Connect with us

HEALTH

मर्ने बिरामीमध्ये ६० प्रतिशत नसर्ने रोगबाट

Published

on

स्वास्थ्यसम्बन्धी सरोकारवालाहरुको अन्तरक्रियालाई सम्बोधन गर्दै सूर्यविनायक नपाकी उपप्रमुख जूना बस्नेत ।

भक्तपुर । नेपालमा नसर्ने मुटु, क्यान्सर, मृगौला, उच्च रक्तचाप, मधुमेहजस्ता नसर्ने रोग भयावह स्थितिमा बढिरहेको छ । पाँच÷छ वर्षअघिसम्म महामारीको रुपमा लिने सर्ने रोगको कारण मर्नेहरुको संख्या अधिक थियो तर अहिले परिवर्तित नेपालीको जीवनशैली तथा खानपानले नसर्ने रोगको कारण मर्नेहरुको संख्या अधिक हुन थालेको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिले बिरामी भएर मर्नेमध्ये ६० प्रतिशत नसर्ने रोगका मर्छन् । उक्त तथ्यांकअनुसार एकतिहाइ नेपालीमा उच्च रक्तचापको समस्या रहेको छ । यो अस्पताल तथा स्वास्थ्य संस्थाको बहिरंग सेवाका जाँच गराउन जानेहरुको ८० प्रतिशत हो । जुन जनस्वास्थ्यमा भयावहको स्थिति हो ।
उच्च रक्तचापकै कारण धेरैको मृगौला फेल हुने समस्या बढेको छ । मुटुरोगलाई बढाइरहेको छ । त्यसैले नसर्ने रोगहरु हुनबाट जोगाउन स्वास्थ्य मन्त्रालयले मेरो वर्ष २०७४÷७५ अघि सारेको छ । यस अभियानलाई आर्थिक वर्ष २०७५÷७६ मा समेत निरन्तरता दिइने भएको छ ।
उक्त अभियानअन्तर्गत स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले भक्तपुरको सूर्यविनायक नपामा सरोकारवाला निकायहरुसँग अन्तरक्रिया गरेको छ ।
कार्यक्रममा स्वास्थ्य संस्थामा जँचाउन जाने बिरामीहरुमध्ये ४४ प्रतिशतमा नसर्ने रोग देखिएको जानकारी दिइएको थियो । कार्यक्रमका सहजकर्ता स्वास्थ्य सञ्चारकर्मी उद्धवराज भेटवालले दूषित एवं प्रदूषणमूलक वातावरण तथा धुँवाधूलोको कारण पनि नसर्ने रोगको भयावह बढिरहेको बताए ।
उनका अनुसार ग्रामीण क्षेत्रका ७४ प्रतिशत नेपाली अझै काठ दाउरा बालेर खाना पकाउँछन् । त्यस्तै ४३ प्रतिशतमा सासप्रस्वाससम्बन्धी समस्या छ । १८.५ प्रतिशत नेपाली धूमपानका अम्मली छन् । १७ प्रतिशत रक्स्याहा छन् । १८ प्रतिशतमा मोटोपनको समस्या र ७ प्रतिशतमा अति मोटोपना छ । मोटो शरीरलाई रोगको घर पनि भनिन्छ ।
नसर्ने रोग भएपछि उपचारमा जानुभन्दा रोगै लाग्न नदिने उद्देश्यले स्वास्थ्य मन्त्रालयले ‘मेरो वर्ष’ नामक स्वास्थ्य अभियान सञ्चालन गरेको सहजकर्ता भेटवालको भनाइ थियो ।
‘रोग लागेपछि उपचारको लागि सबै सचेत र सजग छन्’, उनले भने, ‘तर रोगै लाग्न नदिनेतर्फ धेरैको ध्यान पुगिरहेको छैन ।’
सरकारले पनि नसर्ने रोगको उपचार गर्न अनुदानको व्यवस्था गरे पनि उक्त रोग हुन नदिनेतर्फ कममात्रै ध्यान दिएको उनको भनाइ थियो ।
कार्यक्रममा भक्तपुरको सूर्यविनायक नपाकी उपमेयर जूना बस्नेतले सूर्यविनायकभित्र भएका रोग तथा रोगीहरुको पहिचान गर्न तथ्यांक संकलन गरिएको जानकारी दिइन् । उक्त तथ्यांकको आधारमा नपाले स्वास्थ्यसम्बन्धी गुरुयोजना नै बनाएर अघि बढ्ने उनको भनाइ थियो ।
‘नगरवासीहरुलाई नियमित स्वास्थ्य परीक्षणको बानी लगाउन प्रत्येक महिना निःशुल्क स्वास्थ्य शिविर गर्ने नपाको नीति रहेको छ’, उपप्रमुख बस्नेतले भनिन्, ‘यसको लागि नगरभित्रका प्रत्येक स्वास्थ्य चौकीहरुलाई जिम्मेवारी दिइनेछ ।’
सूर्यविनायक नपामा आठ वटा स्वास्थ्य चौकी रहेका छन् । जसमध्ये दधिकोटस्थित स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा विकास गर्ने नपाको लक्ष्य रहेको उनले सुनाइन् ।
कार्यक्रममा सहभागी सूर्यविनायक नपा ८ वडाकी कार्यबाहक अध्यक्ष तारा बस्नेत, महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब निरीक्षक रत्नबहादुर थापामगरलगायतले सरकारले नै निःशुल्क रुपमा नियमित स्वास्थ्य परीक्षणको व्यवस्थ ागर्न सके नसर्ने रोगको भयावह न्यूनीकरण हुँदै जाने धारणा राखे ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!