Connect with us

POLITICS

भक्तपुर नपामा निर्वाचित नेमकिपाका वडा सदस्य नै नेकपा प्रवेश

Avatar

Published

on

नेकपाका नेताहरुका साथमा नेमकिपा परित्याग गरी नेकपा (नेकपा) प्रवेश गरेका नेता तथा कार्यकर्ता । तस्बिर : इन डेप्थ

भक्तपुर । भक्तपुर । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीको तर्फबाट निर्वाचित वडा सदस्यसहित एकसयभन्दा बढी नेता कार्यकर्ता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।
भक्तपुर नपा १ वडामा निर्वाचित वडा सदस्य विश्वराज शिल्पकार, नेमकिपाका पूर्वजिल्ला सदस्य रामेश्वर बोहरा, नेमकिपा भक्तपुर नपा १ वडा समितिका सचिव रमेश न्याइच्याई र कार्यकर्ता सुनिल ग्वाछाको नेतृत्वमा बुधबार ती नेता तथा कार्यकर्ताहरु सत्तारुढ नेकपा प्रवेश गरेका हुन् ।
वडा सदस्य शिल्पकार २०५३ सालको स्थानीय निर्वाचनमा पनि नेमकिपाको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए । वडा सदस्य शिल्पकारले नेकपा प्रवेश गर्नुअघि असोज १५ गते भक्तपुर नपा प्रमुख सुनिल प्रजापतिलाई आफ्नो पदको राजीनामा बुझाएको जानकारी दिए ।
१० वटा वडा रहेको भक्तपुर नगरपालिकामा गएको स्थानीय तहको निर्वाचनमा नेमकिपाले प्रमुख, उपप्रमुखसहित सत प्रतिशत नतिजा निकालेको थियो ।
पूर्वजिल्ला सदस्य बोहरा नेमकिपाको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी सांस्कृतिक संघका पूर्वअध्यक्षसमेत हुन् । उनलाई गएको स्थानीय तहको निर्वाचनमा सूर्यविनायक नपा ८ सिपाडोलमा नेमकिपाले वडा अध्यक्ष पदमा उम्मेदवार बनाएको थियो ।
त्यस्तै नेकपा (नेकपा) प्रवेश गर्ने रमेश न्याइच्याई नेमकिपाको किसान आन्दोलनका अग्रणी नेता स्व. ज्ञानबहादुर न्याइच्याईका छोरा हुन् । स्वर्गीय नेता न्याइच्याई भक्तपुर नगरपालिकाको प्रधानपञ्च, प्रमुख हुँदै पुनः वडा अध्यक्ष बनेका थिए । नेमकिपाको इतिहास बोकेका नेता न्याइच्याईकै छोराले नेमकिपा परित्याग गर्नुलाई भक्तपुरको राजनीतिमा अर्थपूर्ण रुपमा लिइएको छ ।
नेमकिपा परित्याग गरेकाहरुलाई नेकपा (नेकपा) का केन्द्रीय सदस्य एवं बागमती प्रदेशका सचिव आनन्दप्रसाद पोखरेलले पार्टी प्रवेश गराएका थिए ।


यसरी पार्टी प्रवेश गर्नेहरुमा कान्छाकाजी खत्री, विष्णुप्रसाद शिल्पकार, आशाराम गोथे, गणेशकुमार मचामसी, रमिला कार्कीलगायत रहेका छन् । त्यस्तै जनता समाजवादी पार्टीको भक्तपुर नगर समितिका अध्यक्ष रमेश बल्लसमेत बुधबार नै नेकपा (नेकपा) प्रवेश गरेका छन् ।
उक्त अवसरमा नेकपा (नेकपा) का केन्द्रीय सदस्य पोखरेलले नवप्रवेशीहरुलाई नवप्रवेशीको रुपमा व्यवहार नगरी पार्टीको नीतिअनुसार पहिलेदेखि काम गरेको आधारमै मूल्यांकन र जिम्मेवारी दिइने आश्वासन दिए ।
उनले नेमकिपाको संकीर्णतावाद, व्यक्तिवाद, क्षेत्रीयतावादबाट माथि उठेर नेकपा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुको साहस र हिम्मतलाई सलाम गर्दै स्वागत गरे ।
नेकपा (नेकपा) का अर्का केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलीप प्रजापतिले नेमकिपाको नेतृत्व र विचार सही नीतिले अघि नबढ्दा निरन्तर खुम्चिँदै आएको जिकिर गरे ।
उनले पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुको मूल्यांकन गरी सही ढंगले जिम्मेवारी दिने बताए ।


कार्यक्रममा नेकपा (नेकपा) का अर्का केन्द्रीय सदस्य एवं भक्तपुर सहइन्चार्ज सोमप्रसाद मिश्र, भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले नवप्रवेशीहरुको क्षमताको कदर गरेर उचित जिम्मेवारी दिइने स्पष्ट पारे ।
उनीहरुले हिजो पार्टी फरक फरक भए पनि झण्डा कम्युनिष्ट नै भएकाले नेकपाभित्र कुनै भेदभाव नहुने जिकिर गरे ।
त्यस्तै नेमकिपा परित्याग गरी नेकपा (नेकपा) प्रवेश गर्नेमध्ये रामेश्वर बोहरा, रमेश न्याइच्याई, विश्वराज शिल्पकार र सुनिल ग्वाछाले पार्टीको सिद्धान्त र विचारसँग बेमेल नभई पार्टीको गलत कार्यनीतिको कारण नेमकिपा परित्याग गरेको बताए ।
उनीहरुले पार्टीको विकृतिविसंगति सच्याउन माग गर्दै फरक मत राख्दासमेत उल्टै आफूहरुलाई नै कारबाहीको कोर्रा लगाउने कार्य भएको सुनाए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM