Connect with us

POLITICS

उपचारमा इवामुरा अस्पतालको चरम लापरबाही !

Published

on

उपचारमा लापरबाही गरिएको भन्दै भक्तपुरको सल्लाघारीस्थित इवामुरा अस्पतालमा गरिएको विरोध प्रदर्शनका सहभागी । तस्बिर : इन डेप्थ

बिरामीको उपचार खर्च अस्पतालले व्यहोर्ने

भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालले उपचारमा लापरवाही गर्दा एक पुरुषको ज्यान जोखिममा परेको छ ।
इवामुराले मृत घोषणा गरेका बिरामीको उपचार नर्भिक अस्पतालको भेन्टिलेटरमा भइरहेको छ । रगतको प्रवाह रोकिएका कारण मस्तिष्कमा क्षति पुगेकाले बिरामी कोमाको अवस्थामा पुगेको बताइएको छ ।
भक्तपुर नगरपालिका ७ चोर्चा निवासी ४७ वर्षीय लक्ष्मीकुमार लाखाजूको ज्यान जोखिममा परेको हो । उनी गत शुक्रबार घरैबाट हिंडेर इन्डोस्कोपी गर्न अस्पताल पुगेका थिए । घाँटी दुःखेर इन्डोस्कोपी गर्न गएका उनको मृत्यु भएको भन्दै इवामुरा अस्पतालले घोषणा गरेको उनको परिवारले जनाएको छ ।
बिरामी लक्ष्मीकुमारका भाइ बिजेशले इवामुरा अस्पतालको मृत्यु घोषणा गरेपछि विश्वास नलागेर पुनः काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल लगिएको जानकारी दिए ।
नर्भिक अस्पतालका चिकित्सकहरुले दाजुको मृत्यु भइनसकेको बताएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको बिजेशले सुनाए ।
उनका अनुसार इवामुराले बुधबार दाजुको मृत्यु भएको घोषणा गरेको थियो । लगत्तै बुधबार नै नर्भिक लगिएको थियो ।
‘नर्भिक अस्पतालले रगतको प्रवाह रोकिएका कारण मस्तिष्कमा क्षति पुगेकाले बिरामी बाँच्ने नबाँच्ने अहिल्यै भन्न नसकिने जनाएको छ’, भाइ बिजेशले भने ।
यसैबीच अस्पतालमा गएका व्यक्तिको उपचारमा लापरबाही गरिएको भन्दै बिहीबार इवामुरा अस्पतालमा पीडित बिरामीका आफन्तले घेराउ गरेका छन् । पीडित बिरामीको उपचारको सम्पूर्ण खर्च व्यहोर्न र क्षतिपूर्ति दिन माग गर्दै विरोध प्रदर्शन गरिएको थियो ।
इवामुरा अस्पतालले भने घटनाबारे कुनै जानकारी दिएको छैन । उपचारमा लापरबाही भएको हो होइन वा अरु के भएको भन्नेबारे जानकारी लिन अस्पतालका प्रवन्धक रञ्जित मारिखूसँग पटकपटक सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आएनन् ।

बिरामीको उपचार खर्च अस्पतालले व्यहोर्ने

पीडित व्यक्तिका घरपरिवार, आफन्त र स्थानीयले अस्पताल घेराउ गर्दै विरोध प्रदर्शन गरेपछि बिहीबार नै दुईपक्षीय सहमति भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले पनि पीडित परिवार र अस्पतलाबीच सहमति भएको पुष्टि गरिन् ।
सहमतिअनुसार बिरामी लक्ष्मीकुमारको उपचारमा लाग्ने सम्पूर्ण खर्च इवामुरा अस्पतालले व्यहोर्ने भएको भाइ बिजेशले जानकारी दिए । उनका अनुसार दाजु लक्ष्मीकुमारको इवामुरा र नर्भिक अस्पतालमा उपचार गर्दा लाग्ने सम्पूर्ण खर्च इवामुरा अस्पतालले व्यहोर्ने सहमति भएको हो । सहमतिसँगै अस्पतालमा बिरामीका घरपरिवार, आफन्त तथा सर्वसाधारणले गरेको विरोध प्रदर्शन स्थगित भएको छ ।
लक्ष्मीकुमार पेसाले सिकर्मी हुन् । भक्तपुर नपा ९ च्याम्हासिंहमा उनले सञ्चालन गर्ने फर्निचरले उनको घरपरिवारको जिविका चल्दै आएको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!