Connect with us

HEALTH

भक्तपुरका ८० प्रतिशत संक्रमित होम आइसोलेसनमा

Avatar

Published

on

भक्तपुर । भक्तपुरका ८० प्रतिशत कोरोना भाइरस संक्रमित होम आइसोलेसनमा बसेको पाइएको छ ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार यहाँ सक्रिय संक्रमितमध्ये ८०.४९ प्रतिशत अर्थात एकहजार २ सय ६७ जना होम आइसोलेसनमा बसेका हुन् । जसमध्ये ६ सय ९० पुरुष र ५ सय ७७ महिला रहेका छन् ।
कार्यालयका प्रमुख कृष्ण मिजारले आइतबारसम्म भक्तपुरमा एक हजार ५ सय ७४ जना सक्रिय संक्रमित रहेको जानकारी दिए । जसमा ८ सय ९३ पुरुष र ६ सय ८१ महिला रहेको उनको भनाइ छ ।
उनका अनुसार भक्तपुरका ३ सय ७ जनामात्रै अस्पतालको आइसोलेसनमा रहेका छन् । जसअनुसार २ सय ३ पुरुष र एकसय ४ महिला भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेको अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।
प्रमुख मिजारले अस्पतालको आइसोलेसनमा रहेकामध्ये ४ पुरुष र २ महिला गरी ६ जना भक्तपुर अस्पतालको आईसीयूमा उपचाररत रहेको बताए । भक्तपुरको मध्यपुर थिमि नपाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको ८ र चाँगुनारायण नपा २ दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालका ७ शय्या आईसीयू भने खाली रहेको उनले जानकारी दिए ।
भक्तपुरका कूल सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी मध्यपुर थिमि नपामा २ सय ९१ पुरुष र २ सय २४ गरी ५ सय १५ जना रहेका छन् । मध्यपुर थिमिपछि सूर्यविनायक नपामा २ सय ६७ पुरुष र २ सय ९ महिला गरी चार सय ७६ जना सक्रिय संक्रमित रहेका छन् ।
भक्तपुरका चार नपामध्ये भक्तपुर नपामा २ सय ११ र एकसय ७४ महिला गरी ३ सय ८५ संक्रमित सक्रिय रहेका छन् । चाँगुनारायण नपामा भने एकसय ५१ जना सक्रिय संक्रमित छन् । जसमा पुरुष ९३ र महिला ५८ रहेका छन् ।

५२.५८ प्रतिशत संक्रमित डिस्चार्ज

भक्तपुरका कूल संक्रमितमध्ये ५२.५८ प्रतिशत अर्थात एकहजार ७ सय ६२ जना डिस्चार्ज भएका छन् । जसमध्ये एक हजार पुरुष र ७ सय ६२ जना महिला रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार मध्यपुर थिमि नपाका ७ सय १३, भक्तपुर नपाका ५ सय ९, सूर्यविनायक नपाका ३ सय ६१ र चाँगुनारायण नपाका एकसय ७९ जना डिस्चार्ज भएका छन् ।
भक्तपुरमा समग्र नेपालभन्दा १७.८२ प्रतिशत न्यून हो । नेपालमा कूल संक्रमितको ७०.४ प्रतिशत डिस्चार्ज भएका छन् ।

संक्रमणले ३७ जनाको मृत्यु

कोरोना भाइरस संक्रमणको कारण भक्तपुरका २७ पुरुष र १० महिला गरी ३७ जनाको मृत्यु भएको छ । यो कूल संक्रमितको १.१० प्रतिशत हो । जुन राष्ट्रिय मृत्युदरभन्दा झन्डै दोब्बर हो । नेपालमा कूल संक्रमितको ०.५९ प्रतिशत मृत्युदर रहेको छ ।
भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमिका १२ पुरुष र ५ महिला गरी १७ जनाको संक्रमणको कारण मृत्यु भएको छ । भक्तपुर नपाका ८ पुरुष र ३ महिला गरी ११, सूर्यविनायक नपाका ६ पुरुष र २ महिला गरी ८ जना संक्रमितको मृत्यु भएको छ ।
सबैभन्दा कम चाँगुनारायण नपा एक संक्रमित पुरुषको मृत्यु भएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM