Connect with us

POLITICS

भक्तपुरका प्रजिअ भट्टराई भन्छन्, सरकारले हाई अलर्टमा बस्न भनेको छ

Avatar

Published

on

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई दहीको सगुन लगाइदिँदै । तस्बिर : इन डेथ

भक्तपुर । प्रतिनिधिसभा विघटनसँगै मुलुक राजनीतिक अस्थिरतातर्फ उन्मुख छ । सरकार काम चलाउको अवस्थामा छ । प्रतनिधिसभा विघटन गरिएसँगै सत्तासीन नेकपा (नेकपा) फुटको संघारमा छ । देशभर नेकपा (नेकपा) का नेता तथा कार्यकर्ताहरु दुई समूहमा विभाजित छन् । जसअनुसार प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको पक्ष र विपक्षमा विभिन्न राजनीतिक गतिविधि बढ्न थालेको छ ।
सत्तासीन नेकपा (नेकपा) कै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहसँगै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी प्रतिनिधिसभा विघटनको विरुद्ध सडक आन्दोलनमा उत्रिएने भएका छन् । जसले गर्दा जिल्लाको शान्ति सुरक्षा खलबलिने र विध्वंशात्मक घटना हुने आशंकामा सरकारले प्रमुख जिल्ला अधिकारीहरुलाई आआफ्नो जिल्ला नछाड्न निर्देशन दिएको छ ।
सोहीअनुसार भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले आफूलाई पनि जिल्ला नछाड्न सरकारले निर्देशन दिएको जानकारी दिए ।
हालै भक्तपुर सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी भट्टराईले ‘हाई अलर्ट’ भएर बस्न सरकारले निर्देशनसमेत दिएको बताए ।
प्रजिअ भट्टराईको स्वागतार्थ भक्तपुर घरेलु तथा साना उद्योग संघले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘सरकारले हामीलाई जिल्ला नछोड्न भनेको छ । ‘हाई अलर्ट’ भएर बस्न भनेको छ ।’
उनले स्थिरतातर्फ अघि बढिरहेको मुलुकमा एक्कासी राजनीतिक अस्थिरता उत्पन्न हुनु दुर्भाग्य भएको औंल्याए ।
‘तत्काल कुनै अप्रिय घटना नहोला’, प्रजिअ भट्टराईले भने, ‘तर जनताको अपेक्षाभन्दा फरक राजनीतिक घटनाक्रम विकास भएको छ ।’
स्थानीय उत्पादन दहीको सगुनस्वरुप टीका र कालो भादगाउँले कालो टोपी, नेवारी गाचा (सानो खास्टो) ले स्वागत गरिएका उनले घरेलु तथा साना उद्योग सरकारको प्राथमिकतामा नपरेको बताए ।
प्रजिअ भट्टराईले कोरोना भाइरस संक्रमणको महामारीबाट प्रभावित घरेलु तथा साना उद्योगहरुलाई पुँजी तथा प्रविधिमा राहत उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरमा सरुवा भई आएका अधिकृत पोष्टराज पोखरेललाई पनि भक्तपुरमा स्वागत गरिएको थियो ।
कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष वीरेन्द्र जती, पूर्वअध्यक्षहरु चन्दनकृष्ण श्रेष्ठ, सत्यनारायण प्रजापति, राजु श्रेष्ठ, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप श्रेष्ठलगायतले नेपालको कूल गार्हस्थ उत्पादनमा योगदान गरेको आधारमा घरेलु तथा साना उद्योगहरुलाई सरकारले प्राथमिकता नदिएको गुनासो गरे ।
नेपालको कूल गार्हस्थ उत्पादनमा घरेलु तथा साना उद्योगहरुले ७ प्रतिशतको योगदान दिँदै आएको छ । त्यस्तै रोजगारीको क्षेत्रमा पनि उल्लेख्य योगदान रहेको घरेलु तथा साना उद्योगी व्यवसायीहरु बताउँछन् ।
नेपालमा करिब ५ लाखको हाराहारीमा घरेलु तथा साना उद्योगहरु रहेको अनुमान गरिएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!