Connect with us

POLITICS

‘राजनीतिक पहुँचको कारण काम गर्दैनन् निर्माण व्यवसायी’

Published

on

तेलकोटदेखि भट्टेडाँडा सडकको स्तरोन्नति शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल । फोटो : इन डेप्थ

भक्तपुर । कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले आर्थिक वर्ष २०७६/०७७ नेपालको विकास वर्ष हुने उद्घोष गरेका छन् ।
सरकारले देशको विकास र समृद्धिको आधार निर्माण गरिसकेकाले आउँदो आर्थिक बर्ष ०७६/०७७ विकासको वर्ष हुने उनको स्पष्टोक्ति थियो ।
भक्तपुरको चाँगुनारायण नगरपालिकाको तेलकोटदेखि भट्टेडाँडासम्मको सडक स्तरोन्नतिको मंगलबार शिलान्यास गर्दै रक्षामन्त्रीसमेत रहेका कार्यबाहक प्रधानमन्त्री पोखरेलले प्रदेश र स्थानीय सरकारलाई आफ्नो अधिकारको पूरापूर उपयोग गर्न आह्वान गरे ।
उनले सार्वजनिक खरिद ऐन विकासको बाधक भएकाले यसको संशोधन गर्ने तयारी अघि बढाइएको जानकारी दिए । यहीं ऐनको कमजोरीको फाइदा उठाउँदै निर्माण व्यवसायीहरुले काम नै नगर्ने प्रवृत्ति बढेको मन्त्री पोखरेलको आरोप थियो ।
‘सार्वजनिक खरिद ऐनको बलमा केही ठूला निर्माण व्यवसायीले ठेक्का सम्झौताको २० प्रतिशत मोभिलाइजेसन लिने तर काम नगर्ने प्रवृत्तिको विकास भएको छ’, उनले भने, ‘रकम लिएर काम नगर्ने प्रवृत्तिको अन्त्य गर्न सार्वजनिक खरिद ऐन नै संशोधन गर्नुपर्छ ।’
कार्यबाहक प्रधानमन्त्री पोखरेलले राजनीतिक पहुँचका आधारमा निर्माण व्यवसायीले काम नगर्ने गरेकोसमेत धारणा राखे ।
कार्यक्रममा भक्तपुर नगरपालिका १० कमलविनायकदेखि चाँगुनारायण नगरपालिकाकोे नगरकोट जोड्ने नगरकोट सडक ठेक्का लागेको सात वर्ष हुँदा पनि निर्माण सम्पन्न नभएकोबारे ध्यानाकर्षण गरिएको थियो । उक्त सडकको ठेक्का पार्ने निर्माण व्यवसायी शारदाप्रसाद अधिकारी नेकपा (नेकपा) अध्यक्ष पुष्पकमल दाहालका घरपति हुन् । सोही तथ्यलाई ध्यानमा राखेर कार्यबाहक प्रधानमन्त्री पोखरेलले राजनीतिक पहुँचको आधारमा निर्माण व्यवसायीले काम नगर्ने प्रवृत्ति बढेको टिप्पणी गरेका थिए ।
‘नगरकोट सडकलगायतका ठूला निर्माण कार्यमा ढिलासुस्ती गर्ने, आलटाल गर्ने, लापरबाही गर्ने र गुणस्तरहीन निर्माण कार्य गर्ने व्यवसायीलाई कारवाहीको दायरामा ल्याउने प्रक्रिया अघि बढाइएको छ’, कार्यबाहक प्रधानमन्त्री पोखरेलले भने ।
कार्यबाहक प्रधानमन्त्री पोखरेलले शिलान्यास गरेको उक्त सडकको लागि केन्द्र सरकारले २ करोड ८५ लाख र चाँगुनारायण नपाले ५ करोड ६१ लाख रुपैयाँ विनियोजन गरेका छन् ।
करिब साढे सात किलोमिटर लम्बाइ भएको उक्त सडकको नाम हरि गुरुसमेत राखिने भएको छ ।
करिब दुई वर्षअघि भएको प्रदेशसभा निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ ख बाट निर्वाचित स्व. हरिशरण लामिछानेको नाउँमा उक्तको नामाकरण गरिएको हो । उक्त सडक ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको चाँगुनारायण नपाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!