Connect with us

HEALTH

भक्तपुरमा कोरोना संक्रमित एक हजार ३४ पुगे

Avatar

Published

on

भक्तपुर । भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार नाघेको छ । सोमबार ४० जना नयाँ थपिएसँगै भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ३४ पुगेको हो । जसमा ५ सय ९३ जना पुरुष र ४ सय ४१ महिला रहेका छन् ।
स्वास्थ्य मन्त्रालयले सोमबार गरेको पत्रकार सम्मेलनमा भक्तपुरका ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि जनाएको थियो तर यहाँ ४० जनाको मात्रै नामावली आएको स्वास्थ्य कार्यालय भक्तपुरले बताएको छ ।
कार्यालयकी जनस्वास्थ्य अधिकृत निष्ठा बल्लले सोमबार भक्तपुरमा थपिएका ४० जनामध्ये २६ जना महिला र १४ जना पुरुष रहेको बताइन् ।
सोमबार भक्तपुर नपामा सबैभन्दा बढी संक्रमित थपिएका छन् । उनका अनुसार यहाँ २० महिला र आठ पुरुष गरी २८ संक्रमित थपिएको जनस्वास्थ्य अधिकृत बल्लले जानकारी दिइन् ।
उनका अनुसार सूर्यविनायक नपामा ३ महिला र २ पुरुष गरी ५, चाँगुनारायण नपामा २ पुरुष र २ महिला गरी ४ तथा मध्यपुर थिमि नपामा १ पुरुष र एक महिला गरी २ जना नयाँ संक्रमित थपिएका छन् । एकजना महिला संक्रमित भने सम्पर्कमा नआएको जनस्वास्थ्य अधिकृत बल्लले बताइन् ।


‘सोमबार थपिएका संक्रमितमध्ये २० जनालाई विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको छ’, उनले भनिन्, ‘१९ जना भने होम आइसोलेसनमै बसेका छन् । आठजनामा संक्रमणको लक्षण देखिएको छ ।’
भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी संक्रमित मध्यपुर थिमिमा रहेका छन् । यहाँ सोमबारसम्म कोरोना संक्रमितको संख्या ४ सय ९ पुगेको छ ।
यसैगरी भक्तपुर नपामा २ सय ६२, सूर्यविनायक नपामा २ सय ३० र चाँगुनारायण नपामा एकसय २३ जना संक्रमित रहेका छन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM