Connect with us

POLITICS

कहिले अन्त्य हुन्छ मध्यपुर थिमि नपाको गतिरोध ?

Published

on

मध्यपुर थिमि नपाकी उपप्रमुख अञ्जनादेवी मधिकर्मीले बोलाएको कार्यपालिका बैठकका सहभागी । तस्बिर : इन डेप्थ

भक्तपुर । मेयर मदनसुन्दर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालबीचको विवाद नटुगिँदा भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको गतिरोध हट्न सकेको छैन ।
प्रमुख प्रशासकीय अधिकृत रिजाल मेयर श्रेष्ठको मनोमानीविरुद्ध उभिएपछि नपामा गतिरोध उत्पन्न भएको हो ।
नपाको गतिरोध नटुगिँदा नगरका ज्येष्ठ नागरिक, अपांगता भएकालगायतले अहिलेसम्म सामाजिक सुरक्षाभत्ता पाउन सकेका छैनन् । अन्य नपामा दसैंअघि नै सामाजिक सुरक्षाभत्ता वितरण गरिएको थियो तर मध्यपुर थिमि नपामा गतिरोध कायमै भए नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा पनि यहाँका ज्येष्ठ नागरिक, अपांगता भएकालगायतले सामाजिक सुरक्षाभत्ता पाउनेछैनन् ।
मेयर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृतको आपसी विवादले नगरका अन्य प्रशासनिक कार्यसमेत प्रभावित भएका छन् । नगरवासीले घर निर्माण गर्न पाएका छैनन् ।
मेयर श्रेष्ठले अनलाइन नक्सापास प्रणालीबाट प्रमुख प्रशासकीय अधिकृतको युजर नेम र पासवर्ड हटाउन लगाएका कारण नगरवासीको नक्सापास हुने अवस्था छैन ।
मेयर श्रेष्ठ आफैले नगरवासीको नक्सापासमा हस्ताक्षर गर्न नखोजेको होइन । तर स्थानीय तह सञ्चालन ऐन २०७४ ले उक्त अधिकार नपाका प्रमुख प्रशासकीय अधिकृतलाई मात्रै दिएको छ ।
त्यसैले नगर प्रमुखले नगरवासीको नक्सापासमा हस्ताक्षर गर्न कानुनी व्यवस्थाको बर्खिलाप हुने भनी कानुनी सल्लाहकारहरुले सुझाव दिएपछि प्रमुख श्रेष्ठ पछाडि हटे ।
प्रमुख श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत रिजाललाई व्यक्तिगत रुपमा कारबाही गरेको भन्दै मन्त्रालयमा फिर्ता गरेको घोषणा गरिसकेका छन् । तर प्रमुख प्रशासकीय अधिकृत रिजाल फिर्ता भएका छैनन् । मन्त्रालयले उनलाई सरुवा गरेर नयाँ प्रमुख प्रशासकीय अधिकृत पनि पठाएको छैन ।
फिर्ता नभएको प्रमुख प्रशासकीय अधिकृत रिजाललाई प्रमुख श्रेष्ठले काम गर्ने वातावरण पनि बनाइदिएका छैनन् ।
यसरी मेयर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत रिजालबीचको विवादले डेडलकको अवस्थाको नपालाई निकास दिन बिहीबार उपप्रमुख अञ्जनादेवी मधिकर्मीले आफ्नो दल नेपाली कांग्रेसको तर्फबाट निर्वाचित कार्यपालिका सदस्यहरुको बैठक बोलाएकी छन् ।
बैठकमा नपाको गतिरोध के कसरी फुकाउने भन्नेबारे घनीभूत रूपमा छलफल भएको उपप्रमुख मधिकर्मीले बताइन् ।
‘तिहार अगाडि जसरी भए पनि सामाजिक सुरक्षाभत्ता वितरण गर्न विशेष पहलगर्ने निर्णय गरेका छौं’, उनले भनिन्, ‘यसको लागि मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई सहमितमा ल्याउन लागिपर्ने छौं ।’
बैठकले मेयर श्रेष्ठलाई भेटेर पहिले गर्दै आएको मनोमानीबाट पछाडि हटी कार्यपालिका बैठकबाट निर्णय गराएर अघि बढ्न आग्रह गर्ने निर्णयसमेत भएको बैठकका सहभागी एवं नपाका प्रवक्ता राम थापामगरले जानकारी दिए ।
वडा नं. २ का अध्यक्षसमेत रहेका उनले मेयर श्रेष्ठले गतिरोध अन्त्य गर्न पहल नगर्ने भए प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्ने वातावरण भए पनि बनाइनुपर्ने बताए ।
‘मेयरज्यूले गतिरोध अन्त्य गर्न पहल गर्नुपर्छ’, प्रवक्ता थापामगरले भने, ‘नभए प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्ने वातावरण बनाइ दिनुपर्छ ।’
मध्यपुर थिमि नपाको नगर कार्यपालिकामा कांग्रेसको दुईतिहाइभन्दा बढी मत छ । १९ सदस्यीय नगर कार्यपालिकामा कांग्रेसका १५ जना जनप्रतिनिधि छन् । तर कांग्रेसका जनप्रतिनिधि दुई गुटमा विभाजित छन् ।
सोही गुटअनुसार उपमेयर मधिकर्मीले बिहीबार बोलाएको बैठकमा अर्को गुटका ७ जना कार्यपालिका सदस्य उपस्थित भएनन् । बैठकमा वडा नं १, ४, ६ र ९ का अध्यक्षसहित सातजना कार्यपालिका सदस्य उपस्थित भएनन् ।
उनीहरुले पार्टीसँग सल्लाह नगरी उपमेयरले बैठक डाकेकाले अनुपस्थित भएको बताएका छन् ।
मध्यपुर थिमि नपा १ का वडा अध्यक्ष सुरज खड्काले पार्टीसँग सल्लाह र समन्वय नगरी कार्यपालिकाको बैठक बोलाइएकाले सहभागी नभएको जानकारी दिए ।
उनले नपाभित्रको गतिरोध छिटोभन्दा छिटो अन्त्य गर्नुपर्नेमा भने जोड दिए ।
‘मध्यपुर थिमि नपा गतिरोधको अवस्थामा छ । त्यसलाई छिटोभन्दा छिटो अन्त्य गर्नु आवश्यक छ’, वडा अध्यक्ष खड्काले भने ।
कांग्रेसका कार्यपालिका सदस्य दुई गुटमा विभाजित भएकाले नेपाल मजदुर किसान पार्टीको सहयोगमा नेकपा (नेकपा) निर्वाचित मेयर श्रेष्ठले कहिले एकगुट तथा कहिले अर्को गुटको साथमा आफ्नो मनोमानी गर्दै आएका छन् ।
मेयर श्रेष्ठले कांग्रेसका दुवै गुटलाई विकास निर्माणका योजना तथा नपामा हुने विभिन्न नियुक्तिमा भागबन्डा गर्दै नपा आफूखुसी चलाउँदै आएका थिए । तर पछिल्लो समय प्रमुख श्रेष्ठले नगर कार्यपालिकाबाट स्वीकृत नभएका योजनाका उपभोक्ता समितिहरुलाई दसैंको मुखमा पेश्की तथा रकम भुक्तानी दिन खोजेपछि कांग्रेसका दुइटै गुट र प्रमुख प्रशासकीय अधिकृत रिजालले साथ दिएनन् ।
त्यसबाट तिलमिलाएका मेयर श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत रिजाललाई एकतर्फी कारबाही गर्दै मन्त्रालयमा फिर्ता पठाएको पत्रकार सम्मेलन गरी घोषणा गरेका थिए ।

‘दलको हस्तक्षेपकै कारण गतिरोध’

नपाको कार्यपालिका सदस्यहरु नपाको कामकारबाहीमा दलहरुको हस्तक्षेप नै गतिरोधको मूल कारण भएको बताउँछन् ।
नगर कार्यपालिकालाई निष्पक्ष र स्वतन्त्रतापूर्वक काम गर्न दिनुपर्नेमा दलका नेताहरुले आआफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न हस्तक्षेप गर्ने गरेको उनीहरुको भनाइ थियो ।
कार्यपालिकाको नगरसभासँगै विकास निर्माणका योजना तथा नपामार्फत हुने नियुक्तिमा सहमति र समन्वय गर्न भन्दै नेकपा (नेकपा) र नेपाली कांग्रेसका नगर नेतृत्वहरुको एक कार्यदल गठन गरिएको छ । उक्त कार्यदलको निर्णय नै नगरसभा तथा कार्यपालिकाको बैठकको निर्णय हुन थालेपछि नपामा गतिरोध सुरु भएको वडा नं. ३ का अध्यक्ष प्रेमबहादुर कुटु बताउँछन् ।
त्यहीं सयन्त्रको बलमा नपामा मेयर श्रेष्ठको मनोमानी मौलाएको उनको विश्लेषण थियो ।
‘दुई पार्टीको निर्णय नै नपाको सम्पूर्ण निर्णय हुने भए हामी जनताबाट निर्वाचित भएर आउनुको के अर्थ ?’, उनी प्रश्न गर्छन्, ‘दलहरुले नै सबै निर्णय गर्ने भए हिजोको दलहरुको सर्वदलीय संयन्त्रबाटै काम चलाएको भए हुन्थ्यो किन स्थानीय तहको निर्वाचन गर्नुपरेको थियो ?’
उनले दलहरुकै निर्णय संस्थागत गर्न खोजेपछि विधिविधान र ऐनकानुन बाधक देखिएपछि सरकारका प्रतिनिधि प्रमुख प्रशासकीय अधिकृतसँग सधैं लफडा भइरहने अवस्था आएको स्पष्ट पारे ।
‘हामी निर्वाचित भएर आएको ३ वर्ष हुँदा ४ जना प्रमुख प्रशासकीय अधिकृत फेरियो’, वडा अध्यक्ष कुटुले थपे, ‘मेयरज्यू आफैले रोजेर ल्याएका प्रमुख प्रशासकीय अधिकृतसँगै ऐननियमविपरीत हुँदा विवाद हुनु भनेको व्यक्तिगत जुँगा लडाइँबाहेक केही पनि होइन ।’
मेयर श्रेष्ठले आफूलाई नै नगरपालिका ठान्ने दम्भले समेत मध्यपुर थिमि नपामा गतिरोध आइरहेको उनको भनाइ थियो ।
‘मेयरज्यू आफै सिंगो नगरपालिका ठान्नुहुन्छ तर मेयर त कार्यपालिकाको प्रतिनिधिमात्रै हो’, उनले भने, ‘मेयरले गर्ने कार्य कार्यपालिकाले निर्णय गर्ने होइन, कार्यपालिकाको निर्णय मेयरले कार्यान्वयन गर्ने हो ।’
वडा अध्यक्ष कुटूले आफ्नो दम्भ र मनोमानीबाट मेयर श्रेष्ठ पछि हटेर कार्यपालिकाबाट निर्णय गरेर अघि बढ्नु नै अहिलेको गतिरोधको निकास भएको स्पष्ट पारे ।

मेयर श्रेष्ठ खराब, कांग्रेस महाखराब : श्रेष्ठ

यता मध्यपुर थिमि नपाका नगरसभा सदस्य एवं नेमकिपा भक्तपुरका पूर्वअध्यक्ष रमेश थापा श्रेष्ठ मेयर श्रेष्ठ र कांग्रेसकै कारण नपामा गतिरोध दोहोरीतेहेरिरहेको बताउँछन् ।
मध्यपुर थिमि नपा वडा नं. ८ बाट सदस्यमा निर्वाचित उनले मेयर श्रेष्ठ खराब र दुईतिहाइभन्दा बढी कार्यपालिका सदस्य रहेको कांग्रेस महाखराब रहेको टिप्पणी गरे ।
‘नगरपालिकालाई विधिसम्मत सञ्चालन गरौं र संस्थागत विकास गरौं भन्दा मेयर श्रेष्ठ र कांग्रेसले कहिल्यै सुनेनन्’, श्रेष्ठले भने, ‘दुवै विकास निर्माणको योजना र नियुक्तिको भागबन्डामा मात्रै व्यस्त भए ।’
अहिलेको गतिरोध पनि कसले बढी योजना र नियुक्ति हात पार्ने भन्ने झगडाको कारण भएको उनको भनाइ थियो ।
उनले यस्तै मनोमानी चल्दै जाने भए नपामा कुनै पनि सरकारी कर्मचारी टिक्न नसक्ने र पछि कोही पनि आउन तयार नहुने अवस्था आउने स्पष्ट पारे ।
निर्वाचन परिणाम आएलगत्तै नेमकिपा र नेकपा (नेकपा) को चुनावी गठबन्धन टुटेको बताउँदै गठबन्धनबाट निर्वाचित भए पनि मेयर श्रेष्ठले कहिल्यै नेमकिपाको सुझाव नमाने उनको जिकिर थियो ।
‘मेयर श्रेष्ठले नेकपा (नेकपा) कै नेताहरुको कुरा सुन्दैनन् हाम्रो कुरा कहाँबाट सुन्छन्’, श्रेष्ठले भने ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!