Connect with us

HEALTH

साढे १७ हजारले लगाए भेरोसेलको दोस्रो मात्रा

Published

on

फाइल तस्बिर

भक्तपुर । भक्तपुरका १७ हजार ५२५ जनाले कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाएका छन् । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार यहाँका ४ नपामा जारी खोप कार्यक्रमअन्तर्गत हालसम्म उक्त संख्याले भेरोसेलको दोस्रो मात्रा लगाएका हुन् ।
कार्यालयका प्रमुख कृष्ण मिजारले भक्तपुरका ४४ हजार ३०३ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएको जानकारी दिए । हाल सोही संख्यालाई दोस्रो मात्राको खोप दिने कार्य यहाँका ४ वटै नपामा भइरहेको छ ।
यहाँका ४ नगरपालिकाले १० दिनभित्र भेरोसेलको दोस्रो मात्रा दिइसक्ने गरी तालिका बनाएका छन् । जसअनुसार मध्यपुर थिमि नपाले जेठ २, सूर्यविनायकले जेठ ४, चाँगुनारायणले जेठ ५ गते र भक्तपुर नपाले जेठ ६ गतेदेखि खोप कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् ।
मध्यपुर थिमि र चाँगुनारायण नपाका नौनौ वटा वडा र भक्तपुर तथा सूर्यविनायकका १०–१० वटा वडामा खोप केन्द्र निर्धारण गरिएका छन् । जसअनुसार पछिल्लोपटक एकैदिन ४ हजार ३७६ जनाले भेरोसेलको दोस्रो मात्रा लगाएको स्वास्थ्य कार्यालय प्रमुख मिजारले जानकारी दिए ।
जसअनुसार सूर्यविनायक नपामा एकहजार ३८३ जना, भक्तपुर नपामा एकहजार २३३ जना, मध्यपुर थिमि नपामा ९७६ जना र चाँगुनारायण नपामा ७८४ जनाले दोस्रो मात्रा लगाएका छन् ।
भक्तपुरमा गएको वर्षको चैत २५ गतेदेखि वैशाख १६ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाउने खोप कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा १८ वर्षमाथिका ४४ हजार ३०३ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए । जसमध्ये भक्तपुर नपाले मात्रै २२ हजार ७८२ जना पहिलो मात्रा दिएको थियो ।
‘चाँगुनारायण नपाले ८ हजार ५४३ जना र मध्यपुर थिमि नपाले ७ हजार २१३ जनालाई पहिलो मात्रा खोप दिएको थियो’, स्वास्थ्य कार्यालय प्रमुख मिजारले भने, ‘सूर्यविनायक नपाले ५ हजार ७६५ जनालाई खोप लगाएको थियो ।’
पहिलो मात्रा दिएको आधारमा भक्तपुरका ४ वटै नपाले सोहीअनुसार दोस्रो मात्रासमेत दिने उनले स्पष्ट पारे ।
भक्तपुरमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ८४१ पुगेका छन् । जसमध्ये सक्रिय संक्रमित ४ हजार ६३८ रहेका छन् ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!