Connect with us

HEALTH

भक्तपुरका १.१७ प्रतिशत जनसंख्यालाई कोरोना

Avatar

Published

on

File Photo

भक्तपुर । भक्तपुरको कूल जनसंख्याको १.१७ प्रतिशतलाई कोरोना संक्रमण भएको छ । त्यस्तै कोरोना भाइरस संक्रमणबाट भएको मृत्यु दर पनि १.१७ प्रतिशत नै रहेको छ ।
२०६८ सालको जनगणनाअनुसार भक्तपुरको जनसंख्या ३ लाख ४ हजार ६ सय ५१ रहेको छ । जसअनुसार १.१७ प्रतिशत अर्थात ३ हजार ५ सय ७८ जनालाई कोरोना पुष्टि भएको हो । जसमा २ हजार ४८ पुरुष र एक हजार ५ सय ३० महिलालाई कोरोना संक्रमण भएको हो ।
त्यस्तै कूल संक्रमितको १.१७ प्रतिशत अर्थात ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय भक्तपुरले मंगलबारसम्म भक्तपुरका ३० पुरुष र १२ महिला गरी ४२ जनाको मृत्यु भएको जनाएको हो ।
भक्तपुरको क्षेत्रफलको आधारमा एक वर्गकिलोमिटरभित्र ३० जना संक्रमित रहेका छन् । केन्द्रीय तथ्यांक विभागका अनुसार भक्तपुर जिल्लाको कूल क्षेत्रफल एकसय १९ वर्ग किमि रहेको छ ।
यस हिसाबले भक्तपुरका एक संक्रमितले करिब १६ वर्ग मिटर ओगट्छ । कोरोना भाइरस संक्रमणबाट जोगिन जनस्वास्थ्य मापदण्ड पालना गर्न दुई मिटरको भौतिक दूरी कायम गर्नुपर्ने हुन्छ ।

संक्रमणदर २२.६४ प्रतिशत

भक्तपुरमा कोरोना भाइरस संक्रमणदर २२.६४ प्रतिशत देखिएको छ । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार मंगलबारसम्म यहाँका १५ हजार ७ सय ९९ जनाको पीसीआर परीक्षण गरिएको छ । जसको २२.६४ प्रतिशत अर्थात ३ हजार ५ सय ७८ जनामा संक्रमण पुष्टि भएको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।
उनका अनुसार भक्तपुरका कोरोना भाइरस संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या सन्तोषजनक छैन । भक्तपुरका ५३ प्रतिशत अर्थात एकहजार ८ सय ९९ जनामात्रै डिस्चार्ज भएका छन् । जसमा एकहजार ७९ पुरुष र ८ सय २० महिला रहेको प्रमुख मिजारले बताए ।
उनका अनुसार मंगलबारसम्म भक्तपुरका ९ सय ३९ पुरुष र ६ सय ९८ महिला गरी एकहजार ६ सय ३७ जना सक्रिय संक्रमित रहेका छन् ।
सक्रिय संक्रमितमध्ये एकहजार २ सय ८१ जना होम आइसोलेसनमा रहेका छन् । यहाँका ३ सय ५६ जनाको मात्रै अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM