Connect with us

POLITICS

प्रत्यारोपण केन्द्रमा नर्सको अनसनबीच नर्सकै आवेदन

Avatar

Published

on

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दर्खास्त फारम बुझाउन लाम बस्दै आवेदकहरु । तस्बिरहरु : ईश्वरकाजी खाइजू

भक्तपुर । भक्तपुरको दूधपाटीस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अहिले दुई विपरीत दृश्य देख्न पाइन्छ । एउटा दृश्य आफ्नो रोजगारीको ग्यारेन्टी माग गर्दै केन्द्रमा कार्यरत एक नर्स आमरण अनसनमा छिन् । अर्को दृश्यमा त्यहीं केन्द्रमा रोजगारीको लागि आवेदन दिनेहरुको लर्को छ ।
केन्द्रले स्थायी पदपूर्तिको लागि एकसय ७० पदको लागि लोकसेवामार्फत विज्ञापन गरेको छ । जसमा स्टाफ नर्सतर्फ नै ९६ पदको लागि विज्ञापन गरिएको छ । उक्त पदको लागि आइतबारसम्ममा तीनसय बढी आवेदन परेको केन्द्रले जनाएको छ ।
केन्द्रमा आह्वान गरिएको पदमा आवेदन दिनेहरुको लर्को नै लागेको छ । दर्खास्त फारम भर्नेहरु केन्द्रमा यत्रतत्र देखिन्छन् । कोही भ¥याङमा, कोही र्याममा बसेर दर्खास्त फारम भर्नेहरु भेटिन्छन् । त्यस्तै कोही पिल्लरमा टाँसिएको सूचना हेर्न व्यस्त छन्, भने कोही बैंक कतातिर छ भनी सोध्नेहरु भेटिन्छन् ।

अनसनकारी शेर्पाको स्वास्थ्य खस्कियो

स्वास्थ्य बिग्रिएपछि आकस्मिक कक्षमा राखिएकी आमरन अनसनकारी दिकी शेर्पा ।

यसैबीच आफूहरुको रोजगारीको ग्यारेन्टी माग गर्दै शुक्रबारदेखि आमरण अनसन सुरु गरेकी केन्द्रकी नर्सिङ कर्मचारी दिकी शेर्पाको स्वास्थ्य अवस्था खस्किएको छ । आइतबार बिहानसम्म केन्द्रको प्रवेशद्वारमा बसेर अनसनलाई निरन्तरता दिएकी उनलाई साँझदेखि केन्द्रको आकस्मिक कक्षमा राखिएको छ ।
उनको स्वास्थ्य अवस्था खस्किँदै गएपछि उनलाई आकस्मिक कक्षमा सारिएको उनका सहकर्मीहरुले बताएका छन् । आकस्मिक कक्षमा राखेर उपचार गरिएपछि उनी बोल्न सक्ने भएकी छन् ।
केन्द्रमा सुरुदेखि काम गर्दै आएका नर्सहरुलाई सेवाबाटै हटाउन खोजिएकाले आन्दोलनमा उत्रन बाध्य भएको उनले सुनाइन् ।
‘विज्ञापन गरेर नयाँ नर्स भर्ना गर्दा पुरानाहरु विस्थापितमात्रै हुनेछैनन् । केन्द्रको सेवाको गुणस्तरसमेत खस्कनेछ । सही उपचार नपाएर कसैको ज्यान गयो भने कसले जिम्मेवारी लिने ?’, उनले भनिन्, ‘नयाँ नर्सहरुले अंग प्रत्यारोपण जस्तो संवेदनशील क्षेत्रको सेवा दिन सक्दैनन् । नयाँले यहाँको अति संवेदनशीन डाइलासिस मेसिनसमेत सञ्चालन गर्न सक्दैनन् । जसले बिरामीहरुले गुणस्तरीय सेवा पाउँदैनन् ।’
उनले आफूहरु लोकसेवा परीक्षामा असफल हुने डरले आन्दोलनमा नगएको दावी गरे । उनका अनुसार आन्दोलनमा लागे पनि दर्खास्त फारम भरिएको छ ।
केन्द्रमा सुरुदेखि नै काम गरेको अनुभवको आधारमा आफूहरुको रोजगारी ग्यारेन्टी गर्नुपर्ने उनको तर्क थियो । आफूहरु केन्द्रमै रहँदा केन्द्रको सेवा प्रभावित नभई झन् प्रभावकारी र गुणस्तरीय हुने उनको दावी थियो ।
सात वर्षदेखि केन्द्रमा काम गर्दै आएका उनले केन्द्रमा कार्यरत नर्सहरु नै सीधै स्थायी हुने गरी प्रक्रिया अघि नबढाएसम्म आमरन अनसन नतोड्न बताइन् ।
केन्द्रले अनुभवी एवं लामो समयदेखि काम गर्दै आएका आफूहरुलाई पाखा लगाउने नियतका साथ स्थायी विज्ञापन गरेको अनसनरत नर्स शेर्पाले आरोप लगाइन् ।
केन्द्र हुँदै मन्त्रालय र नेपाल नर्सिङ संघबाट आफूहरुको माग सुनुवाइ नभएपछि पछिल्लो समय नर्सहरु आमरन अनसनमा उत्रिएका छन् ।

माग पूरा गर्न कठिन : केन्द्र

यता केन्द्रले भने अनसन बसेकी नर्सको माग पूरा गर्न नसकिने बताएको छ । स्वास्थ्य मन्त्रालयले नै आन्दोलनकारी नर्सहरुको माग पूरा गर्न नसक्ने उत्तर दिइसकेको अवस्थामा मन्त्रालय मातहतको केन्द्रले पूरा गर्न सक्ने अवस्थै नभएको केन्द्रले जनाएको हो ।
केन्द्रले स्वास्थ्य सेवा ऐनअनुसार नै विज्ञापन गरिएकाले नर्सहरुले भनेझैं केन्द्रमा कार्यरतहरुलाई प्राथमिकता दिने विकल्प राख्न नसकिएको बताएको छ ।
केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले आन्दोलनरत आफ्ना नर्सिङ कर्मचारीहरुलाई आन्दोलन छाडेर काममा फर्कन आग्रह गरेका छन् ।
उनले केन्द्रका चिकित्सक तथा नर्स र कर्मचारीहरुको रोजगारी सुनिश्चित गर्न नै लोकसेवा आयोगमार्फत परीक्षा लिन लागिएको स्पष्ट पारे ।
त्यसैले लोकसेवाको परीक्षामा सहभागी हँुदा नै आन्दोलनरत नर्सहरुको भलो हुने उनको भनाइ थियो ।

स्टाफ नर्समा आवेदन दिने कम

केन्द्रमा नर्सहरुको आन्दोलनको कारण स्टाफ नर्समा आवेदन कम परेको छ । केन्द्रले ९६ पदको लागि कम्तीमा पाँच हजार र बढीमा १५ हजार आवेदन पर्ने अनुमान गरेको थियो तर आइतबारसम्ममा जम्मा तीनसय जनाले आवेदन दिएका छन् । आगामी जेठ ३ गतेसम्म आवेदन दिने म्याद तोकिएको छ । दोब्बर शुल्क तिरेर भने जेठ १० गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
तर नर्सहरुको आन्दोलनको कारण आवेदकहरु अन्योलमा रहेको यसले पुष्टि हुन्छ ।
‘सरकारी सेवाको लागि एकैपटक ९६ जना स्टाफ नर्स मागिनु धेरै हो’, केन्द्रका प्रशासन प्रमुख हरिहर पोखरेलले भने, ‘यस हिसाबले केन्द्रमा कम्तीमा पाँच हजार र बढीमा पन्ध्र हजार नर्सहरुको आवेदन पर्ने अनुमान थियो । तर आइतबारसम्ममा तीनसयमात्रै आवेदन परे ।’
नर्सहरुको आन्दोलनकै कारण उक्त पदमा ज्यादै थोरै आवेदन परेको उनको भनाइ थियो । उनका अनुसार अरु पदमा भने अपेक्षा गरेभन्दा बढी आवेदन परेका छन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!