Connect with us

HEALTH

क्यान्सर सर्भाइभरहरुको दोस्रो भेला सम्पन्न (फोटो फिचरसहित)

Published

on

क्यान्सर सर्भाइभर क्लवको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ ।

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा गठन भएको क्यान्सर सर्भाइभर क्लवको दोस्रो भेला शनिबार अस्पताल प्रांगणमा भएको छ । गएको असार ९ गते गठन भएको उक्त क्लवको शनिबार दोस्रो भेला भएको हो ।
प्रत्येक महिनाको दोस्रो शनिबार क्यान्सर सर्भाइभरहरुको भेला बस्ने क्लवको प्रावधानअनुसार शनिबार नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ भेलाका प्रमुख अतिथि भएका थिए ।
उक्त अवसरमा प्रवन्ध निर्देशक घिसिङले क्यान्सर व्यवस्थापन र लोडसेडिङको व्यवस्थापन उस्ताउस्तै तर कठिन भएको बताएका छन् ।
दुइटै ‘क्राइसिस’ भएकोले योजनावद्ध व्यवस्थापन गरेरमात्रै यसबाट पार पाउने उनको भनाइ थियो ।
‘क्यान्सरलाई जित्न उच्च मनोबल हुनुपर्छ । घरपरिवारले उपचारको राम्रो व्यवस्थापन गर्नुपर्छ’, प्रवन्ध निर्देशक घिसिङले भने, ‘त्यस्तै लोडसेडिङ अन्त्य गर्न कम व्यवस्थापन गर्नुपरेन । सबै कुरा व्यवस्थापनको विषय हो ।’
क्यान्सर रोगी भएको घरपरिवारले के कस्तो व्यवस्थापन गर्नुपर्छ भन्नेबारे आफू पनि भुक्तभोगी भएको बताउँदै उनी थप्छन्, ‘मैले पनि क्यान्सरलाई धेरै नजिकबाट हेरेको छु । क्यान्सर नभोग्नेलाई भन्न धेरै सजिलो छ तर भोग्नेलाई मात्रै थाहा हुन्छ क्यान्सर व्यवस्थापन गर्न कति गा¥हो छ ?’
केही क्षण भावुक बनेका उनले आमाको क्यान्सर उपचारमा बिताएको दुई वर्षले क्यान्सर व्यवस्थापन लोडसेडिङको व्यवस्थापनभन्दा कम नभएको सुनाए ।
तीन वर्षअघि क्यान्सरकै कारण आफूले आमा गुमाएको स्मरण गर्दै उनले लोडसेडिङले स्वास्थ्य क्षेत्रमा समेत नराम्ररी प्रभावित पारेका त्यसबेला आफूले प्रत्यक्ष भोगेको स्मरण गरे ।
‘आमाको उपचार चल्दै गर्दा अक्सिजन दिइरहनुपथ्र्यो’, उनले थपे, ‘तर बीचैमा बिजुली जाँदा धेरै समस्या भएको थियो । अक्सिजन दिइरहेका, आईसीयूमा आफ्ना बिरामीलाई उपचार गराइरहेका धेरैले फोन गर्नुहुन्थ्यो ।’
उनले मनलाई सदैव उज्यालो पार्न सकिए क्यान्सरलाई जित्नसक्ने पनि बताए ।
उनका भिनाजूलाई पनि पेटको क्यान्सर भएको प्रवन्ध निर्देशक घिसिङले सुनाए । आठ वर्षअघि उपचार गरेका उनलाई चिकित्सकले पाँच वर्ष बढी नबाँच्ने भनेको स्मरण गर्दै उनले भने, ‘तर अहिले आठ वर्ष बितिसक्यो । भिनाजु स्वस्थ हुनुहुन्छ । उहाँ म अर्को दस वर्ष बाँच्छु क्यान्सरलाई नै खाइदिन्छु भन्नुहुन्छ । त्यसैले आत्मबल बलियो भयो र मनलाई सदैव उज्यालो बनाउन सकियो भने क्यान्सरलाई व्यवस्थापन गर्न सकिने रहेछ ।’

प्रवन्ध निर्देशक घिसिङले नेपालमा लोडसेडिङबारे भ्रम रहेको बताए । उनका अनुसार प्राविधिक कारण विद्युत अवरुद्ध हुँदा पनि लोडसेडिङ भयो भन्ने गरिन्छ ।
‘हामीकहाँ प्राविधिक कारणले विद्युत अवरुद्ध भई बत्ती गयो भने लोडसेडिङ भयो भनिन्छ’, उनले स्पष्ट पारे, ‘मागअनुसार विद्युत नपुगेर दिँदै आएको विद्युतको समय कटौटी गर्नु लोडसेडिङ हो । तर नेपालमा लोडसेडिङको समस्या छैन । अब के कसरी विद्युत बढी खपत गराउने भन्ने समस्या छ ।’
कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका मेडिकल निर्देशक प्रो.डा. ऋषिकेशनारायण श्रेष्ठले क्यान्सर उपचार गर्न र उपचार पछि हुने समस्याबारे सामूहिक रुपमा समाधानतर्फ जाने उद्देश्यले क्लव गठन गरिएको जानकारी दिए ।
क्लवले क्यान्सर सर्भाइभरहरुलाई लक्षित गरी मासिक रुपमा विभिन्न कार्यक्रम गर्ने उनको भनाइ थियो । शनिबार क्यान्सर सर्भाइभरहरुको लागि नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङको उत्प्रेरक मन्तव्यसँगै सांस्कृतिक तथा खेलकुदको व्यवस्था गरिएको थियो ।
अस्पताल व्यवस्थापन समितिका सदस्य एवं नेपाल अर्बुदरोग निवारण संस्थाका महासचिव विमलकुमार होडाले क्यान्सर उपचार महंगो भएकाले सकेसम्म निःशुल्क गर्न सरकारसमक्ष पैरवी गर्दै आएको जानकारी दिए ।
उनले क्यान्सर लागेपछि बिरामीसँगै सिंगो घरपरिवारले पनि पीडा भोग्नुपर्ने भएकाले त्यो पीडा कम गर्न क्लवले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
भेलामा क्यान्सर सर्भाइभरहरुले क्यान्सर उपचारमा आफूले भोगेका र सहज उपचारको लागि हुनुपर्ने व्यवस्थाबारे आआफ्नो धारणा राखेका थिए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!