Connect with us

HEALTH

भक्तपुरमा एकैदिन नौ संक्रमतिको मृत्यु

Published

on

फाइल तस्वीर

भक्तपुर । भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण भएको मृत्युदर निरन्तर बढेको छ । मंगलबार नयाँ थपिएको संक्रमितको संख्याको ३.३९ प्रतिशत मृत्युदर रह्यो । २ सय ६५ जना नयाँ संक्रमित थपिँदा मंगलबार नौजना संक्रमितले ज्यान गुमाए । भक्तपुरमा यो संख्या कोरोना भाइरस संक्रमणका कारण मर्नेहरुको अहिलेसम्मकै सबैभन्दा बढी हो ।
यसअघि एकैदिन ६ जना संक्रमितको मृत्यु भएको थियो । गएको पाँच दिनदेखि भक्तपुरमा लगातार संक्रमितको मृत्यु भइरहेको छ । अस्पताल तथा स्वास्थ्य संस्थामा संक्रमितले शय्या पाउन सकिरहेका छैनन् । अस्पताल पुगेकाहरुले समेत अक्सिजन ग्यास पाउन सकेका छैनन् ।
अक्सिजन नपाएरै संक्रमितहरुले मृत्यु रोज्न बाध्य भइरहेका छन् । आईसीयू र भेन्टिलेटरसम्म पुग्न पाउने संक्रमित भाग्यमानी ठहरिने अवस्था आएको छ ।
नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमण फैलिएपछि भक्तपुरमा संक्रमणसँगसँगै मृत्युदर पनि बढिरहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
कार्यालयका अनुसार मंगलबार एकैदिन ९ जना संक्रमितको मृत्यु भएसँगै भक्तपुरमा संक्रमणकै कारण मर्नेको संख्या एकसय ६३ पुगेको छ । जसमा एकसय ५ पुरुष र ५८ जना महिला रहेको कार्यालय प्रमुख कृष्ण मिजारले जानकारी दिए ।
उनका अनुसार मंगलबार ५ महिला र ४ पुरुष संक्रमितको ज्यान गएको छ । जसमध्ये भक्तपुरका चार नपामध्ये सूर्यविनायकका मात्रै २ पुरुष र २ महिला गरी ४ जना संक्रमितको मृत्यु भएको प्रमुख मिजारले बताए ।
मध्यपुर थिमि नपाका २ पुरुष र एक महिला संक्रमितको मृत्यु हुँदा भक्तपुर र चाँगुनारायण नपाका एकएक जना संक्रमित महिलाको मृत्यु भएको उनको भनाइ छ ।
अहिलेसम्म भक्तपुरमा सबैभन्दा बढी मध्यपुर थिमि नपाका संक्रमितको मृत्यु भएको छ । यहाँका ३८ पुरुष र १७ महिला गरी ५५ जना संक्रमितले ज्यान गुमाएका छन् ।
मध्यपुर थिमिपछि भक्तपुर नपाका ३२ पुरुष र २० महिला गरी ५२ जना, सूर्यविनायकका २५ पुरुष र १६ महिला गरी ४१ जना तथा चाँगुनारायण नपाका १० पुरुष र ५ महिला गरी १५ जना संक्रमितको मृत्यु भएको छ ।

सक्रिय संक्रमित ४ हजार २ सय ३२ जना

भक्तपुरमा २ हजार २ सय ६३ पुरुष र एकहजार ९ सय ६९ महिला गरी ४ हजार २ सय ३२ जना सक्रिय संक्रमित पुगेका छन् । सक्रिय संक्रमितमध्ये एकसय २६ पुरुष र एकसय जना महिला गरी २ सय २६ जना अस्पताल तथा नपाले सञ्चालन गरेको आइसोलेसनमा रहेका छन् । यो कूल संक्रमितको ५ प्रतिशतमात्रै हो । बाँकी ९५ प्रतिशत सक्रिय संक्रमित होम आइसोलेसनमा बसेका छन् । चाहेर पनि अस्पताल पुग्न नसकिने स्थिति आएपछि होम आइसोलेसनमा बस्नेहरुको संख्या अत्यधिक बढेको स्वास्थ्य कार्यालयका प्रमुख मिजार बताउँछन् ।
भक्तपुरमा कोरोना संक्रमितको संख्या १५ हजार नजिक पुगेको छ । यहाँ ८ हजार २ सय ९४ पुरुष र ६ हजार ६ सय ५५ महिला गरी १४ हजार ९ सय ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छन् । त्यस्तै ५ हजार ९ सय २६ पुरुष र ४ हजार ६ सय ६८ महिला गरी १० हजार ५ सय ९४ जना अर्थात ७० प्रतिशत संक्रमित डिस्चार्ज भएका छन् । दोस्रो लहर सुरु नहुँदा ९६ प्रतिशतसम्म पुगेको डिस्चार्ज दर अहिले घटेर ७० प्रतिशतमा झरेको हो ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!