Connect with us

POLITICS

यस्तो छ कोभिड १९ विरुद्ध लड्ने भक्तपुरको तयारी

Avatar

Published

on

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आह्वान गरेको राजनीतिक दलहरुको सर्वदलीय बैठकका सहभागी । तस्बिर : इन डेप्थ

भक्तपुर । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणविरुद्ध लड्न भक्तपुरले तीनतहको योजनासहित तयारी अघि बढाएको छ ।
भक्तपुरस्थित संकट व्यवस्थापन समिति (सीएमसी) ले कोभिड १९ विरुद्ध लड्न गुणस्तरीय क्वारेन्टाइन, उपचार तथा आइसोलेसन र संक्रमितको ज्यान गए मृतकको शवको उचित व्यवस्थापनसम्मको गरी तीन तहको तयारी अगाडि बढाएको हो ।
उक्त योजनाबारे सीएमसीले जिल्लाका क्रियाशील राजनीतिक दलहरुलाई ब्रिफिङसमेत गरिसकेको छ । सीएमसीकी संयोजक एवं भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाएर उक्त योजनाबारे ब्रिफिङ गरेकी हुन् । उक्त ब्रिफिङपछि दलका जिल्ला नेतृत्वले समितिको योजना तथा तयारीलाई साथ र सहयोग गर्ने ऐक्यबद्धता जनाएका छन् । प्रजिअ पाण्डेले कोभिड १९ को संक्रमण नियन्त्रण तथा व्यवस्थापनलाई गम्भीरतापूर्वक लिनुपर्ने स्पष्ट पारेकी थिइन् ।
दलहरुले उक्त योजना र तयारीमा ऐक्यबद्धता जनाएलगत्तै समितिले मंगलबार साँझ जिल्लाका सञ्चारकर्मीहरुसँग बैठक गरी उक्त योजना र तयारीबारे जानकारी दिएको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी पाण्डेले समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिए तत्काल संक्रमितहरुलाई राख्न क्वारेन्टाइन तथा आइसोलेसन कक्ष बढाउने कार्य भइरहेको सुनाइन् । उनका अनुसार यसको लागि जिल्लास्थित खुला क्षेत्र, सरकारी एवं सामुदायिक भवन, विद्यालय तथा कलेज, प्यार्टी प्यालेस तथा होटलहरुको क्षमताबारे विवरण संकलन भइरहेको छ ।
त्यस्तै भक्तपुरमा रहेका सरकारी तथा निजी अस्पतालहरुमा कोभिड १९ को उपचार तथा आइसोलेसन कक्षको व्यवस्थापनबारे पहल भइरहेको प्रजिअ पाण्डेले सुनाइन् ।
‘सरकारले विदेशबाट चरणबद्ध रुपमा ल्याउने नेपालीहरुलाई होल्ड गर्नसमेत भक्तपुरले तयारी गरिरहेको छ’, उनले भनिन्, ‘उनीहरुलाई आआफ्नो घर पठाउनुअघि भक्तपुरका क्वारेन्टाइनमा राख्ने र क्रमैसँग सहजीकरण गरेर घर पठाइने तयारी भइरहेको छ ।’
दलहरुसँगको सर्वदलीय बैठकमा जानकारी दिइएअनुसार विदेशबाट सरकारले चरणबद्ध रुपमा ल्याइनेमध्ये प्रदेश १ र २ का नेपालीहरुलाई भक्तपुरमा होल्ड गरिनेछ ।
उनीहरुको कारण कोभिड १९ संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेरमा भक्तपुरमा विस्तृत तयारी थालिएको दलहरुको सर्वदलीय बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
उनका अनुसार कोभिड १९ संक्रमण नियन्त्रण र व्यवस्थापनको लागि यहाँका चारवटै नपालाई कम्तीमा एकएक वटा शव बाहनको व्यवस्थ ागर्न निर्देशन दिइसकिएको छ । त्यस्तै नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखालाई पनि थप शव बहानको व्यवस्था गर्न भनिएको छ । जिल्ला–जिल्लामा शव बाहनको व्यवस्थापन नहुँदा काभ्रेको धुलिखेल अस्पतालमा कोरोना भाइरस संक्रमणको कारण ज्यान गुमाएकी सिन्धुपाल्चोककी सुत्केरी महिलालाई भक्तपुरको मोडिफाइड गाडीले पशुपतिको विद्युतीय शवदाह गृहसम्म ल्याउनुपरेको थियो ।
उक्त घटनाबाट पाठ सिकेर भोलि भक्तपुरमा पनि कोभिड १९ को कारण मृत्युको घटना भए ती व्यक्तिको शवको व्यवस्थापन गर्न यहाँका चार नपा र रेडक्रसलाई एकएकवटा शव बाहनको व्यवस्था गर्न निर्देशन दिइएको हो ।
सर्वदलीय बैठकले लकडाउन र जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाकाहरुमा थप कडाइ गर्ने निर्णयसमेत गरेको छ । अत्यावश्यक एवं गृह मन्त्रालयको पासबाहेकका व्यक्तिलाई भक्तपुर प्रवेश नदिने निर्णयमा उल्लेख गरिएको छ ।

हामीलाई साक्षीमात्रै बनाइयो : राजनीतिक दल


सीएमसीले तयार गरेको कोभिड १९ विरुद्धको योजना तथा तयारीमा दलहरुले ऐक्यबद्धता जनाए पनि सर्वदलीय बैठकमा दलहरुका नेताहरुले आफूहरुलाई साक्षीमात्रै बनाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
सीएमसीले सबै निर्णय गरेपछि मात्रै दलहरुको ऐक्यबद्धता खोजिएको भन्दै उनीहरुले असन्तुष्टि पोखेका हुन् ।
चीनको वुहानबाट नेपाली विद्यार्थी ल्याउने बेला दलहरुसँग सल्लाह र समन्वय नै नगरी भक्तपुरको खरिपाटीमा क्वारेन्टाइन बनाउने बेला पनि दलहरुले असन्तुष्टि पोख्दै सरकारी निर्णयको विरोध नै गरेका थिए । अहिले पनि त्यहीं घटना दोहोरिएको नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले बताए ।
‘कोभिड १९ को संक्रमण नियन्त्रण र व्यवस्थापनमा सरकार तथा प्रशासनको योजना र तयारीमा हाम्रो ऐक्यबद्धता छ’, उनले भने, ‘उहाँहरु (सीएमसी) ले पहिल्यै सबै निर्णय गर्ने अनि हामीलाई साक्षीमात्रै राख्ने काम हुँदै आएको छ ।’
उनले स्थानीय प्रशासन तथा नगरपालिकाहरुको कार्यशैली ठीक नभएकोसमेत बताए ।
विश्व कोभिड १९ को महामारीविरुद्ध जुझिरहेको बेला सरकार र सत्तासीन दलले नेतृत्वको गरेका नगरपालिकाले विकास निर्माणको राजनीति गरिरहेको उनले बैठकमा राखेको जानकारी दिए ।
त्यस्तै बैठकमा सहभागी राप्रपा भक्तपुरका अध्यक्ष माधव खत्रीले बैठकमा भक्तपुरमै कोरोना भाइरस परीक्षण गर्ने पीसीआर मेसिन तथा ल्याबको व्यवस्थापन गर्नेबारे कुरा उठाएको जानकारी दिए ।
‘भक्तपुरमै पीसीआर प्रविधिबाट कोरोना भाइरस परीक्षण गर्ने व्यवस्था गर्ने विषय पनि उठेको छ’, उनले भने, ‘त्यस्तै भक्तपुर अस्पताल सँगसँगै चाँगुनारायण नपा २ स्थित केएमसी अस्पताललाई पनि कोभिड १९ उपचारको हब बनाउनेबारे पनि कुरा भएको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी पाण्डे तथा सुरक्षा निकायका प्रमुखसँगै नेपाली कांग्रेसबाट जिल्ला सभापति थापासँगै निशान ढुंगेल, सत्तारुढ नेकपाबाट जिल्ला इन्चार्ज दिलीप प्रजापति, जिल्ला अध्यक्ष वचन देउजा र सेक्रेटरी डीपी ढकाल सहभागी थिए ।
त्यस्तै नेपाल मजदुर किसान पार्टीबाट जिल्ला अध्यक्ष न्हुछेभक्त फोजू र भक्तपुर नगर अध्यक्ष नारायणबहादुर दुवाल, राप्रपाबाट जिल्ला अध्यक्ष खत्री र राप्रपा संयुक्तबाट जिल्ला अध्यक्ष रामशरण लामिछाने सहभागी भएका थिए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!