Connect with us

HEALTH

भक्तपुरमा कोरोनाको कारण ६९ जनाको मृत्यु

Avatar

Published

on

File Photo

भक्तपुर । भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण २ दिनमा ५ जनाको मृत्यु भएको छ । यससँगै भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या ६९ पुगेको छ । जसमा पुरुष ४७ र महिला २२ रहेका छन् ।
स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बुधबार २ पुरुष र बिहीबार थप २ पुरुष र एक महिलाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको जानकारी दिए ।
भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण भएको मृत्युदर समग्र नेपालको भन्दा दोब्बर रहेको छ । बिहीबारसम्म भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण भएको मृत्युदर १.२३ प्रतिशत रहेको छ । जबकि नेपालको मृत्युदर ०.६ प्रतिशतमात्रै छ ।
भक्तपुरमा बिहीबार ४० पुरुष र ३२ महिला गरी ७२ जना नयाँ संक्रमित थपिएका छन् । तर स्वास्थ्य मन्त्रालयले भक्तपुरमा ९७ जना नयाँ संक्रमित थपिएको जनाएको थियो ।
स्वास्थ्य कार्यालयका अनुसार बिहीबारसम्ममा भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ५ सय ९६ जना पुगेको छ । जसमा ३ हजार एकसय ७५ पुरुष र २ हजार ४ सय २१ महिला रहेका छन् ।
भक्तपुरमा कोरोना भाइरस संक्रमण जित्नेहरुको संख्यामा उल्लेख्य सुधार आएको छ । बिहीबारसम्ममा भक्तपुरका ६७.३३ प्रतिशत संक्रमित डिस्चार्ज भएका छन् ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार बिहीबारसम्म २ हजार ८१ पुरुष र एकहजार ६ सय १८ महिला गरी ३ हजार ६ सय ९९ जना कोरोना भाइरस संक्रमण जितेर डिस्चार्ज भएका छन् ।
कार्यालयका प्रमुख मिजारले बिहीबारसम्म भक्तपुरमा एकहजार ८ सय २८ सक्रिय संक्रमित रहेको बताए । जसअनुसार एकहजार ४७ पुरुष र ७ सय ८१ महिला संक्रमित रहेको उनको भनाइ छ ।
प्रमुख मिजारले बुधबारसम्म सक्रिय संक्रमितमध्ये ८३.१९ प्रतिशत संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिए । उनका अनुसार ९ सय ७५ पुरुष र ७ सय ७२ महिला गरी एकहजार ७ सय ४७ जना होम आइसोलेसनमा बसेका हुन् ।
सक्रिय संक्रमितमध्ये २ सय २२ पुरुष र एकसय ३१ महिला गरी ३ सय ५३ जना अस्पताललगायतको आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM