Connect with us

HEALTH

दुई दिनमा १० हजार ४३ ले लिए खोप

Published

on

फाइल तस्वीर

भक्तपुर । भक्तपुरका ६० देखि ६४ वर्ष उमेर समूहका १० हजार ४३ जनाले कोरोना भाइरसविरुद्धको खोप लिएका छन् । मंगलबार र बुधबार गरी दुईदिन चलेको खोप कार्यक्रममा भक्तपुरका उक्त संख्याले चीन सरकारले सहयोग गरेको भेरोसेल खोपको पहिलो मात्रा लगाएका हुन् ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार पहिलो दिन ५ हजार ३०७ जना र दोस्रो दिन ४ हजार ७३६ जनाले खोप लगाएका हुन् ।
कार्यालयका प्रमुख कृष्ण मिजारले दुईदिन खोप कार्यक्रमअन्तर्गत भक्तपुरमा लक्ष्यभन्दा ५५२ जना कमले खोप लगाएको जानकारी दिए । उनका अनुसार यहाँका ४ नपाका १० हजार ५९५ जनालाई खोप दिने लक्ष्य लिइएको थियो । जसअनुसार मध्यपुर थिमि नपाका २ हजार ९१९ जना, भक्तपुर नपाका २ हजार ९०२ जना, सूर्यविनायक नपाका २ हजार ७४७ जना र चाँगुनारायण नपाका २ हजार २७ जना ६० देखि ६४ वर्ष उमेर समूहलाई खोप दिने लक्ष्य रहेको थियो ।
कार्यालय प्रमुख मिजारले दुईदिने खोप कार्यक्रमबाट मध्यपुर थिमि नपाले ३ हजार २६५ जना र सूर्यविनायक नपाले ३ हजार ३८ जनालाई खोप दिएको बताए । भक्तपुर नपाले एकहजार ९७५ र चाँगुनारायण नपाले एकहजार ७६५ जनालाई खोप दिएको उनको भनाइ छ ।
भक्तपुरका ४ नपाले ३८ वटा वडामा खोप केन्द्र निर्धारण गरेका थिए । जसमध्ये भक्तपुर र सूर्यविनायकले १०–१० र मध्यपुर तथा चाँगुनारायण नपाले ९–९ वटा वडामार्फत खोप दिएका थिए ।
यसअघि भक्तपुरका १८ वर्षमाथिका ४८ हजार २२ जनाले चीन सरकारबाट सहयोगस्वरुप नै प्राप्त भेरोसेल खोपको पूरा मात्रा लिइसकेका छन् । जसमा भक्तपुर नपाले १६ हजार ११८, सूर्यविनायकले १२ हजार ४५०, मध्यपुर थिमिले ११ हजार ३१५ र चाँगुनारायण नपाले ८ हजार १३९ जनालाई भेरोसेल खोपको पूरा मात्रा दिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख मिजारले भक्तपुरबाट कोभिड १९ विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र नेपाल विद्युत प्राधिकरण तथा नेपाल टेलिकमका कर्मचारी गरी ५ हजार ५७५ जनाले कोभिशिल्ड खोपको पूरा मात्रा लगाइसकेका बताए ।
तर कोभिशिल्ड खोपकै पहिलो मात्रा लिएका ७४ वर्ष माथिका ५ हजार ८२७ भक्तपुरवासीले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!