Connect with us

POLITICS

पर्यटकको रुपमा भक्तपुर पुगे चिनियाँ विदेशमन्त्री वाङ

Published

on

भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्दै चिनियाँ विदेशमन्त्री वाङ यी र चिनियाँ प्रतिनिधिमण्डल । तस्बिर : इन डेप्थ

भक्तपुर । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी बुधबार बिहान भक्तपुर नगर पुगेका छन् । अति सामान्य लुगामा भक्तपुर पुगेका उनले करिब एकघन्टा भक्तपुरमा बिताए । अति नै अनौपचारिक रुपमा भक्तपुर पुगेका उनले बर्दीधारी नेपाली सुरक्षाकर्मीहरुलाई समेत आफ्नो अगाडि पर्न दिएनन् ।
उनको सुरक्षामा रहेका चिनियाँ सुरक्षाकर्मीहरुले विदेशमन्त्री वाङको भक्तपुर भ्रमणको रिपोर्टिङ्गका लागि पुगेका सञ्चारकर्मीहरुलाई समेत अगाडि आउन दिएनन् । जसले गर्दा टाढैबाट फोटो तथा भिडियो खिच्न सञ्चारकर्मीहरु बाध्य भएका थिए ।
अनौपचारिक लुगामै विदेशमन्त्री वाङ मंगलबार बिहान करिब ७ः३० बजे भक्तपुर नगरपालिका १ स्थित दूधपाटीमा पुगेका थिए । त्यहाँ गाडी रोकेर उनी करिब एक किलोमिटर पैदलै भक्तपुर दरबार क्षेत्र प्रवेश गरे ।
दरबार क्षेत्र प्रवेश गरेलत्तगै हँसिलो मुहार बनाएका उनी भक्तपुर दरबार क्षेत्रस्थित सुनढोका हुँदै तलेजुभित्र छिरे । त्यहाँ तलेजुको मूल मन्दिरभित्र प्रवेश गर्न लाग्दा त्यहाँ तैनाथ नेपाली सेनाका जवानहरुले यहाँ हिन्दूहरुलाई मात्रै प्रवेश दिइने जानकारी दिइएपछि उनी पछि हटे र तलेजुको मुख्य ढोकाबाटै भित्रका कलाकृतिको अवलोकन गरेका थिए ।
तलेजुबाट बाहिर निस्केका उनी पुनर्निर्माण हुँदै गरेको सिलु महादेव (फसीदेगः) मन्दिरको अवलोकन गरे । भक्तपुर दरबारबाट हिँडेरै उनी टौमढी पुगे । त्यहाँ रहेको पाँचतले मन्दिरमाथि उक्लिएर विदेशमन्त्री वाङले अभिरुचिपूर्वक पाँचतले मन्दिरको अवलोकन गरे ।
पाँचतले मन्दिरबाट ओर्लेर त्यसको फोटो आफ्नो मोबाइलमा कैद गरे । साथै पाँचतले मन्दिरलाई पछाडि पारेर आफ्नो फोटो पनि खिचे ।
त्यहाँबाट पुनः पैदलै मन्त्री वाङ करिब डेढ किलोमिटर हिँडेरै भक्तपुर नपा ९ स्थित दत्तात्रय मन्दिर पुगे । यसअघि उनी भनपा ७ गोल्मढीस्थित झौरबहीको अवलोकन गरे । नेपाल मजदुर किसान पार्टीको केन्द्रीय कार्यालयको सामुन्ने रहेको उक्त बहीको उनले अभिरुचिपूर्वक अवलोकन गरेका थिए । उक्त वहीमा पाँच दीपंकर बुद्धमध्ये एक बुद्ध विराजमान छन् । त्यस्तै त्यहाँ अन्य बौद्ध स्तूपा र कलाकृति रहेका छन् ।
दत्तात्रय मन्दिर परिसरमा रहेको मयूर झ्याल, मठमन्दिर तथा कलाकृतिको अवलोकनपछि उनी करिब एक किलोमिटरको दूरीमा रहेको च्याम्हासिंह पुगेर गाडीमा बसेर काठमाडौं फर्केका थिए ।
भक्तपुर नगर अवलोकनका क्रममा मन्त्री वाङले यहाँका सम्पदा, मठमन्दिरबारे अभिरुचिपूवर्क जिज्ञासा राखेको उनीसँगै हिँडेका भक्तपुर नगरपालिका प्रशासन प्रमुख दामोदर सुवालले जानकारी दिए ।
‘मन्त्री वाङले हरेक मठमन्दिर तथा सम्पदाबारे अभिरुचिपूर्वक जिज्ञासा राख्नुभयो । उक्त सम्पदा कति वर्ष पुरानो, कुनै शैलीले निर्माण भएको र कुन धर्मसँग सम्बन्धित रहेकोबारे उहाँले जोड दिएरै प्रश्न गर्नुभयो’, प्रशासन प्रमुख सुवालले भने, ‘उहाँको जिज्ञासाबारे नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले विश्लेषणसहित जानकारी दिनुभएको थियो ।’
उनलका अनुसार मन्त्री वाङले भक्तपुर दरबार क्षेत्र, टौमढी, दत्तात्रय क्षेत्रका सम्पूर्ण सम्पदा क्षेत्रमा बसेर आफ्नो फोटो खिच्नुको साथै आफूले पनि फोटो खिचेका थिए ।
अनौपचारिक रुपमा भक्तपुर आएकाले उनलाई भक्तपुरस्थित सरकारी अधिकारी तथा नगरपालिकाका जनप्रतिनिधिहरुले समेत औपचारिक रुपमा स्वागत गर्ने तथा घुमाउने कुनै कार्य भएन ।
त्यस्तै विदेशमन्त्री वाङले भक्तपुर भ्रमण गरेकोबारे धेरै भक्तपुर नगरवासी नै बेखबर रहे । साधारण लुगामा विनासुरक्षाकर्मी हिँडेरै भक्तपुर घुमेका मन्त्री वाङलाई धेरैले चिन्नसमेत सकेनन् । धेरैले उनी फर्केपछि मात्रै साधारण लुगामा आएका चिनियाँ नागरिकजस्तो देखिने उनी विदेशमन्त्री भएको पत्तो पाए ।
‘हाम्रा नेता तथा मन्त्रीहरु कतै जानुप¥यो भने अघिपछि सुरक्षाकर्मी राखेर र सर्वसाधारणलाई रोकेर आफू हिँड्छन्’, भक्तपुरका एक पर्यटन व्यवसायी भन्दै थिए, ‘तर चिनियाँ विदेशमन्त्री जस्तो मान्छे सामान्य लुगामा विनासुरक्षाकर्मी पैदल हिँडे । कुरा गर्ने र काम गर्ने नेता तथा मन्त्री यसरी नै छुट्टिन्छ ।’
मन्त्री वाङको भक्तपुर भ्रमण हेर्दा उनी चिनियाँ विदेशमन्त्री कम पर्यटक बढी देखिएको उनको भनाइ थियो ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!