Connect with us

HEALTH

अध्ययन भन्छ, सूर्तीजन्य पदार्थको कारण स्वास्थ्य उपचारमा वार्षिक ४० अर्ब खर्च

Avatar

Published

on

नेपालमा सूर्तीजन्य पदार्थको सेवनको प्रभावबारे नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गरिँदै । तस्बिरहरु : इन डेप्थ

काठमाडौं । नेपालमा सूर्तीजन्य पदार्थको सेवनले हुने रोगको उपचारमा मात्रै वार्षिक करिब ४० अर्ब खर्च हुने गरेको एक अध्ययनले देखाएको छ । जुन खर्च नेपालको कूल गार्हस्थ उत्पादनको १.५ प्रतिशत रहेको छ ।
नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको उक्त अध्ययनअनुसार उक्त खर्चमा उपचारमा जाँदा लाग्ने अन्य खर्च र समयको मूल्य नजोडिएको जनाएको छ ।
प्रतिष्ठानले ‘नेपालमा सूर्तीजन्य पदार्थको सेवनको प्रभाव’ भनी देशका ७७ वटै जिल्लामा नमुना अध्ययन गरेको थियो । करिब ३ वर्ष लगाएर गरिएको उक्त अध्ययन प्रतिवेदन सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिकसमेत गरिएको थियो । क्यान्सर सूर्तीजन्य पदार्थको सेवनले हुने प्रमुख रोग हो । त्यस्तै स्वासप्रश्वाससम्बन्धी रोग दोस्रो रहेको छ ।
विश्व क्यान्सर दिवस मनाउने सन्दर्भमा नेपाल अर्बुदरोग निवारण संस्थाद्वारा आयोजित पत्रकार सम्मेलनमा उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो ।
अध्ययनले नेपालमा सूर्तीजन्य पदार्थको अधिक प्रयोगले क्यान्सर जस्ता रोग बढेको औंल्याएको छ । उपचार महंगो हुँदा क्यान्सरकै कारण १६ प्रतिशत बिरामीले आफ्नो घरखेत गुमाउनुपरेको अध्ययनले देखाएको छ ।

‘क्यान्सर उपचार खर्च नेपालीहरुको वार्षिक औसत आम्दानीभन्दा पाँच गुणा बढी छ’, प्रतिष्ठानका कार्यकारी निर्देशक डा. जयकुमार गुरुङले भने, ‘त्यसैले क्यान्सर उपचारमा ८६ प्रतिशतले आर्थिक कठिनाइ भोगेका छन् । यसमा पनि ७५ प्रतिशतले उपचार खर्च जुटाउन ऋण लिएका छन् । ४८ प्रतिशत आफूसँग भएको सम्पत्ति बेच्न बाध्य छन् ।’
उनले क्यान्सर भएको पुष्टि भएपछि एकजना बिरामीको लागिमात्रै औसत ३ लाख ८८ हजार रुपैयाँ खर्च हुने अध्ययनले देखाएको जानकारी दिए । क्यान्सर रोग लागेका गरिब तथा बिपन्न बिरामीलाई सरकारले एकलाख रुपैयाँ उपचार खर्च उपलब्ध गराउँदै आएको छ ।
यस अध्ययनले सरकारले उपलब्ध गराउने उपचार खर्च वास्तविक खर्चभन्दा करिब ४ गुणा कम औंल्याएको छ ।
कार्यकारी निर्देशक डा. गुरुङले सूर्तीजन्य पदार्थको सेवन र क्यान्सरबाट हुने धनजनको क्षति तथा पीडितको आवाजलाई बाहिर ल्याउने उद्देश्यले अध्ययन गरिएको जानकारी दिए ।
स्वस्थ नागरिकविना सरकारको ‘सुखी नेपाली र समृद्ध नेपाल’ लक्ष्य प्राप्त नहुने भन्दै उनले सूर्तीजन्य पदार्थको सेवन र क्यान्सरबाट हुने क्षति आर्थिक रुपमा मात्रै नभई सामाजिक र मनोवैज्ञानिक रुपमा झन् बढी भयावह भएको स्पष्ट पारे ।
‘सूर्तीजन्य पदार्थ सेवनको कारण हुने रोगको उपचार गर्दागर्दै गरिब तथा बिपन्न वर्गका बालबालिकाले पढाइ नै छाड्नुपरेका धेरै उदाहरण छन्’, डा. गुरुङले थपे, ‘घरको अभिभावक नै रोगी भएपछि धेरै घरपरिवार गरिबीको भासमा जाकिएका छन् । कतिले भएको रोजगारी गुमाएका छन् ।’

सूर्तीजन्य पदार्थमा कर वृद्धि माग गर्दै हस्ताक्षर संकलन

कार्यक्रममा संस्थाका कार्यबाहक अध्यक्ष महेश श्रेष्ठले विश्व क्यान्सर दिवसलाई लक्षित गरी सूर्तीजन्य पदार्थमा सतप्रतिशत कर बढाउन माग गर्दै देशभर हस्ताक्षर संकलन कार्य भइरहेको जानकारी दिए ।
उनले सूर्तीजन्य पदार्थमा कर बढाउँदा त्यसको प्रयोगमा पनि उल्लेख्य कमी आएको विगतको परिणामको आधारमा संस्थाले यसलाई जोड दिँदै आएको बताए ।
‘संकलन गरिएको हस्ताक्षर विश्व क्यान्सर दिवसको दिन माघ २२ गते सरकारलाई बुझाउने कार्यक्रम रहेको छ’, कार्यवाहक अध्यक्ष श्रेष्ठले भने ।

गैरक्यान्सर चिकित्सकको धनजनको थप क्षति

संस्थाका पूर्वअध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले गैरक्यान्सर चिकित्सकहरुले समेत क्यान्सरका बिरामीको उपचार गर्दा धनजनको बढी क्षति भइरहेको सुनाए ।
उनले सरकारले क्यान्सर विशेषज्ञ चिकित्सकहरुले मात्रै क्यान्सरको उपचार गर्न पाउने व्यवस्था गर्नुपर्ने माग गरे ।
‘हामीकहाँ गैरक्यान्सरका चिकित्सकले समेत क्यान्सर उपचार गर्छन् । जसले गर्दा समयमै क्यान्सरको सही उपचार हुँदैन’, पूर्वअध्यक्ष श्रेष्ठले भने, ‘क्यान्सरको सही उपचार नहुँदा बिरामीको खर्च बढ्दै जान्छ र अन्तमा बिरामीको मृत्युसमेत हुन्छ ।’

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!