Connect with us

POLITICS

भक्तपुर–नगरकोट सडक : ठेकेदारद्वारा काम सुरु

Avatar

Published

on

सडक निर्माण पूरा नगरिएको भन्दै शैलुङका सञ्चालक शारदाप्रसाद अधिकारीको फोटो टाँसेर विरोध गरिँदै । तस्बिरहरु : इन डेप्थ

भक्तपुर । जनस्तरमै व्यापक विरोध भएपछि भक्तपुर–नगरकोट सडकको काम सुरू भएको छ । उक्त सडकको ठेक्का पाएको भारतीय कम्पनी र नेपाली शैलुङले बुधबारदेखि सडकको काम थालेका हुन् ।
चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले सडकको खरिपाटीदेखि काम सुरू गरिएको जानकारी दिए ।
तीन वर्षभित्र बन्नुपर्ने भक्तपुर–नगरकोट सडक पाँच वर्ष बित्दा पनि नबनेपछि नगरकोटवासीले नयाँ शैलीमा विरोध गरेका थिए ।
सडक बनाउन पटकपटक ध्यानाकर्षण गर्दा पनि र प्रधानमन्त्रीदेखि संसदसम्म गुहार्दा पनि सडक बनाउने ठेकेदारले नटेरेपछि उनीहरूले विरोधको नयाँ शैली अपनाएका हुन् । जुन शैलीले काम गरेपछि स्थानीयमा केही उत्साह थपेको छ ।
उनीहरूले भक्तपुर–नगरकोटको ठेक्का पार्ने शैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदाप्रसाद अधिकारीको फोटो नगरकोटका भित्ता, रूख तथा खम्बा र उक्त सडक भएर गुड्ने चार पांग्रे गाडीमा टाँस्दै विरोध गरेका थिए ।
उक्त फोटोमा अधिकारीको फोटोसँगै कुकुर तथा बाँदरको फोटो राखेर ‘कमलविनायक नगरकोट सडकको ठेकेदार ः कालोपत्रे छिटो गर’ लेखेका थिए ।


अधिकारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरपति हुन् । प्रचण्डकै आडमा अधिकारीले काम गर्न आलटाल गर्दै आएको स्थानीयको बुझाइ छ । त्यसैले स्थानीय जनताले प्रचण्डलाई समेत उक्त सडक बनाउन लगाउन ज्ञापनपत्र दिएका थिए । प्रचण्ड स्वयम्ले ठेकेदार अधिकारीलाई छिटो काम सक्न भन्दा पनि उनले नटेरेको स्थानीय बासिन्दा बताउँछन् ।
प्रचण्डले केही समस्या भए आफूलाई भन्न र समस्या नभए छिटो सडक बनाउन भनेका थिए ।
सबै उपाय लगाउँदा पनि केही सीप नलागेपछि नगरकोटबासीले मंगलबार नयाँ शैलीको विरोध प्रदर्शन गरेका थिए । उक्त नयाँ शैलीको विरोधका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरलसमेत भए ।
‘ठेकेदारलाई काम गराउन सक्ने नेता, मन्त्री, प्रधानमन्त्रीदेखि संसदसम्म पुग्दा पनि सडक बनेन’, नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरूङले भने, ‘जति विरोध गर्दा पनि केही सीप नलागेपछि मंगलबार नयाँ शैलीले विरोध गरेका हौं ।’
चाँगुनारायण नपाका प्रमुख मिश्रले काम गर्दिनँ कहिल्यै नभन्ने र काम कहिल्यै फत्ते नगर्ने ठेकेदार अधिकारीले स्थानीय सरकार, संघीय सरकार, प्रधानमन्त्री र संसदलाई समेत नटेरेको बताए ।


‘प्रधानमन्त्री केपी शर्मा ओलीले मेरै अगाडि भन्दा पनि ठेकेदार शारदाप्रसाद अधिकारीले नगरकोट सडकको काम फत्ते गर्नुभएन’, उनले भने, ‘प्रधानमन्त्रीलाई समेत नटेरेका उनले संसदको विकास समितिलाई समेत ढाँट्नुभयो ।’
ठेकेदार अधिकारीले संसदको विकास समितिसमक्ष पाँच महिनाभित्र नगरकोट सडक निर्माण पूरा गर्ने लिखित प्रतिबद्धता गरेका थिए तर उक्त पाँच महिना बित्दा पनि सडकको ४० प्रतिशत काम बाँकी रहेको प्रमुख मिश्रले जानकारी दिए ।
भारतको एक्जिम बैंकको आर्थिक सहयोगमा भक्तपुर नपा १० भत्क्यापाटीदेखि नगरकोट बसपार्कसम्मको करिब १६ किलोमिटर सडकको स्तरोन्नति गर्ने ठेक्का भारतको आईपीएल र अधिकारीको शैलुङले पारेका थिए । २०७१ असार २ गते भएको सडक निर्माणसम्बन्धी सम्झौताअनुसार २०७३ साउन ३ गते निर्माण पूरा गर्नुपर्ने थियो । निर्माण कम्पनीले ३१ करोड ५२ लाख ९२ हजार दुईसय २० रूपैयाँमा ठेक्का हात पारेका थिए ।
तर विभिन्न कारण देखाउँदै उनीहरूले सडक निर्माणमा ढिलाइ गर्दै आएका छन् । सरकारले निर्माण कम्पनीको मागअनुसार २०७७ जेठभित्र सडक निर्माण सक्न अन्तिमपटकलाई म्याद थप गरेको छ । उक्त म्यादभित्र पनि सडक निर्माण पूरा नगरे निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने सरकारले निर्णय गरिसकेको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!