Connect with us

POLITICS

कांग्रेसभित्र समस्या छन्, बहस चलाऔं : कोइराला

Published

on

गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजनामा भएको अन्तरक्रियालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले कांग्रेस हालकै अवस्थामा चल्न नसक्ने बताएकी छन् । उनले कांग्रेसभित्र समस्या भए त्यसबारे बहस र छलफल हुनुपर्नेमा जोड दिइन् ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसन भक्तपुरले शनिबार यहाँ आयोजना गरेको जीपी कोइरालाको जीवन वृत्त एवं परिचर्चा विषयक अन्तरक्रियामा संघीय सांसदसमेत रहेकी नेतृ कोइरालाले भनिन्, ‘पार्टीभित्र समस्या छ । सिंगो देशमै समस्यै समस्या छ तर पार्टी नेतृत्वले यसबारे बोल्दैन, बहस नै चलाउँदैन । यसरी कांग्रेस पार्टी चल्न सक्दैन ।’
उनले बहस र छलफलको माध्यमबाटै पार्टीभित्रको समस्या समाधान गरी अघि बढ्नुपर्ने धारणा राखिन् ।
देशको सीमा मिचिँदा सरकारसँगै कांग्रेस नेतृत्व पनि आवाज उठाउन चुकेको उनको भनाइ थियो ।
नेतृ कोइरालाले सीमा मिचिँदा पनि केपी ओली सरकार भने राष्ट्रवादीको स्वाङ गरिरहेको आरोप लगाइन् ।
‘देशको भूमि छिमेकीले हड्पिसक्यो तर सरकार एक इन्च पनि छोडिँदैन भनेर राष्ट्रवादको मुख मिठ्याइरहेको छ’, उनले भनिन् ।
उनले सानो देशमा निजगढको सयौं हेक्टर जंगल फडानी गरेर विमानस्थल बनाउन आवश्यक नभएको सुनाइन् । उनले विरोध हुँदाहुँदै निजगढमै विमानस्थल बनाउन तम्सिनुको पछाडि सत्तासीनहरुको स्वार्थ र भ्रष्टाचार हुने दावी गरिन् ।
फाउन्डेसनकी केन्द्रीय अध्यक्षसमेत रहेकी नेतृ कोइरालाले फाउन्डेसनले युवा लक्षित कार्यक्रम ल्याउने जानकारी दिइन् ।
कार्यक्रममा अर्थशास्त्री डा. विश्व पौडेलले नेपालको आर्थिक विकासको इतिहाससँगै हाल चर्चामा रहेको अमेरिकी सहयोग कार्यक्रम एमसीसीबारे विस्तृत जानकारी दिएका थिए ।
उनले पाँच वर्षमा ५५ अर्ब सहयोग आउने र २७८ किलोमिटर विद्युतीय प्रशारण लाइन विस्तार हुने एमसीसीप्रति शंका गर्ने भए अन्य दातृ मुलुक एवं निकायका सहयोगमाथि पनि आशंका गर्नुपर्ने बताए ।
‘विकासको लागि हामी धेरै परम्परावादी र संकुचित हुनुहुँदैन’, अर्थशास्त्री पौडेलले भने, ‘भाषण गरेर र गफ दिएर देश विकास हुँदैन । देश विकास गर्ने क्षमता पनि हुनुपर्छ ।’
उनले चालू दुई वर्षमा वैदेशिक ऋण ९८ अर्ब बढेर ५३८ अर्ब पुगेको बताउँदै जनतामाथि ऋण र करमात्रै थोपर्नुभन्दा पुँजीगत बजेट खर्च गर्ने सरकारको क्षमता बढाउनुपर्नेमा जोड दिए ।
‘हाम्रो सरकारले वैदेशिक ऋणको ३३ प्रतिशत र अनुदानको ६० प्रतिशतमात्रै सदुपयोग गर्न सकेको छ’, उनले भने, ‘यो स्थितिले अहिलेको संघीय गणतन्त्र र हिजोको राणा शासनबीच तात्विक फरक छैन । त्यसैले हामीले प्रविधिमा फड्को मार्नुपर्ने आवश्यकता छ तर हामी यसमा लुलो छौं ।’
मेगा प्रोजेक्ट समयमा पूरा गर्न हामी सक्षम छैनौं भन्ने कुरा मेलम्ची खानेपानी आयोजनाले पुष्टि गरिसकेको स्पष्ट पार्दै उनले भने, ‘त्यसैले अझै देशमा वैदेशिक ऋणमात्रै थोपरेर मुलुक अघि बढ्नसक्दैन ।’
यसैगरी पूर्वराजदूत जयराज आचार्यले संक्रमणकालीन अवस्थामा पनि प्रधानमन्त्री भएका बेला गिरिजाप्रसाद कोइरालाले देशको आर्थिक विकासमा जोड दिएको स्मरण गरे । कूटनीतिक माध्यमबाट पनि मुलुकको आर्थिक विकासमा के कसरी सघाउ पुग्छ भन्नेबारे स्व. कोइरालाले धेरै चिन्तन गर्ने गरेको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा, फाउन्डेसनका भक्तपुर अध्यक्ष विदुरमानसिंह बस्नेतले नेपाली राजनीतिमा स्व. गिरिजाप्रसाद कोइरालाको योगदानबारे चर्चा गरेका थिए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!