Connect with us

HEALTH

भक्तपुरमा एकैदिन ८२ जना कोरोना संक्रमित थप

Avatar

Published

on

भक्तपुर । भक्तपुरमा आइतबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले आइतबार भक्तपुरका ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि गरेको हो ।
तर भक्तपुरमा ८२ जना कोरोना भाइरस संक्रमितहरुको विवरण प्राप्त भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । यससँगै भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या ९ सय ९४ पुगेको छ ।
कार्यालयकी जनस्वास्थ्य अधिकृत निष्ठा बल्लले आइतबार मध्यपुर थिमि नपामा मात्रै ४६ जना संक्रमित थपिएका छन् । यहाँ ३९ पुरुष र ७ महिला गरी एकैदिन ४६ जना संक्रमित थपिएको हो ।
यससँगै मध्यपुर थिमिमा कोरोना संक्रमितको संख्या ४ सय ४ पुगेको अधिकृत बल्लले बताइन् । जसमा २ सय ३२ पुरुष र एकसय ७२ महिला रहेका छन् ।
मध्यपुर थिमि भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी संक्रमित भएको नगरपालिका हो । त्यस्तै बढी संक्रमितको मृत्यु हुने नपा पनि मध्यपुर थिमि नै हो । शनिबार एकैदिन मध्यपुर थिमिका दुई संक्रमितको मृत्यु भएको थियो । यहाँका ५ पुरुष र ३ महिला गरी आठ जना संक्रमितको मृत्यु भइसकेको छ । भक्तपुरका ९ पुरुष र ५ महिला गरी १४ जना संक्रमितको मृत्यु भइसकेको छ ।
अधिकृत बल्लका अनुसार आइतबार मध्यपुर थिमिपछि भक्तपुर नपामा ९ पुरुष र आठ महिला गरी १७ जना संक्रमित थपिएका छन् । यससँगै यहाँ संक्रमितको संख्या २ सय ४४ पुगेको उनले जानकारी दिइन् । जसमा एकसय २५ पुरुष र एकसय १९ महिला रहेका छन् ।
त्यस्तै सूर्यविनायक नपामा १० पुरुष र ५ महिला गरी १५ जना संक्रमित थपिए । यहाँका आइतबारसम्ममा संक्रमितको संख्या एकसय २५ पुरुष र ९० महिला गरी २ सय १५ पुगेको छ ।
आइतबार सबैभन्दा कम चाँगुनारायण नपामा २ जना पुरुष र एकजना महिला गरी जम्मा ३ जना संक्रमित थपिए । स्वास्थ्य कार्यालयका अनुसार यहाँ ८३ पुरुष र ३६ महिला गरी संक्रमितको संख्या एकसय १९ पुगेको छ ।
आइतबार थपिएका ८२ संक्रमितमध्ये एकजनाको खोजी भइरहेको जनस्वास्थ्य अधिकृत बल्ले जानकारी दिइन् । यससँगै भक्तपुरका १३ जना संक्रमितहरु सम्पर्कमा आएका छैनन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM