Connect with us

POLITICS

रंगशाला निर्माणविरुद्ध मन्त्रीअघि नै विरोध प्रदर्शन

Avatar

Published

on

रंगशाला निर्माणविरुद्ध बिहीबार गरिएको विरोध प्रदर्शनमा सहभागी पीडित स्थानीय । तस्बिर : इनडेप्थ

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका १० साविक चित्तपोलको भकारीमूल क्षेत्र र चाँगुनारायण नगरपालिका ९ साविक ताथलीको तेडोल र डाँडापाटीमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणविरुद्ध बिहीबार स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका छन् ।
स्थानीयलाई थाहै नदिई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, भक्तपुर क्षेत्र नं. २ का सांसद महेश बस्नेत, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाललगायतको टोलीले सूर्यविनायकको भकारी मूलको स्थलगत निरीक्षण गर्न आएको थियो । उक्त टोली आएको खबर पाउनेबित्तिकै रंगशालाविरुद्ध अरनिको राजमार्गको बाँसघारीदेखि मिलनचोकसम्म विरोध प्रदर्शन गरिएको छ ।
भक्तपुरको साविकको सिपाडोल, नंखेल, चित्तपोल, ताथली र सुडाल क्षेत्रमा झण्डै ३८ हजार तीन सय पचपन्न रोपनी जग्गामा जग्गा एकीकरण योजनाको नाम दिएर अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने विषयले स्थानीय आतंकित हुँदै आएका छन् । स्थानीयको विरोधपछि केही महिना मत्थर भएको रंगशाला निर्माणसम्बन्धी चर्चा बिहीबार पुनः तातेको छ । स्थानीयले मन्त्री नेतृत्वको टोलीलाई रंगशालाको लागि प्रस्तावित क्षेत्रको स्थलगत अवलोकन भ्रमण गर्न नपाउने गरी अवरोध सिर्जना गरेर विरोध प्रदर्शन गरेका हुन् ।
हातमा ब्यानर, प्लेकार्डसहित राजमार्ग छेउमा उभिएर विरोध गरिरहेका पीडित जनता देखेपछि मन्त्री नेतृत्वको टोली आफू चढेर आएको गाडीबाट बाहिर आउन सकेनन् । गाडीमा आएका उनीहरुलाई पीडित जनताले ‘रंगशाला चाहिँदैन, बस्ती उठाउन पाइँदैन’ लगायतका नारा सुनाएर भगाएका थिए । भक्तपुरबाट काभ्रेतर्फ लागेको उक्त टोली पुनः भक्तपुर हुँदै आउँदा पीडित स्थानीयले फेरि रंगशालाको विरोधमा नाराबाजी गरेका थिए ।
यसअघि उक्त टोलीले सूर्यविनायक नगरपालिका ८ सिपाडोलमा समेत रंगशालाको लागि सम्भावित क्षेत्रको स्थलगत निरीक्षण गरेको बताइएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!