Connect with us

POLITICS

भक्तपुर तलेजूका मूल नाइके जोशी घाइते

Published

on

मोटरसाइकलको ठक्करबाट घाइते भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । भक्तपुर दरबार क्षेत्रस्थित तलेजू आगमछेंका मूल नाइके नरेन्द्रप्रसाद जोशी सडक दुर्घटनामा परेका छन् । एक महिनाअघि उनलाई भक्तपुर–काठमाडौं ६ लेन सडकको घलातें चोकमा मोटरसाइकलले ठक्कर दिएको थियो । जेब्रा क्रसिङबाट बाटो काटेर आफ्नो बन्दै गरेको घर हेर्न जाने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट उनको दाहिने खुट्टा भाँचिएको छ । अहिले उनी भाँचिएको खुट्टामा प्लास्टर राखेर आराम गर्दै छन् । चिकित्सकहरुले अझै एकमहिना खुट्टाले नटेक्न सुझाव दिएको नाइके जोशी बताउँछन् ।
तर आफ्नो अनुपस्थितिमा भक्तपुर तलेजुको दैनिक कामकारबाही प्रभावित भएको उनले जानकारी दिए । मूल नाइके जोशीको उपस्थितिमा तलेजुमा दैनिक नित्यपूजा गर्नुपर्छ । राजोपाध्याय, जोशी र कर्माचार्य पुजारीलगायतहरुले उक्त पूजा गर्छन् तर नाइके जोशी गएको एक महिनादेखि भक्तपुर तलेजु पुग्न सकेका छैनन् ।
२०५० सालमा भक्तपुर तलेजूको मूल नाइके नियुक्त भएका जोशीले आफ्नो अनुपस्थितिमा तलेजुभित्र दैनिक गर्नुपर्ने नित्यपूजालगायतका अन्य पूजापर्व रोकिने चिन्ता व्यक्त गरेका छन् ।
‘तलेजुभित्र वर्षमा ठूलासाना ३० वटा था पूजा हुँदै आएका थिए’, नाइके जोशीले भने, ‘यसबीचमा दुइटा थापूजा रोकिएका छन् । मेरो अनुपस्थितिमा अरु था पूजा पनि रोकिनसक्ने चिन्ता बढेको छ ।’
उनका अनुसार पौष महिनाको बढी नवमी र माघ शुद्धी सप्तमीको दिन हुने दुइटा थापूजा रोकिएको तीसौं वर्ष भइसक्यो । तर आफूले यसैवर्ष दुवै थापूजा चलाउने प्रयास गरेकोमा आफू दुर्घटनामा परेपछि ती थापूजाले पुनर्जीवन नपाउने भएको भन्दै उनले चिन्ता व्यक्त गरे ।
उनी दुर्घटनामा परेकै कारण पौष महिनाको बढी नवमी बितिसकेको छ । माघ शुद्धी सप्तमी भने आउन बाँकी छ ।
पौष बढी नवमीको दिन हुने थापूजाको लागि भक्तपुरका मल्ल राजाका वंशज रहेका मल्ल तथा प्रधानाङहरुले सञ्चालन तथा व्यवस्थापन गर्दै आएका थिए । त्यस्तै माघ बढी नवमीको थापूजा भने भक्तपुरका ग्वंग थर भएकाहरुले सञ्चालन तथा व्यवस्थापन गर्दै आएका थिए । तर पुस्तान्तरणसँगै उत्तः पूजाको सञ्चालन र व्यवस्थापन नहुँदा ती दुई थापूजा रोकिन पुगेको मूल नाइके जोशी बताउँछन् ।
‘यी दुवै थापूजा चलाउन प्रशस्त जग्गाजमिनको व्यवस्था गरिएको छ’, उनले भने, ‘तर गुठी जग्गा रैतानी गरिएसँगै पूजा पनि रोकिन पुग्यो ।’

तलेजुमा ५३८ रकमी

उनका अनुसार प्रत्येक थापूजामा राजोपाध्याय, जोशी र कर्मचारीलगायतका तलेजुका ५३८ जना रकमी प्रत्यक्ष सहभागी हुन्छन् । तलेजुमा राजोपाध्याय, जोशी, कर्माचार्यसँगै राजभण्डारी, मुनंकर्मी, सांगामी, सुवाल, दथेपुथे, ताल्चाभडेल, चोकाभडेल, मूलगुठी थरका रकमीहरु छन् ।
त्यस्तै न्याइच्याई, माक, ताम्राकार, शिल्पकार, प्रजापति, राजचल, चौगुठी, खड्गी, हेंगोल्नी, ग्वाछा, लाखे आदि थरका रकमीहरु पनि प्रत्येक थापूजामा सामेल हुन्छन् ।

३४० बोका, ७० राँगाको बलि

तलेजुमा हुने प्रत्येक थापूजामा बोका, राँगा र हाँसको बलि दिइन्छ । तलेजुमा हुने थापूजासँगै दसैंलगायत विशेष पूजा गरी वर्षमा तीनसय ४० बोकाको बलि दिइने मूल नाइके जोशी बताउँछन् । बोकाको संख्या गणना गर्दा दैनिक एउटा बोकाको हिसाबले तलेजुमा बलि दिइन्छ । त्यस्तै एक वर्षमा तलेजुभित्र ७० वटा राँगाको बलि दिइने उनको भनाइ छ ।
‘तलेजुमा कुखुराको बलि दिँइँदैन । प्रत्येक थापूजामा बोका, राँगा र हाँसको बलि दिइन्छ’, उनले भने, ‘तलेजुमा प्रत्येक आइतबार हाँसको बलिपूजा हुन्छ ।’

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!