Connect with us

HEALTH

भक्तपुरमा दस दिनपछि संक्रमितको मृत्यु शून्य

Published

on

File Photo

भक्तपुर । भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण लगातार दसदिनपछि आइतबार शून्य मृत्यु भएको छ । स्वास्थ्य कार्यालय भक्तपुरको तथ्यांकअनुसार यहाँ वैशाख २३ गतेदेखि दैनिक संक्रमितको मृत्यु भइरहेको थियो । जुन सिलसिला जेठ १ गतेसम्म जारी रहेको थियो तर आइतबार जेठ २ गते उक्त सिलसिलामा ‘ब्रेक’ भएको हो ।
कार्यालयका प्रमुख कृष्ण मिजारले भक्तपुरमा आइतबार एकसय ८८ जना नयाँ संक्रमित थपिँदा कुनै पनि संक्रमितको ज्यान नगएको जानकारी दिए ।
भक्तपुरमा वैशाख २८ गते अहिलेसम्मकै सबैभन्दा बढी ९ जना संक्रमितको मृत्यु भएको थियो । त्यस्तै वैशाख ३० गते ६ जना, वैशाख २९ गते ५ जना, वैशाखकै २६ र ३१ गते ४–४ जना संक्रमितले ज्यान गुमाउँदा बैशाख २७ गते ३ जना संक्रमितको मृत्यु भएको थियो ।
जेठ महिनाको पहिलो दिन भने ५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख मिजार बताउँछन् । ‘तर जेठ २ गते मृत्यु शून्य रह्यो’, उनले भने ।
उनका अनुसार भक्तपुरमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १८३ पुगेको छ । जसमा पुरुष ११९ जना र महिला ६४ जना रहेका छन् ।
यहाँका ४ नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमिका ४७ जना पुरुष र २० जना महिला गरी ६७ जना संक्रमितको ज्यान गएको छ । भक्तपुरका ३३ जना पुरुष र २१ जना महिला गरी ५३ जना तथा सूर्यविनायक नपाका २९ जना पुरुष र १७ जना महिला गरी ४६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाउँछ । सबैभन्दा कम चाँगुनारायण नपाका १० जना पुरुष र ६ जना महिला गरी १६ जना संक्रमितले ज्यान गुमाएका छन् ।

संक्रमितभन्दा डिस्चार्ज हुने बढी

कार्यालयको तथ्यांकअनुसार भक्तपुर थपिने नयाँ संक्रमितको संख्याभन्दा डिस्चार्ज हुनेहरु केही बढेका छन् । पछिल्लो समय १८८ जना नयाँ संक्रमित थपिँदा २८२ जना डिस्चार्ज भएको कार्यालय प्रमुख मिजारले बताए ।
तर समग्र संक्रमितको संख्याको तुलनामा डिस्चार्ज हुने संख्या चित्तबुझ्दो नभएको उनले सुनाए । भक्तपुरमा कुल संक्रमितको ६९.७३ प्रतिशतमात्रै डिस्चार्ज भएका छन् । जबकि नेपालमा कुल संक्रमितको डिस्चार्ज हुने दर ७४.४ प्रतिशत रहेको छ । भक्तपुर र नेपालको संक्रमितको मृत्युदर भने समान १.१ प्रतिशत रहेको छ ।
भक्तपुरमा हालसम्म संक्रमितको संख्या १६ हजार ६३२ पुगेको छ । जसमा ९ हजार १६९ जना पुरुष र ७ हजार ४६३ महिला रहेका छन् । यसमध्ये ६ हजार ४९१ जना पुरुष र ५ हजार १०८ जना महिला गरी ११ हजार ५९९ जना संक्रमित डिस्चार्ज भएका छन् ।

४ हजार ८५० जना सक्रिय संक्रमित

भक्तपुरमा सक्रिय संक्रमितको संख्या ४ हजार ८५० जना रहेका छन् । जसमा २ हजार ५५९ जना पुरुष र २ हजार २९१ जना महिला रहेका छन् । यहाँका ४ नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमिमा एकहजार ६४२ जना सक्रिय संक्रमित रहेका छन् । सूर्यविनायकमा एकहजार ३३२ जना, भक्तपुरमा ८६२ जना र चाँगुनारायण नपामा ५८९ जना सक्रिय संक्रमित छन् ।
सक्रिय संक्रमितमध्ये २३५ पुरुष र १९० महिला गरी ४२५ जना सम्पर्क बाहिर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यहाँका १५५ जना पुरुष र १०९ जना महिला गरी २६४ जना सक्रिय संक्रमित अस्पताल तथा नपाको आइसोलेसन सेन्टरमा उपचाररत छन् । यो कुल सक्रिय संक्रमितको ५.४४ प्रतिशतमात्रै हो । ९४.५६ प्रतिशत अर्थात ४ हजार ५८६ जना सक्रिय संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयका प्रमुख मिजारले जानकारी दिए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!