Connect with us

POLITICS

भक्तपुरमा इन्द्रजात्रा : २४ मा १९ ठड्याइए ‘यमद्यःचा’

Published

on

भक्तपुर नपा ३ न्हेसःत्वामा ठड्याइएको 'यमद्यःचा' । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्राअन्तर्गत भक्तपुरमा १९ यमद्यःचा (इन्द्रका छोरा जयन्त) ठड्याइएको छ ।
इन्द्रजात्रामा काठमाडौंको हनुमानढोका दरबार परिसरमा एउटैमात्रै ठूलो यमद्यः ठड्याइन्छ । तर भक्तपुरमा भने मल्लकालीन २४ टोलमा यमद्यःचा ठड्याइने परम्परा रहेको छ । कुनै टोलमा दुइटासम्म यमद्यःचा ठड्याइन्छन् ।
यस वर्ष भक्तपुरका १८ टोलमा १९ वटामात्रै यमद्यःचा ठड्याइएको छ ।
भक्तपुर नगरको मुटुमा रहेको सुकुलढोकास्थित दहीविनायक परिसरमा भने दुइटा लिंगो ठड्याइएको छ । यस वर्ष भक्तपुरको सूर्यमढी, तौलाछें, जेंला, वाचुटोल, गोल्मढी, सुकुलढोका, गःहिटी, बुल्चा, तालाक्व, नासमना, न्हेसःत्वाः, तेखापुखु, इताछें, खौमा, तुछिमला, महालक्ष्मीस्थान र नागपोखरीमा यमद्यःचा ठड्याइएको छ ।
संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले इन्द्रजात्राअन्तर्गत भक्तपुरमा पहिले मल्लकालीन मुख्य २४ टोलमा यमद्यःचा ठड्याइने जानकारी दिए ।
उनका अनुसार इन्द्रजात्राको क्रममा उक्त यमद्यःचा ठड्याउन व्यवस्था गरिएको जग्गाजमिन रैतानीमा परिणत हुँदा केही टोलमा जात्रा रोकिन पुगेको छ ।
‘गुठी व्यवस्था गरिएका ठाउँमा अहिलेसम्म यमद्यःचा ठडिँदै आएका छन्’, उनी थप्छन्, ‘तर व्यक्तिगत रुपमा दत्त राखिएका जग्गाजमिन रैतानीमा परिणत हुँदा केही ठाउँमा यमद्यःचा ठडिन पाएको छैन ।’
स्थानीय बुढापाकाहरुका अनुसार इन्द्रजात्राको दिन ठड्याउने उक्त यमद्यःचालाई दैनिक रुपमा बिहान पूजासँगै बेलुका आरती गर्नुपर्छ । जसको लागि गुठी तथा जग्गाजमिनको व्यवस्था गरिएको थियो । कति टोलमा स्थानीय धनीमानी व्यक्तिहरुले उक्त यमद्यःचा ठड्याउने जिम्मा लिएर जग्गाको व्यवस्था गरिएको थियो तर त्यसका छोरानातिले उक्त जग्गा बेचेपछि पूजाआजा हुन नसक्ने भएपछि यमद्यःचा ठडिन रोकिएको उनीहरु बताउँछन् ।
संस्कृतिकर्मी धौभडेलका अनुसार काठमाडौंमा ठड्याइने बडेमानको यमद्यःलाई इन्द्र देवताको प्रतीक मानिन्छ तर भक्तपुरमा भने इन्द्रको छोरा जयन्तको प्रतीक मानिने भएकाले यसलाई यमद्यःचा भन्ने गरिन्छ ।
इन्द्रजात्रासम्बन्धी किम्बदन्तीअनुसार इन्द्रका आमा बसुन्धरालाई गणेश चतुर्थीको दिन व्रत बस्न पारिजात र बिमिरो आवश्यक पर्छ । स्वर्गमा यी चिज नपाइने भएपछि आफ्ना नाति जयन्तलाई मत्र्यलोकबाट पारिजात र बिमिरो ल्याउन भनिन्छ । मत्र्यलोकमा आएका जयन्तले कसैसँग नसोधी पारिजातको फूल टिप्छ । उनले पारिजात टिपेको देखेकाले जयन्तलाई समाउँछ ।
त्यसबेला मत्र्यलोकमा राजा राक्षसराज मूपात्र हुन्छन् । जसले गर्दा इन्द्रका छोरा जयन्तलाई मूपात्रकहाँ पु¥याइन्छ । उनले आफ्नो राज्यको पारिजात फूल चोरेको भन्दै सजायस्वरुप जयन्तको हात काटिदिन्छ र चोकमा सबैले देख्ने गरी पाता कसेर राख्छ ।
त्यही पाता कसेर राखेको प्रतीकस्वरुप भक्तपुरका टोल टोलमा यमद्यःचा ठड्याइँदै आएको संस्कृतिकर्मी धौभडेल बताउँछन् । यसरी ठड्याइएका यमद्यःचाको सुरक्षास्वरुप स्थानीय बासिन्दाले जनै पूर्णिमाको दिन आफ्नो हातमा बाँधेको डोरा उक्त यमद्यःचामा बाँधिदिने प्रचलन रहेको छ ।
मूपात्रको कैदमा रहेको उनै जयन्तलाई छुटाउन इन्द्रले सलाँ गणेश, छुमा गणेश र मसान भैरवलाई पृथ्वीलोकमा पठाउँछन् । तैपनि मूपात्रसँग उनीहरु पराजित हुन्छन् । त्यसपछि इन्द्रले आफ्नो बहान ऐरावत हात्तीलाई जयन्त छुटाउन पठाउँछन् । सोही ऐरावत हात्तीले जयन्त छुटाएर लगेको सन्दर्भमा भक्तपुरमा इन्द्रजात्राको चौथो दिन पुलुकिसी जात्रा मनाइँदै आएको संस्कृतिकर्मी धौभडेल बताउँछन् ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!