Connect with us

HEALTH

भक्तपुरका ८३.९५ प्रतिशत संक्रमित होम आइसोलेसनमा

Avatar

Published

on

भक्तपुर । दसैं नजिकिएसँगै भक्तपुरमा पछिल्लो समय होम आइसोलेसनमा बस्ने कोरोना भाइरस संक्रमितहरुको संख्या बढेको छ ।
अस्पताल तथा अन्य आइसोलेसनमा बस्न जाँदा दसैं मनाउन नपाइने चिन्ताले लक्षणयुक्त संक्रमितहरुसमेत होम आइसोलेसन बस्न थालेका हुन् ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार यहाँका सक्रिय संक्रमितको ८३.९५ प्रतिशत अर्थात एक हजार ६ सय ३२ जना होम आइसोलेसनमा बसेका छन् ।
कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार आइतबारसम्म भक्तपुरका ८ सय ८९ पुरुष र ७ सय ४३ महिला होम आइसोलेसनमा बसेका हुन् । जबकि भक्तपुरमा एकहजार ९१ पुरुष र ८ सय ५३ महिला गरी एकहजार ९ सय ४४ जना सक्रिय संक्रमित रहेको मिजार बताउँछन् ।
उनका अनुसार सक्रिय संक्रमितमध्ये ५४.६८ प्रतिशत अर्थात एकहजार ६३ जना लक्षणयुक्त रहेका छन् । जसअनुसार ६ सय पुरुष र ४ सय ६३ महिला रहेका छन् ।
भक्तपुरमा अस्पतालको आइसोलेसनमा रहेका संक्रमितहरुको संख्या २ सय २ पुरुष र एकसय १० महिला गरी ३ सय १२ रहेका छन् ।
‘यहाँको अस्पताल तथा सरकार एवं नगरपालिकाले व्यवस्थापन गरेको आइसोलेसनमा शय्या खालि भए पनि संक्रमितहरु होम आइसोलेसनमै बढी बसेका छन्’, प्रमुख मिजारले भने, ‘दसैं नजिकिँदै छ । घरमा बस्दा घरपरिवारसँगै दसैं मनाउन पाइने देखेर पनि होम आइसोलेसनमा बसेको देखिन्छ ।’

८ सय ७१ शय्यामा ३ सय ३ मात्रै संक्रमित

भक्तपुरमा अस्पताल तथा सरकार एवं नगरपालिकाले व्यवस्थापन गरेको आइसोलेसन वार्डमा ८ सय ७१ शय्याको व्यवस्था छ । तर ३ सय ३ जना संक्रमितमात्रै ती आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार भक्तपुरका १३ वटा अस्पताल तथा स्वास्थ्य संस्थाले व्यवस्था गरेको आइसोलेसनमा एकसय ६८ शय्या रहेका छन् । जहाँ ५३ जनामात्रै संक्रमितको उपचार भइरहेको छ ।

१२ वटा भेन्टिलेटर पूरै खाली

भक्तपुरका ३ वटा अस्पतालमा रहेको १२ वटा भेन्टिलेटर पूरै खाली रहेकोसमेत प्रमुख मिजार बताउँछन् । उनका अनुसार भक्तपुर अस्पताल र काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल दुवाकोटमा ३÷३ र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ६ वटा भेन्टिलेटर रहेका छन् ।
त्यस्तै ती नै तीनवटा अस्पतालमा रहेको १९ शय्याको आईसीयूमा ६ जनामात्रै संक्रमित रहेका छन् । भक्तपुरमा १५ वटा आईसीयू खाली रहेको छ ।
‘भक्तपुर अस्पतालमा रहेको ४ शय्याको आईसीयूमा ६ जनामात्रै संक्रमितको उपचार भइरहेको छ’, प्रमुख मिजारले भने, ‘केएमसी दुवाकोटको ७ र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको ८ शय्याको आईसीयू अहिले खाली छन् ।’

७ वटा आइसोलेसन केन्द्रमा २ सय ५० संक्रमित

त्यस्तै भक्तपुरका ७ वटा छुट्टाछुट्टै आइसोलेसन केन्द्रमा २ सय ५० जना संक्रमित रहेका छन् । यी ७ वटा आइसोलेसनमा ७ सय ३ वटा शय्या रहेका छन् ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार २ सय क्षमताको खरिपाटी आइसोलेसनमा जम्मा २२ जना संक्रमित रहेका छन् । एकसय ५० क्षमताको सैनिक आवासीय महाविद्यालयमा ८२, एकसय ३० क्षमताको सैनिक तालिम प्रतिष्ठान खरिपाटीमा ४३, ७५ जना क्षमताको सूर्यविनायकस्थित नेपाली सेनाको व्यारेकमा २४ जना संक्रमित रहेका छन् । यी तीनवटा आइसोलेसनमा कोरोना भाइरस संक्रमित नेपाली सैनिकहरुमात्रै रहेको बुझिएको छ ।
त्यस्तै ७५ जना क्षमताको भक्तपुर नपाको आइसोलेसनमा ३६ जना, ५० जना क्षमताको मध्यपुर थिमि नपाको कृषि तालिम केन्द्रस्थित आइसोलेसनमा ४३ जना संक्रमित रहेका छन् ।
२३ जना क्षमताको चाँगुनारायण नपा ६ नगरकोटस्थित खानेपानी तथा सरसफाइ तालिम केन्द्रको आइसोलेसन पूरै खाली रहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।

भक्तपुरमा संक्रमितको संख्या ४ हजार ३ सय ५८

भक्तपुरमा आइतबारसम्म कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ३ सय ५८ पुगेको छ । जसमध्ये २ हजार ४ सय ६२ पुरुष र एकहजार ८ सय ९६ महिला रहेका छन् । आइतबार भक्तपुरमा ४० पुरुष र ३२ महिला गरी ७२ जना नयाँ संक्रमित थपिएका थिए ।
भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमि नपामा संक्रमितको संख्या एकहजार ५ सय ७३ जना पुगेको छ । जसमा ८ सय ६९ पुरुष र ६ सय ६८ महिला रहेका छन् ।
मध्यपुर थिमिपछि सूर्यविनायक नपामा ६ सय ९९ पुरुष र ४ सय ९९ महिला गरी एकहजार एक सय ९८ संक्रमित पुगेका छन् ।
तेस्रो स्थानमा रहेको भक्तपुर नपामा ५ सय ८५ पुरुष र ५ सय ४० महिला गरी एकहजार एकसय २५ संक्रमित पुगेका छन् । सबैभन्दा कम चाँगुनारायण नपामा २ सय ६३ पुरुष र एकसय ५९ महिला गरी ४ सय २२ संक्रमित पुष्टि भएका छन् ।

संक्रमणले मर्ने ४७ पुगे

भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४७ पुगेको छ । जसमा पुरुष ३४ र महिला १३ रहेका छन् । यहाँका चार नपामध्ये सबैभन्दा बढी भक्तपुर नपाका १४ पुरुष र ६ महिला गरी २० जनाको संक्रमण्को कारण मृत्यु भएको छ ।
भक्तपुरपछि मध्यपुर थिमिका १३ पुरुष र ५ महिला गरी १८ जनाको संक्रमणको कारण मृत्यु भएको छ । त्यस्तै सूर्यविनायक नपाका ६ पुरुष र २ महिला गरी ८ तथा चाँगुनारायण नपाका एक पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM