Connect with us

HEALTH

भक्तपुरमा कोरोना जित्नेको रगत संकलन पुनः सुरु : प्रदेश सांसद थापाले दिए रगत

Avatar

Published

on

प्लाज्माथेरापीको लागि नेपाल रेडक्रस सोसाइटी भक्तपुरको ब्लड बैंकसम्म पुगेर रक्तदान गर्दै कोरोना जितेका प्रदेश सांसद शशिजंग थापा । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । कोरोना भाइरस संक्रमितहरुको प्लाज्माथेरापी उपचारको लागि नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले संक्रमण जितेकाहरुको रगत संंकलन पुनः सुरु गरेको छ ।
कोरोना भाइरस संक्रमण भएर गम्भीर अवस्थामा पुगेका बिरामीहरुको प्लाज्माथेरापीमार्फत उपचार हुँदै आएको छ । सोही उपचारको लागि संक्रमण जितेकाहरुको रगत पुनः संकलन गरिएको जिल्ला शाखाका सभापति मनोजकुमार थापाले जानकारी दिए ।
उनले बिहीबारमात्रै बागमती प्रदेश सांसद शशिजंग थापासहित तीन जना संक्रमण जितेकाहरुको रगत संकलन गरिएको बताए । भक्तपुर क्षेत्र नं. २ क का प्रदेश सांसद थापालाई समेत कोरोना भाइरस संक्रमण भएको थियो ।
उनले कोरोना भाइरस संक्रमण भई गम्भीर अवस्थामा पुगेका बिरामीहरुको जीवन रक्षा गर्न आफूले रगत दिएको सुनाए । उनी स्वयंस्फूर्त रुपमा रगत दिन भक्तपुर रेडक्रस पुगेका थिए ।
‘मेरो कारण कसैको जीवन बच्छ भने किन रगत नदिने ?’, प्रदेश सांसद थापाले भने, ‘अरु संक्रमितहरुले पनि रगत दिनुपर्छ । रक्तदान महादान हो ।’
बुधबार थापासँगै नेपाल औषधि व्यवसायी संघ भक्तपुरका अध्यक्ष नारायणप्रसाद भुसाल र पत्रकार लीला श्रेष्ठले रगत दिएका छन् ।
बिहीबारसम्म भक्तपुर रेडक्रसले ९ जना संक्रमण जितेकाहरुको रगत संकलन गरी प्लाज्मा तयार गरिएको भक्तपुर रेडक्रसका सभापति थापाले बताए ।
भक्तपुर रेडक्रसले गएको भाद्र २१ गतेदेखि प्लाज्मा तयार गर्न संक्रमितको रगत संकलन थालेको थियो । त्यसपछि स्वास्थ्य मन्त्रालयले चिकित्सकको सिफारिसविना संक्रमण जितेकाको रगत संकलन नगर्न निर्देशन दिएपछि रगत संकलन कार्य रोकिएको सभापति थापाले बताए ।
‘पछि भक्तपुर अस्पतालका चिकित्सकहरुको सिफारिसको आधारमा गएको मंगलबारदेखि पुनः संक्रमण जितेकाहरुको रगत संकलन थालेका हौं’, उनले भने, ‘अब यसलाई निरन्तरता दिन्छौं ।’
अहिलेसम्म कोरोना भाइरस संक्रमणको कुनै खोप तथा औषधि पत्ता लागेको छैन । तर संक्रमण भएर निको भएकाहरुको रगतको प्लाज्मा गम्भीर संक्रमितलाई दिँदा निको हुन थालेपछि अहिले प्लाज्माथेरापी गर्ने क्रम बढेको छ ।
प्लाज्माथेरापीको लागि रगत संकलन गर्न भक्तपुरका संक्रमण जितेकाहरुको सूची तयार गरिएको भक्तपुर रेडक्रसका मन्त्री परशुराम पाण्डे बताए ।
संक्रमित तथा उनको परिवारको मागको आधारमा सूचीकृत संक्रमण जितेकाहरुबाट रगत लिएर प्लाज्मा वितरण गरिने व्यवस्था मिलाइएको उनको भनाइ थियो ।
चिकित्सकहरुका अनुसार कोरोना भाइरस संक्रमण जितेकाहरुको रगतमा रोगप्रतिरोधी क्षमता विकास भइसकेको हुन्छ । त्यसैले उक्त रगतमा भएको प्लाज्मा अर्को संक्रमित व्यक्तिलाई दिँदा संक्रमणलाई चाँडै जित्ने उनीहरु बताउँछन् । उनीहरुको अनुसार यसरी प्लाज्माको लागि रगत दिनेहरु कोरोना भाइरस संक्रमणलाई जितेको १५ दिन पूरा भएको हुनुपर्छ ।
भक्तपुर रेडक्रसका अनुसार दैनिक ३–४ जना संक्रमित र संक्रमितका आफन्तले प्लाज्मा थेरापीको लागि रगत आवश्यक भएको भनी सम्पर्क गर्ने गरेका छन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM