Connect with us

POLITICS

चक्रवर्तीका ३० नर्सिङ विद्यार्थी परीक्षा दिनबाट बञ्चित

Avatar

Published

on

मध्यपुर थिमी नगरपालिका ९ निकोसेरास्थित चक्रवर्ती हबी नर्सिङ कलेज ।

भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका ९ निकोसेरास्थित चक्रवर्ती हबी नर्सिङ कलेजका ३० जना नर्सिङ विद्यार्थीहरु बोर्ड परीक्षा दिनबाट बञ्चित भएका छन् ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले रजिस्ट्रेसन दर्ता नगर्दा ती विद्यार्थीहरु सीटीईभीटीको बोर्ड परीक्षा दिनबाट बञ्चित भएका हुन् ।
सीटीईभीटीको बोर्ड परीक्षा साउन २६ गतेदेखि सुरु भएको छ । उक्त परीक्षा तालिकाअनुसार बुधबारसम्म ती विद्यार्थीहरुले दुइटा परीक्षा दिन पाएनन् ।
सीटीईभीटीमा आफूहरुको रजिस्ट्रेसन दर्ता गरी परीक्षाको प्रवेशपत्र उपलब्ध गराउन पटकपटक ध्यानाकर्षण गरिँदा पनि सुनुवाइ नभएको पीडित विद्यार्थीहरुले आरोप लगाएका छन् ।
कलेजबाट आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्दा पनि सीटीईभीटीले आफूहरुको रजिस्ट्रेसन नगरेको विद्यार्थीहरुले सुनाए ।
‘कलेजले नियमानुसार सम्पूर्ण प्रक्रिया पूरा गर्दा पनि सीटीईभीटीले हामीहरुको रजिस्ट्रेसन दर्ता गर्न मानेन’, पीडित विद्यार्थी अनुस्का चौलागाईंले भनिन्, ‘हामी आफै पटकपटक जाँदा पनि सीटीईभीटीका जिम्मेवार पदाधिकारीहरुले हाम्रो शैक्षिक भविष्यमा खेलाँची गर्नुभयो ।’
उनले आफूहरुको शैक्षिक भविष्यमाथि खेल्ने अधिकार कसैलाई नभएको भन्दै आफूहरुले परीक्षा दिन नपाए जुनसुकै कदम चाल्ने चेतावनी दिइन् ।
कलेजसँग सीटीईभीटीको कुनै समस्या भए विद्यार्थी भर्ना गर्न किन स्वीकृति दिएको भन्दै अर्का विद्यार्थी रुसा सिंहले आक्रोश पोखिन् । उनले सीटीईभीटी आफैले प्रवेश परीक्षा लिएर भर्नाको लागि स्वीकृति दिने अनि परीक्षाको बेला रजिस्ट्रेसन रोक्नु अन्याय भएको बताइन् ।
त्यस्तै पीडित विद्यार्थीका अभिभावकहरुले पनि विद्यार्थी भर्ना गर्न नरोक्ने सीटीईभीटीले परीक्षामा विद्यार्थीलाई रोक्न नपाउने बताएका छन् ।
उनीहरुले भर्नामै रोक लगाएको भए अहिले परीक्षामा आएर समस्या भोग्न नपर्ने भनाइ थियो ।
‘अहिले परीक्षा प्रभावित हुने गरी रजिस्ट्रेसन रोकेर सीटीईभीटीले विद्यार्थीको शैक्षिक भविष्यमा खेलवाड गर्न पाइँदैन’, अभिभावक पृथ्वीबहादुर श्रेष्ठले भने, ‘हाम्रा बच्चाहरुले सीटीईभीटीको परीक्षा दिन पाउनुपर्छ । परीक्षा दिन पाएन भने हामी मर्न र मार्न पनि तयार छौं ।’

सीटीईभीटीले खारेज गरेको थियो चक्रवर्तीको सम्बन्धन

चक्रवतीले ५० शय्याको आफ्नै अस्पताल सञ्चालन नगरेको भन्दै सीटीईभीटीले २०७४ असोज २४ गते उसको सम्बन्धन खारेज गरेको थियो । चक्रवर्तीले आफ्नो अस्पताल नभए पनि भक्तपुर अस्पतालसँग २०८० सालसम्मको लागि सम्झौता भइसकेको र त्यसबाट पनि नपुग्ने भए एकसय शय्याको गणेशमान अस्पतालसँग सम्झौता हुँदाहुँदै आफूहरुको सम्बन्धन खारेज गरेको कलेजका सञ्चालक नीलकृष्ण ताम्राकारले जानकारी दिए ।
विद्यार्थीहरुले नर्सिङ पढिरहेकैबीचमा सम्बन्धन खारेज गरेपछि चक्रवर्ती उच्च अदालत गएको थियो ।
उच्च अदालत पाटनले २०७४ माघ १० गते सीटीईभीटीको कलेजको सम्बन्धन खारेज गर्ने निर्णय बदर गर्ने फैसला गरेको थियो । उच्च अदालतले सम्बन्धन खारेज गर्ने निर्णय बदरसँगै चक्रवर्तीलाई निरन्तर सञ्चालन हुन दिनू भनी आदेशसमेत दिएको सञ्चालक ताम्राकार बताउँछन् ।
उच्च अदालतले फैसला र आदेश दिँदा पनि सीटीईभीटीले आफूहरुको सम्बन्धन खारेज गरेको निर्णय अहिलेसम्म नउल्टाएको उनको भनाइ थियो ।
‘उच्च अदालतको फैसलालाई अनादर गरेर सीटीईभीटीले अहिलेसम्म चक्रवर्तीको सम्बन्धन खारेज निर्णय बदर गरिएको छैन’, उनले भने ।
यसबारे कलेजले बिहीबार पत्रकार सम्मेलन गरी सीटीईभीटीका केही उच्च पदस्थ कर्मचारीहरुले नियतवस चक्रवर्तीका विद्यार्थीहरुलाई परीक्षाबाट बञ्चित गरेको आरोप लगाएको छ ।कार्यक्रममा सञ्चालक ताम्राकारले सरकारी निकाय भएर पनि अदालतको आदेश एवं फैसला कार्यान्वयन नगर्नु अन्याय भएको गुनासो गरे ।
उच्च अदालतको फैसला र आदेशसमेत नमान्ने पदाधिकारीहरुलाई सीटीईभीटीको कुर्सीमा बस्ने अधिकार नभएको सञ्चालक ताम्राकारको जिकिर थियो ।
‘उच्च अदालतले आफ्नो फैसला र आदेश कार्यान्वयन गर्न चारचारपटक निर्देशन दिँदा पनि नमान्ने सीटीईभीटीका पदाधिकारीहरुलाई के कुर्सीमा बस्ने अधिकार छ ?’, उनको आक्रोश थियो, ‘हामीले पटकपटक ध्यानाकर्षण गर्दा पनि हाम्रो कुरा सुनेनन् । हामीले उहाँहरुको खुट्टा ढोग्नमात्रै बाँकी छ । त्यसैले पत्रकारहरुमाझ आएका छौं । तपाईंहरुले न्याय दिनुप-यो ।’
पत्रकार सम्मेलनमा परीक्षा दिन नपाएका ३० जना विद्यार्थी एवं तिनका अभिभावकहरुको उपस्थिति थियो ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!