Connect with us

POLITICS

व्यक्तिगत सम्पत्ति थुपार्ने प्रवृत्ति बढ्यो : महरा

Avatar

Published

on

भक्तपुरमा भएको राष्ट्रिय वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख कृष्णबहादुर महरा । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले व्यक्तिगत सम्पत्ति थुपार्ने प्रवृत्ति बढेकोतर्फ चिन्ता व्यक्त गरेका छन् ।
सार्वजनिक जग्गा जमिनसमेत हड्पेर व्यक्तिगत सम्पत्ति बढाउने प्रवृत्ति उनको गुनासो थियो ।
देशव्यापी रुपमा शनिबारदेखि सुरु भएको राष्ट्रिय वृक्षरोपण कार्यक्रमलाई भक्तपुरमा सम्बोधन गर्दै सभामुख महराले जग्गा जमिन, वनजंगल व्यक्तिको नहुने स्पष्ट पारे ।
‘जग्गा जमिन व्यक्तिको हुँदैन । राज्यको हुन्छ’, उनले भने, ‘छिमेकी देश चीनमै यस्तो व्यवस्था छ । हामी पनि त्यो दिशातिर अघि बढ्नुपर्छ ।’
जताततै माफियाकरण हुन थालेको सभामुख महराको भनाइ थियो ।
उनले नेपाललाई कर छुट देश घोषणा गर्न विदेशीहरुले सुझाव दिँदै आएको बताए ।
नेपाल पुग्ने विदेशी पर्यटकहरुलाई मात्रै कर छुट दिन सके उनीहरुले गर्ने खर्चले नेपाल र नेपालीमा आर्थिक विकास अझ सम्भव हुने उनको भनाइ थियो ।
उनले हरियो वन नेपालको धन भन्ने आहानलाई अझ महत्व दिएर हरियाली प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका ४ दधिकोटस्थित दक्षिण बाराही सामुदायिक वनमा वृक्षरोपण गरिएको थियो । उक्त वनमा उद्यान निर्माण गर्न ३ नम्बर प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेको वनमा अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार आगामी आर्थिक वर्षमा थप २० लाख रुपैयाँ प्राप्त हुने भएको छ ।
शनिबार उक्त सामुदायिक वनमा धुपी, सल्लासँगै एभोकाडोलगायतका फलफूलका करिब दुई सय विरुवा रोपिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेत, प्रदेश नम्बर ३ का सदस्य शशिजंग थापा, सूर्यविनायक नपाका प्रमुख वासुदेव थापालगायतले सार्वजनिक जग्गाजमिन, वन तथा नदीको सरसफाइ र संरक्षण गर्दै हरियाली प्रवद्र्धन गर्नुपर्ने धारणा राखे ।
उक्त अवसरमा हनुमन्ते नदी सरसफाइ अभियानको ७० औं हप्ता पुगेको अवसरमा मध्यपुर थिमीको शंखधर चोकदेखि दक्षिण बाराहीसम्म सरसफाइसमेत गरिएको थियो । प्रत्येक बुधबार हुँदै आएको हनुमन्ते सरसफाइ यसै सातादेखि प्रत्येक शनिबार हुने कार्यक्रममा जानकारी दिइएको थियो ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!