Connect with us

HEALTH

भक्तपुरमा ६१.३ प्रतिशत सक्रिय संक्रमित

Avatar

Published

on

भक्तपुर । भक्तपुरमा एक हजार ४६ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । जुन कूल संक्रमित संख्याको ६१.३ प्रतिशत हो ।
भक्तपुरमा बिहीबारसम्म कोरोना भाइरस संक्रमितको संख्या एक हजार ७ सय ७ पुगेको छ ।
यहाँ समग्र नेपालको भन्दा सक्रिय संक्रमितको संख्या दोब्बरभन्दा बढी रहेको छ । समग्र नेपालमा २६.३ प्रतिशतमात्रै सक्रिय संक्रमित रहेका छन् ।
भक्तपुरका ६ सय ६१ जनामात्र कोरोना भाइरस संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् । ३ सय ६७ पुरुष र २ सय ९४ महिलाले कोरोना भाइरस संक्रमण जितेका छन् । जुन संक्रमित संख्याको ३८.७ प्रतिशतमात्रै हो ।
भक्तपुरमा कोरोना भाइरस संक्रमण जित्नेको दर नेपालको भन्दा करिब आधामात्रै रहेको छ । नेपालमा कूल संक्रमितको ७२.७ प्रतिशतले कोरोना भाइरस संक्रमणलाई जितेका छन् ।
भक्तपुरमा कोरोना भाइरस संक्रमणको मृत्युदर पनि समग्र नेपालको भन्दा दोब्बर बढी छ । भक्तपुरका २३ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । जुन कूल संक्रमितको १.३४ प्रतिशत हो । समग्र नेपालमा भने कोरोना भाइरस संक्रमणको मृत्युदर ०.६५ प्रतिशतमात्रै रहेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरका १५ पुरुष र ८ महिला गरी २३ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो ।
यहाँका चार नपामध्ये सबैभन्दा मध्यपुर थिमिका ९ जना पुरुष र ४ महिला गरी १३ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।
मध्यपुर थिमिपछि भक्तपुर र सूर्यविनायक नपाका ५–५ जनाको संक्रमणका कारण मृत्यु भएको छ । भक्तपुरका ४ पुरुष र एक महिला तथा सूर्यविनायकका २ पुरुष र ३ महिलाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार बिहीबार भक्तपुरमा ४८ जनामात्रै नयाँ संक्रमित थपिएको छ । जबकि स्वास्थ्य मन्त्रालयले ५१ जना संक्रमित रहेको जनाएको थियो ।
बिहीबार यहाँका चार नपामध्ये सबैभन्दा बढी सूर्यविनायक नपामा १५ पुरुक्ष र ५ महिला गरी २० जना संक्रमित थपिएका छन् । मध्यपुर थिमिमा ७ पुरुष र ५ महिला गरी १२ जना, भक्तपुरमा ९ पुरुष र एक महिला गरी १० जना तथा चाँगुनारायणमा एक पुरुष र एक महिला गरी २ जना नयाँ संक्रमित थपिएका छन् ।
बिहीबार थपिएका ४ जना नयाँ संक्रमितलाई सम्पर्क हुन नसकेको कार्यालयकी जनस्वास्थ्य अधिकृत निष्ठा बल्लले जानकारी दिइन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM