प्रजिअ भट्टराईलाई ज्ञापनपत्र दिँदै दुवै योजनाको काम तुरुन्त रोक्न माग गरे ।
उनले हनुमन्ते खोला फर्काउने कार्यमा प्रमुख जिल्ला अधिकारी भट्टराईको प्रत्यक्ष संलग्नता रहेको भन्दै तत्काल उक्त कार्य नरोकिए कांग्रेसले चरणबद्ध संघर्ष गर्ने चेतावनीसमेत दिए ।
‘विरोधका बीच उक्त कार्य जारी रहे कांग्रेसले गर्ने संघर्षबाट आउने सम्पूर्ण परिणामको जिम्मेवारी सरकारले नै लिनुपर्छ’, सभापति श्रेष्ठले भने, ‘गैरन्यायिक ढंगले विकासको नाउँमा स्थानीय बासिन्दाको उठिबास गर्न पाइँदैन ।’
सर्वोच्च अदालतले उचित क्षतिपूर्ति दिएरमात्रै सडक विस्तार गर्न सरकारको नाउँमा आदेश दिँदा पनि सरकारले बलजफ्ती सरेर सर्वसाधारणको घरमा डोजर चलाउनु अन्याय भएको पीडितहरुले बताएका छन् । उनीहरुले सडक विस्तारको नाउँमा सयौं सर्वसाधारणको उठिबास हुने अवस्था आएको सुनाए ।
उनले हनुमन्ते कोरिडोर निर्माण र पुरानो सडक विस्तारभित्र परेका घर तथा जग्गाको उचित क्षतिपूर्ति र मुआब्जा दिनसमेत माग गरेका छन् ।

अहिले भक्तपुरबाट निकोसेरा–बहाखाबजार–सानो ठिमी हुँदै काठमाडौंको पेप्सीकोला सडक विस्तारको कार्य धमाधम अगाडि बढाइएको छ । बाटोको मापदण्डभित्र सर्वसाधारणको घर तथा भौतिक संरचना नभएको क्षेत्रमा सडक फराकिलो बनाइसकेको छ । अहिले मध्यपुर थिमिको कोर एरिया बहाखाबजार क्षेत्रमा सडक विस्तार गर्न सर्वसाधारणको घरमा डोजर चलाउन थालेपछि स्थानीय उक्त सडक विस्तारविरुद्ध आन्दोलित भएका हुन् ।
‘हाम्रो निरन्तरको विरोधपछि नगरपालिकाले बहाखाबजार क्षेत्रका स्थानीयको घर नभत्काउने सहमति गरेको थियो’, पीडित रामकृष्ण शंखदेवले भने, ‘तर अहिले आएर उक्त सहमतिविपरीत सर्वसाधारणको घरमाथि डोजर चलाउन थालेको छ ।’
उक्त क्षेत्रमा जबरजस्ती सडक विस्तार गरिए सयौं घरपरिवार विस्थापित हुनुपर्ने उनको भनाइ थियो ।
‘जबरजस्ती सडक विस्तार गरिए मेरो परिवारको नै सडकबास हुन्छ’, उनले थपे, ‘विकास र सडक विस्तारको नाउँमा पुस्तौंपुस्तादेखि बस्दै आएको घरबाट सर्वसाधारणलाई विस्थापित गर्न पाइँदैन ।’
सयौं नगरवासीको घर भत्किने भएपछि मध्यपुर थिमि नपाले उक्त सडकको विकल्प दिने बताएको थियो तर मध्यपुर थिमि नपाका प्रमुख मदनसुन्दर श्रेष्ठले उक्त विकल्प दिन आनाकानी गर्दा ठेकेदारले साविककै बाटो विस्तारमा जोड गरेको पीडितहरु बताउँछन् ।

त्यस्तै हनुमन्ते खोला फर्काउँदा आफ्नो जग्गामा खोला पर्न आएको भन्दै पीडितहरुले भूमाफियाको पक्षमा लागेर प्रहरी प्रशासनले हनुमन्ते खोलाको प्राकृतिक बहाव नै फेरेको बताए ।
उनीहरुले हनुमन्ते खोला फर्काउन नै वर्तमान प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई भक्तपुर ल्याइएको बताए ।
‘नियमसंगत र न्यायसंगत भएको भए यसअघिकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले किन हनुमन्ते खोला फर्काउनु भएन’, पीडित राजु प्रजापतिले भने, ‘तर प्रेमप्रसाद भट्टराई प्रमुख जिल्ला अधिकारी भएर आएको सातादिनमै हनुमन्ते खोला फर्काइयो । स्थानीयले विरोध गर्ने देखेर ट्रकका ट्रक जनपद र सशस्त्र प्रहरी परिचालन गरेर रातारात हनुमन्ते खोला फर्काइयो ।’
उनले भूमाफियाको पक्षमा लागेर सर्वसाधारणको जग्गामा खोला र कोरिडोर निर्माण गर्न नदिइने बताए ।
मध्यपुर थिमि नपा र सूर्यविनायक नपाले हनुमन्ते खोलाको विवादित क्षेत्रमा जग्गा एकीकरण आयोजना सञ्चालन गर्ने भन्दाभन्दै त्यसलाई उपेक्षा गरी रातारात खोला फर्काइएको थियो । दुई नपाले जग्गा एकीकरण आयोजना सञ्चालन गर्न तीन क्षेत्रमा उपभोक्ता समितिसमेत गठन गरिसकेको थियो ।
भक्तपुरमा प्रेमप्रसाद भट्टराई प्रमुख जिल्ला अधिकारी भएर आएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको अनौपचारिक बैठकले हनुमन्ते कोरिडोर निर्माणमा बाधा पुगेको भन्दै बल प्रयोग गरेर हनुमन्ते फर्काउने सहमति गरिएको थियो । प्रमुख जिल्ला अधिकारी भट्टराई, जिल्लाका सुरक्षा निकायका प्रमुख, भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा निर्वाचित विघटित प्रतिनिधिसभाका सदस्य महेश बस्नेत, मध्यपुर थिमि नपाका प्रमुख मदनसुन्दर श्रेष्ठ र सूर्यविनायक नपाका प्रतिनिधिको उपस्थितिमा भएको बैठकमै खोला फर्काउँदा कसैले विरोध गरे तत्काल पक्राउ गर्ने सहमति गरिएको स्रोत बताउँछ ।
उक्त बैठकको निर्णय कार्यान्वयन गर्ने दिन स्थानीय बासिन्दाको विरोध हुने र आफूहरुलाई गुहार्ने निश्चित भएकाले पूर्वसांसद बस्नेत र मध्यपुर थिमि नपाका मेयर श्रेष्ठले भक्तपुर छाडेका थिए । अनौपचारिक बैठककै सहमतिअनुसार हनुमन्ते खोला फर्काउने अघिल्लो दिन नै पूर्वसांसद बस्नेत बुटवलस्थित एक कार्यक्रममा सहभागी हुन र मेयर श्रेष्ठ लुबिम्नी दर्शन गर्न भनी रुपन्देही पुगेका थिए ।
सूर्यविनायक नपाका मेयर वासुदेव थापा भने कोरोना भाइरस संक्रमण भएर उपचार गरिरहेका थिए ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले हनुमन्ते कोरिडोर निर्माण र पुरानो सडक विस्तारमा स्थानीयको विरोध भएकोबारे आफूलाई जानकारी नभएको बताउँदै अब ती कार्य रोक्ने आश्वासन दिएको कांग्रेस भक्तपुरका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
पीडितहरु मध्यपुर थिमिको बहाखाबजारदेखि विरोध प्रदर्शन गर्दै भक्तपुर दरबार क्षेत्रस्थित जिल्ला प्रशासन कार्यालयसम्म पुगेका थिए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!