Connect with us

POLITICS

डोलेश्वरमा राजस्थानी शैलीको प्रवेशद्वार : नेपाली मौलिक शैलीमा बनाउन माग

Published

on

राजस्थानीशैलीमा बन्न लागेको प्रवेशद्वारको अस्थिपञ्जर । तस्विर : ईश्वरकाजी खाइजू

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिर प्रवेश गर्ने गरी राजस्थानी द्वार बनाउन लागिएपछि स्थानीयले विरोध गरेका छन् ।
नेपालको मौलिक एवं परम्परागत शैलीमा निर्माण भइरहेको डोलेश्वर महादेव मन्दिर परिसरमा राजस्थानी शैलीको प्रवेशद्वार मेल नखाने भन्दै उनीहरुले विरोध गरेका हुन् ।
उनीहरुले डोलेश्वर महादेव मन्दिर र यहाँको मौलिक एवं परम्परागत शैलीसँग मेल खाने प्रवेशद्वार बनाउन माग गर्दै सूर्यविनायक नपा ८ वडामा निवेदनसमेत दिएका छन् ।
डोलेश्वर मन्दिरका मूल पुजारी बच्चुराम जंगमले डोलेश्वर महादेव संरक्षण तथा विकास समितिकै निर्णयमा डोलेश्वर मन्दिर प्रवेश गर्ने द्वार राजस्थानी शैलीमा बन्न लाग्नु दुर्भाग्य भएको बताए ।
मूल पुजारी जंगमले नै उक्त प्रवेशद्वार नेपाली मौलिक एवं परम्परागत शैलीमा निर्माण हुनुपर्ने माग गर्दै सोमबार वडा कार्यालयमा निवेदन दिएका छन् । उनले नेपाली मौलिक शैली नअपनाई भारतको राजस्थानी शैलीमा प्रवेशद्वार बनाउनु नेपाली कला र संस्कृतिको अवमूल्यन भएको जिकिर गरे ।
‘डोलेश्वर महादेवको मन्दिर, मन्दिर परिसरको चौबन्दी सत्तल, विभिन्न देवदेवीका मन्दिर सबै नेपाली मौलिक एवं परम्परागत शैलीका छन्’, मूल पुजारी जंगमले भने, ‘तर प्रवेशद्वार भने राजस्थानी शैलीमा बनाउनु नेपाली कला र संस्कृतिको अपमान हो, अवमूल्यन हो ।’
डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले आफ्नो घर आश्रम नेपाल, नेपाल मानव सेवा संघ, आदर्श निर्माण मन्दिर र पशुपति मारवाडी सेवा संघसँग मिलेर करिब १७ लाख रुपैयाँमा उक्त प्रवेशद्वार निर्माण अघि बढाइरहेको छ ।
डोलेश्वर महादेव मन्दिरको दक्षिणपूर्वी प्रवेश नाकामा बनाइएको उक्त प्रवेशद्वारको अहिले जमिन सतहसम्मको काम भइसकेको छ । दुईतिर खम्बाको लागि डण्डी बाँधिएर उठाइएको छ । १६ फिट उचाइ हुने उक्त प्रवेशद्वारको भित्री बाटोको चौडाइ १४ फिट हुनेछ । त्यस्तै प्रवेशद्वारका दुईतिरको खम्बा दुईदुई फिट चौडाइको हुने डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष बालहरि चालिसेले जानकारी दिए ।
उनले डोलेश्वर मन्दिर परिसर बाहिर रहेको आफ्नो घर आश्रम नेपालको निवेदनअनुसार समितिले राजस्थानी शैलीकै प्रवेशद्वार बनाउन दिइएको स्पष्ट गरे ।
‘आफ्नो घर आश्रम नेपालले गएको माघ २७ गते मन्दिर प्रवेश गर्ने दक्षिण पूर्वी नाकामा राजस्थानी शैलीको प्रवेशद्वार बनाउन पाऊँ भनी माग गरेको थियो’, अध्यक्ष चालिसेले भने, ‘उक्त मागबमोजिम समितिको फागुन ३ गते बसेको बैठकले राजस्थानी शैलीमै प्रवेशद्वार बनाउन दिने निर्णय गरिएको हो ।’
उनले उक्त प्रवेशद्वार निर्माणबारे कसैले विमति राख्न नपर्ने जिकिर गरे । उनका अनुसार उक्त प्रवेशद्वार निजी जमिनमा बन्न लागेको हो । उक्त जमिनका धनीले बाटोसहित प्रवेशद्वार बनाउन स्वीकृति दिएको र सहयोगीहरुले राजस्थानी शैलीमै बनाउने भनेकाले त्यसको विरोध गरिरहन नपर्ने अध्यक्ष चालिसेको जिकिर थियो ।

नक्सा पासविनै निर्माण : शिलान्यास गर्ने वडा अध्यक्ष

प्रवेशद्वार निजी जमिनमा बन्न लागे पनि त्यसको नक्सापास भने नगरिएको पाइएको छ । नक्सापासविनै निर्माण गरिएको प्रवेशद्वारको शिलान्यास भने सूर्यविनायक नपा ८ का वडा अध्यक्ष किरण थापा स्वयंले गरेका थिए ।
वडा अध्यक्ष थापाले गएको फागुन ९ गते महाशिवरात्रीको दिन भूमिपूजासहित उक्त प्रवेशद्वारको शिलान्यास गरेका थिए ।
‘प्रवेशद्वार बन्ने जमिन निजी हो । प्रवेशद्वारको नक्सा पास पनि भएको छैन’, वडा अध्यक्ष थापाले भने, ‘यस विषयमा मैले बुझिरहेको छु ।’
सोमबार उक्त प्रवेशद्वार नेपाली मौलिक शैलीमै बनाउनुपर्ने माग गरेर वडामा निवेदन परेपछि उनले यसबारे छलफल गरेर निष्कर्ष निकालिने जानकारी दिए ।

‘अध्यक्ष चालिसेले झुक्याए’

यता डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका पदाधिकारीहरुले भने उक्त प्रवेशद्वारका सम्बन्धमा समितिका अध्यक्ष चालिसेले झुक्याएको आरोप लगाएका छन् । उनीहरुले समितिको बैठकले दक्षिण पूर्वी नाकामा प्रवेशद्वारमात्रै बनाउन दिने निर्णय गरिएको तर पछि अध्यक्ष चालिसेले महासचिव धर्मराज बस्नेतसँग मिलेर राजस्थानी शैलीको भन्ने उल्लेख गरेको जिकिर गरे ।
समितिका वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर खाइतू र सचिव विश्वराम थापाले बैठकमा नेपाली शैलीमै प्रवेशद्वार बनाउन दिनुपर्ने छलफल भएको तर दाताहरुले राजस्थानी बनाउने भनेकाले समितिले कुनै पनि शैली उल्लेख नगरी प्रवेशद्वारमात्रै बनाउन दिने निर्णय गरिएको जानकारी दिए ।
उनीहरुले डोलेश्वर महादेव मन्दिर प्रवेश गर्ने मुख्य द्वार, चौबन्दी सत्तलसँगै बन्ने थप दुई द्वार मौलिक नेपाली शैलीमै बन्ने र अरनिको राजमार्गसँगै जगातीमा बनेको प्रवेशद्वार नेपाली मौलिक शैलीमै बनिसकेकाले मन्दिर प्रवेश गर्ने दक्षिण पूर्वी प्रवेशद्वार पनि नेपाली मौलिक शैलीमै बन्नुपर्ने माग बैठकमा उठेको बताए ।

‘राजस्थानबाट मार्बल र मिस्त्री आउनमात्रै बाँकी’

यता राजस्थानी प्रवेशद्वार निर्माणका मुख्य सहयोगी आफ्नो घर आश्रम नेपालका सञ्चालक अनिश गोयल प्रवेशद्वारमा प्रयोग हुने मार्बलका सम्पूर्ण सामान तयार भइसकेको बताउँछन् । उनका अनुसार नेपालसँगै भारतमा पनि कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न लकडाउन लगाइएकाले प्रवेशद्वारका सामान ल्याउन सकिएको छैन ।
‘प्रवेशद्वारको डिजाइनअनुसार आवश्यक पर्ने मार्बलको कलाकृतिलगायतका सामान भारतको राजस्थानमा तयार भइसकेको छ’, गोयलले भने, ‘लकडाउन भएकोले ल्याउन पाएको छैन ।’
उनले मार्वलको कलाकृतिसँगै त्यो जोडजाड गर्ने मिस्त्री तथा मजदुरसमेत राजस्थानबाट आउने तयारीमा रहेको जानकारी दिए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!