Connect with us

HEALTH

भक्तपुरका थप १० हजार ५९५ जनालाई कोरोनाविरुद्धको खोप

Published

on

कोभिड १९ विरुद्धको खोप लगाउन चाँगुनारायण नपा ५ स्थित छालिङ स्वास्थ्य चौकीमा पालो पर्खँदै स्थानीय ।

भक्तपुर । भक्तपुरका ६० देखि ६४ वर्ष उमेर समूहका थप १० हजार ५९५ जनाले कोरोना भाइरसविरुद्धको खोप पाउने भएका छन् । यस उमेर समूहले चीन सरकारबाट सहयोगस्वरुप प्राप्त भेरोसेल खोपको पहिलो मात्रा पाउने भएका हुन् ।
यसअघि भक्तपुरका १८ वर्षमाथिका ४८ हजार २२ जनाले चीन सरकारबाट सहयोगस्वरुप नै प्राप्त भेरोसेल खोपको पूरा मात्रा लिइसकेका छन् । जसमा भक्तपुर नपाले १६ हजार ११८, सूर्यविनायकले १२ हजार ४५०, मध्यपुर थिमिले ११ हजार ३१५ र चाँगुनारायण नपाले ८ हजार १३९ जनालाई भेरोसेल खोपको पूरा मात्रा दिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख कृष्ण मिजारले मंगलबार र बुधबार भक्तपुरका ४ नपाका ३८ वटा खोप केन्द्रमार्फत ६० देखि ६४ वर्ष उमेर समूहका १० हजार ५९५ जनालाई भेरोसेल खोपको पहिलो मात्रा दिइने स्पष्ट पारे । दुईदिन भेरोसेल खोपको पहिलो मात्रा लिएकालाई ४ हप्तापछि दोस्रो मात्रा दिने सुनिश्चित गरिएको उनले बताए ।
प्रमुख मिजारले खोप लिने क्रममा हुनसक्ने भीडलाई दृष्टिगत गरी यहाँका ४ वटै नपाले आआफ्नो प्रत्येक वडामा खोप केन्द्र निर्धारण गरेको जानकारी दिए ।
उनका अनुसार मंगलबार र बुधबार भक्तपुरका ४ नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमि नपाका २ हजार ९१९ जनालाई भेरोसेल खोपको पहिलो मात्रा दिइने छ । मध्यपुर थिमि नपापछि भक्तपुरका २ हजार ९०२ जना ६० देखि ६४ वर्षकाले भेरोसेल खोप लगाउनेछन् ।
सूर्यविनायक नपाले २ हजार ७४७ जनालाई खोप दिँदा चाँगुनारायण नपाले २ हजार २७ जना ६० देखि ६४ वर्ष उमेरकालाई खोप दिने स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
कार्यालयका अनुसार भक्तपुरबाट कोभिड १९ विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र नेपाल विद्युत प्राधिकरण तथा नेपाल टेलिकमका कर्मचारी गरी ५ हजार ५७५ जनाले कोभिशिल्ड खोपको पूरा मात्रा लगाइसकेका छन् ।
तर कोभिशिल्ड खोपकै पहिलो मात्रा लिएका ७४ वर्ष माथिका ५ हजार ८२७ भक्तपुरवासीले दोस्रो मात्रा लगाउन पाएका छैनन् । सरकारले यो उमेर समूहलाई कोभिशिल्डसँगै मिल्दोजुल्दो एस्ट्राजेनेका खोप दिने बताएको छ तर त्यसको पनि सुनिश्चितता नहुँदा ज्येष्ठ नागरिकहरुले चिन्ता व्यक्त गरेका छन् ।
दोस्रो मात्रा लगाउने समय धेरै धर्किँदा पनि खोप लगाउने निश्चित नहुँदा उनीहरु आक्रोशितसमेत छन् ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!