Connect with us

HEALTH

एचआईभीलाई जनस्वास्थ्य समस्याको रुपमा लिन माग

Published

on

एचआईभी संक्रमितमाथि हुने लाञ्छना र भेदभाव विषयक अन्तरक्रियाका सहभागी ।

भक्तपुर । एचआईभी संक्रमणलाई जनस्वास्थ्य समस्याको रुपमा लिनुपर्ने माग गरिएको छ ।
एचआईभी÷एड्सको क्षेत्रमा कार्यरत सुरुवात सामुदायिक उपचार तथा पुनःस्थापना केन्द्रद्वारा आयोजित संक्रमितमाथि हुने लाञ्छना र भेदभाव विषयक अन्तरक्रियाका सहभागीहरुले उक्त माग गरेका हुन् ।
जिल्लास्थित सरोकारवाला निकाय, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको कार्यक्रममा उनीहरुले सरकारले एचआईभी संक्रमणलाई जनस्वास्थ्य समस्याको रुपमा नलिँदा अझै धेरै संक्रमितहरु लुकेर बसेको स्पष्ट पारे ।
उनीहरुले लाञ्छना र भेदभाव हुने डरले नै एचआईभी संक्रमितहरु खुल्न नसकेको दावी गरे ।
‘धेरै एचआईभी संक्रमितहरुले आफूहरु खुल्दा के पाइन्छ भनी प्रश्न गर्छन् । बरु खुल्दा समाजबाट लाञ्छना र भेदभाव हुने उनीहरुको डर छ’, उनीहरुले भने, ‘त्यसैले एचआईभी संक्रमणलाई पनि जनस्वास्थ्य समस्या मान्न ढिला भइसक्यो । त्यससँगै खुलेका संक्रमितहरुलाई जिविकोपार्जन भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउनुपर्छ ।’
उनीहरुले संविधानले स्थानीय तहलाई स्वास्थ्यको जिम्मा दिएकाले ऐन नै व्यवस्था गरेर एचआईभी संक्रमितको जीविकोपार्जन र उपचारको जिम्मा स्थानीय तहलाई नै दिनेपर्ने मागसमेत गरे ।
‘संक्रमितहरु लुकेर बस्दा उनीहरुबाट थप संक्रमण हुने जोखिमको स्थिति भयावह छ’, सुरुवातका कार्यक्रम संयोजक पन्नोश शर्माले भने, ‘संक्रमितहरु नखुल्दा सन् २०२० भित्र ९० प्रतिशत संक्रमितलाई उपचारको पहुँचमा ल्याउने सरकारको लक्ष्यसमेत पूरा नहुने सम्भावना बढेको छ ।’
सरकारले एचआईभी संक्रमितहरुले खाने एआरभी औषधि निःशुल्क उपलब्ध गराउँदा पनि संक्रमित नखुल्नु चुनौतीपूर्ण रहेको उनको भनाइ थियो ।
कार्यक्रम संयोजक शर्माले भक्तपुरको एचआईभी संक्रमित र लागूपदार्थ दुव्र्यसनीको क्षेत्रमा सुरुवातले गर्दै आएको कार्यक्रमबारे प्रस्तुतीकरण प्रस्तुत गरेका थिए ।
त्यस्तै पत्रकार ईश्वरकाजी खाइजूले भक्तपुरमा एचआईभीको अवस्थाबारे प्रस्तुतीकरण गर्दै अनुमानित गरिएभन्दा भक्तपुरमा दस प्रतिशतमात्रै एचआईभी संक्रमित खुलेको जानकारी दिए ।
उनका अनुसार भक्तपुरमा करिब एक हजार पाँच सय एचआईभी संक्रमित रहेको अनुमान गरिन्छ । तर राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको २०६४ साल असारसम्मको तथ्यांकमा एकसय ४७ जनाको मात्रै रिपोर्टिङ भएको उनले सुनाए ।
‘सरकारी तथ्यांकअनुसार भक्तपुरमा एकसय ४७ जना एचआईभी संक्रमितको पहिचान भए पनि एकसय १५ जनामात्रै उपचारको पहुँचमा आएका छन्’, उनले भने, ‘जसमध्ये ३६ जनाले भक्तपुर अस्पतालस्थित एआरटी सेन्टरबाट एआरभी खान्छन् । बाँकी लाञ्छना र भेदभाव हुने डरले काठमाडौं, ललितपुर र काभ्रेका स्वास्थ्य संस्थाबाट एआरभी खाइरहेका छन् ।’
समाजबाट लाञ्छना र भेदभावसँगै सामाजिक मान प्रतिष्ठामा आँच पुग्ने विविध कारणले संक्रमितहरु खुल्न नसकेको उनको भनाइ थियो ।
उनका अनुसार भक्तपुरका चार नपामध्ये सूर्यविनायक नपामा सबैभन्दा बढी ३६ जना एचआईभी संक्रमित छन् । त्यसपछि भक्तपुर नपामा ३१, मध्यपुर थिमी नपामा ३० र चाँगुनारायण नपामा २१ जना एचआईभी संक्रमित रहेको जानकारी दिए ।
त्यस्तै एचआईभी संक्रमित १२ जना बालबालिका खुलेका छन् । उनीहरुले सरकारमार्फत मासिक एक हजार रुपैयाँ निर्वाहभत्ता पाउँदै आएका छन् ।
कार्यक्रममा स्वास्थ्यकर्मी डा. संगम खाइजू, नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव कृष्णप्रसाद नेपालसँगै सञ्चारकर्मीहरु कृष्ण किसी, राजुसिंह बजिको, हरिसुन्दर छुकां, सञ्जिव दुलाललगायतले स्थानीय तहलाई एचआईभी संक्रमितहरुको जीविकोपार्जनको लागि सहयोग उपलब्ध गराउन दबाब दिनुपर्ने धारणा राखे ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!