Connect with us

HEALTH

भक्तपुरमा ५,३०१ ले पाए कोरोनाविरुद्धको खोप

Avatar

Published

on

इन डेप्थ फाइल तस्बिर

भक्तपुर । भक्तपुरका ५ हजार ३ सय एक जनाले कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाएका छन् । पहिलो चरणमा २ हजार ४ सय ७२ र दोस्रो चरणमा थप २ हजार ८ सय २९ जना गरी अहिलेसम्म ५ हजार ३ सय एकजनाले खोप लगाएका हुन् ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार पहिलो चरणमा भन्दा दोस्रो चरणमा भक्तपुरमा उत्साहजनक ढंगले कोभिड १९ विरुद्धको खोप लगाइएको छ ।
पहिलो चरणमा खोप लगाउँदै धेरैजसोमा ज्वरो आउने जस्ता सामान्य लक्षण देखिएको थियो जसले गर्दा पहिलो चरणमा ५८ प्रतिशत स्वास्थ्यकर्मीहरुले खोप नै लगाएका थिएनन् ।
पहिलो चरणमा खोप नलगाएका एकसय ५३ स्वास्थ्यकर्मीले दोस्रो चरणमा खोप लगाएको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।
दोस्रो चरणमा ९८ महिला र ५५ पुरुष स्वास्थ्यकर्मीहरुले खोप लगाएको उनले बताए ।
सरकारले दोस्रो चरणमा सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरु, प्रहरीलगायतलाई खोप दिने व्यवस्था गरेको थियो । सोहीअनुसार अहिलेसम्म २ हजार ८ सय २९ जनाले दोस्रो चरणमा खोप लगाएको प्रमुख मिजारले जानकारी दिए ।
उनका अनुसार फागुन २ गतेदेखि सुरु भएको दोस्रो चरणको खोप दिने कार्यक्रम सोमबारसम्म जारी रहनेछ ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शव तथा एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई खोप दिइएको थियो ।
भक्तपुरमा दोस्रो चरणमा सबैभन्दा बढी नेपाल विद्युत प्राधिकरण तथा नेपाल टेलिकमका कर्मचारीहरुले खोप लगाएका छन् ।
स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार हालसम्म ४ सय ८० पुरुष र एकसय ८२ महिला गरी ६ सय ६२ जना विद्युत तथा टेलिकमका कर्मचारीहरुले खोप लगाएका छन् । सार्वजनिक संस्थानपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले बढी खोप लगाए । २ सय ९० पुरुष र २ सय ४८ महिला गरी ५ सय ३८ बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले खोप लगाएका छन् ।
त्यस्तै ३ सय ९१ पुरुष र ५७ महिला गरी ४ सय ४८ जनपद प्रहरीले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ८४ पुरुष र एकजना प्रहरी गरी ८५ जना सशस्त्र प्रहरीले कोभिड १९ विरुद्धको खाप लगाएका छन् ।
भक्तपुरका चार वटा नपाका जनप्रतिनिधि तथा नगरपालिका कर्मचारीहरुमध्ये हालसम्म ४ सय ३ जनाले खोप लगाएका छन् । जसमा २ सय ६७ पुरुष र एकसय ३६ महिला रहेका छन् । त्यस्तै २ सय २० पुरुष र एकसय ५१ महिला गरी ३ सय ७१ सरकारी कर्मचारीहरुले पनि निःशुल्क खोप लगाएका छन् ।
न्यायालयतर्फ ४२ पुरुष र २२ महिला गरी ६४ जनाले खोप लगाउँदा १६ पुरुष र २ महिला गरी १८ पत्रकार, निर्वाचन कार्यालयका ८ पुरुष कर्मचारीहरुले पनि खोप लगाएका छन् ।
सिद्धि शालीग्राम वृद्धाश्रमका ३३ महिला र १६ पुरुष गरी ४९ जना र मानव कल्याण सेवा घरका १६ पुरुष र ८ महिला गरी २४ जनाले पनि कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय प्रमुख मिजारले जानकारी दिए ।
उनका अनुसार दोस्रो चरणअन्तर्गत भक्तपुरमा करिब ५ हजार जनालाई खोप लगाउने लक्ष्य रहेको छ ।
भक्तपुरमा चारवटा नपामा चारवटा र भक्तपुर अस्पताल गरी ५ वटा खोप केन्द्रको व्यवस्था गरिएको छ । चार नपामध्ये भक्तपुरको लागि नपाले चलाएको जनस्वास्थ्य केन्द्र, मध्यपुर थिमिको लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र सूर्यविनायक तथा चाँगुनारायणको लागि तिनीहरुले सञ्चालनमा ल्याएको नगरपालिका अस्पतालमा खोप केन्द्र सञ्चालन गरिएको छ ।
भक्तपुरमा कोरोना भाइरस संक्रमण पुष्टि भएको संख्या भने ९ हजार ५ सय नाघेका छन् । स्वास्थ्य कार्यालयका अनुसार फागुन ८ सम्म यहाँ ५ हजार ३ सय ९२ पुरुष र ४ हजार एकसय ७५ महिला गरी ९ हजार ५ सय ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये ८२ पुरुष र ४५ महिला गरी एकसय २७ जनाको मृत्यु भएको प्रमुख मिजारले जानकारी दिए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!