Connect with us

POLITICS

नेमकिपाको अध्यक्षमा पुनः बिजुक्छे

Published

on

पार्टीको सातौं महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष नारायणमान बिजुक्छे । फाइल फोटो

२५ केन्द्रीय नेतामा भक्तपुरका ११

भक्तपुर । नेपाल मजदुर किसान पार्टीको अध्यक्षमा पुनः नारायणमान बिजुक्छे निर्वाचित भएका छन् ।
पार्टीको सोमबार सकिएको सातौं महाधिवेशनले बिजुक्छेलाई फेरि अध्यक्षको जिम्मेवारी दिएको हो ।
महाधिवेशनले पार्टीको स्थापना कालदेखि अध्यक्ष रहँदै आएका बिजुक्छेको मात्रै पदीय जिम्मेवारी तोकेको छ ।
बाँकी २२ जना नेताहरुलाई महाधिवेशनले केन्द्रीय सदस्य चुनेको छ । त्यस्तै दुई जनालाई बैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ ।
केन्द्रीय सदस्यको जिम्मेवारी पाउनेहरुमा संघीय संसद प्रेम सुवाल, भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति, पूर्वसांसदहरु डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही र अनुराधा थापामगर रहेका छन् ।
त्यस्तै सनकमान महर्जन, बजिरसिंह बिक, नन्दबहादुर शाही, नर्मा गुरुङ, नारायण महर्जन, उकेश कवां, सरोजराज गोसाईं, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य, कमलमैंया सुवाल, राजवीर डंगोल, हरिसुन्दर बासी र सरोजकुमार साह रहेका छन् ।
प्रदेश नं. ३ का सांसदद्वय सुरेन्द्रराज गोसाईं र सृजना सैंजू पनि केन्दीय सदस्य बन्न सफल भएका छन् । प्रदेश सांसदमा चुनिएपछि उनीहरु दुवै जनालाई बैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो तर पार्टीको सातौं महाधिवेशनले केन्द्रीय सदस्यमा बढुवा गरेको हो ।
त्यस्तै कृष्णबहादुर तामाङ र मुक्तिप्रसाद यादव बैकल्पिक केन्द्रीय सदस्य चुनिएका छन् ।
महाधिवेशनले पार्टी अध्यक्ष बिजुक्छेले प्रस्तुत गरेको जनताको प्रजातन्त्रलाई तत्कालीन कार्यक्रमको रूपमा पारित गरेको छ ।
महाधिवेनशबाट निर्वाचित केन्द्रीय समितिले पार्टीका बाँकी पदाधिकारीहरु चुन्ने नेमकिपाले जनाएको छ ।

नेमकिपाको २५ सदस्यीय केन्द्रीय समितिमा भक्तपुरका सर्वाधिक ११ जना नेताहरु परेका छन् । भक्तपुरपछि काठमाडौं र दैलेकका तीनतीनजना, काभ्रे र कालीकोटका दुईदुई तथा जुम्ला, कैलाली, बारा र रौतहटका एकएकजना केन्द्रीय समितिमा परेका छन् ।
महाधिवेशनले विधान संशोधन गरी पार्टीलाई महासचिव प्रणालीमा लानसक्ने बहसलाई अस्वीकार गर्दै अध्यक्ष प्रणालीलाई नै जोड दिएको छ । पार्टी पंक्तिमा अध्यक्ष बिजुक्छेको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर महासचिव प्रणालीमा लानसक्ने बारेसमेत बहस चलाएको थियो । त्यस्तै पार्टीमा धेरै वर्षअधिदेखि रिक्त रहँदै आएको उपाध्यक्ष पदलाई ब्युँताएर अध्यक्षलाई काम गर्न सहज बनाउने गरी विधान आउनेसमेत बहस छेडिएको थियो ।
महाधिवेशनले अध्यक्षको मात्रै जिम्मेवारी तोकेकाले उपाध्यक्षलगायतका पदहरु सिर्जना गर्ने दिशामा पार्टी अघि बढ्ने बताइएको छ ।
असोज ३ गते सुरु भएको महाधिवेशन आइतबार नै सकिनुपर्ने थियो तर विधान संशोधन लम्बिएपछि महाधिवेशन पनि एकदिन लम्बिएको थियो ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!