Connect with us

HEALTH

भक्तपुरका ४४ हजार ३०३ जनालाई भेरोसेल खोपको दोस्रो मात्रा

Published

on

मध्यपुर थिमि नपा १ स्थित बीपी नेत्र प्रतिष्ठानमा भेरोसेल खोपको दोस्रो मात्रा लगाइदिँदै स्वास्थ्यकर्मी । तस्बिर : इन डेप्थ

भक्तपुर । भक्तपुरका ४४ हजार ३०३ जनालाई कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा दिइने भएको छ । यहाँका ४ नगरपालिकाले यी संख्यालाई १० दिनभित्र भेरोसेलको दोस्रो मात्रा दिइसक्ने स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
कार्यालयका अनुसार भक्तपुरमा गएको वर्षको चैत २५ गतेदेखि वैशाख १६ गतेसम्म सञ्चालित खोप कार्यक्रममा ४४ हजार ३०३ जनाले भेरोसेल खोपको पहिलो मात्रा लिएका थिए । सोहीअनुसार भक्तपुर नपाले मात्रै २२ हजार ७८२ जनालाई दोस्रो मात्रा दिनुपर्नेेछ । त्यस्तै चाँगुनारायण नपाले ८ हजार ५४३ जना, मध्यपुर थिमि नपाले ७ हजार २१३ र सूर्यविनायक नपाले ५ हजार ७६५ जनालाई दोस्रो मात्राको खोप दिने स्वास्थ्य कार्यालय प्रमुख कृष्ण मिजार बताउँछन् ।
पहिलो मात्रा दिएको आधारमा भक्तपुरका ४ वटै नपाले सोहीअनुसार दोस्रो मात्रासमेत दिने उनको भनाइ छ ।
भक्तपुरमा सबैभन्दा पहिले मध्यपुर थिमि नपाले जेठ २ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा दिएको छ । मध्यपुर थिमिका ९ वटा वडामा रहेका स्वास्थ्य चौकी, सहरी स्वास्थ्य क्लिनिक, अस्पताल र वडा कार्यालयहरुमा खोप दिँदै आएको नपाका सूचना अधिकारी केशव सिलवालले जानकारी दिए ।
उनका अनुसार मध्यपुर थिमि नपामा जेठ २ देखि ११ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ । यहाँ गएको वर्ष चैत २५ देखि वैशाख १५ गतेसम्म पहिलो मात्रा दिइएको थियो ।
त्यस्तै सूर्यविनायक नपाले जेठ ४ देखि ११ गतेसम्म आफ्नो नगर क्षेत्रका बासिन्दालाई दोस्रो मात्रा दिनेछ । नपाका स्वास्थ्य संयोजक विक्रम मगरले वैशाख ४ देखि १४ गतेसम्म पहिलो मात्रा लगाएकालाई उक्त दिनभित्र नपाका प्रत्येक वडामा दोस्रो मात्रा दिइने जानकारी दिए ।
उनका अनुसार सूर्यविनायक नपाका ९ वटै वडामा रहेका स्वास्थ्य चौकी तथा नगरपालिका अस्पतालले खोपको दोस्रो मात्रा दिनेछन् ।
चाँगुनारायण नपाले जेठ ५ र भक्तपुर नपाले जेठ ६ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा दिने तयारी गरेका छन् । चाँगुनारायण नपाका ९ वटा वडामा रहेका स्वास्थ्य चौकी र सहरी क्लिनिकमा खोप केन्द्र निर्धारण गरिएको छ । उसले जेठ ५ देखि १३ गतेसम्म सबै खोप केन्द्रहरुबाट खोप दिने तालिका सार्वजनिक गरेको छ । यहाँ वैशाख ५ देखि १३ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा दिइएको नपाका जनस्वास्थ्य अधिकृत सत्यकुमार दुवालले जानकारी दिए ।
भक्तपुर नपाले भने निर्वाचन मतदान केन्द्र र खुला क्षेत्रलाई खोप केन्द्र तोकेका छन् । भक्तपुर नपामा जेठ ६ देखि १७ गतेसम्म खोप दिने तालिका बनाइएको छ । यसबीचमा छुटेकालाई भने १८ गते लगाइने भक्तपुर नपाले जनाएको छ ।
भक्तपुर नपामा वैशाख ४ देखि १५ गतेसम्म खोपको पहिलो मात्रा दिइएको थियो ।
भक्तपुरमा हालसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ९६४ जना पुगेका छन् । त्यस्तै अहिलेसम्म संक्रमण पुष्टि हुने संख्या १७ हजार ९ सय ७१ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । कुल संक्रमितमध्ये ६ हजार ६११ जना पुरुष र ५ हजार २०५ जना महिला गरी ११ हजार ८१६ जना संक्रमित डिस्चार्ज भएका छन् ।
कार्यालयका अनुसार भक्तपुरमा १२७ जना पुरुष र ६४ जना महिला गरी १९१ जना संक्रमितको मृत्यु भएको छ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!