Connect with us

HEALTH

कोरोनाले एकैदिन २ को मृत्यु : भक्तपुरमा मर्नेको संख्या १४ पुग्यो

Avatar

Published

on

भक्तपुर । कोरोना भाइरस संक्रमणले शनिबार एकैदिन भक्तपुरका दुई पुरुषको मृत्यु भएको छ । यहाँको मध्यपुर थिमि नगरपालिका वडा नं. ५ का ६३ वर्षीय र वडा नं. ९ का ३८ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणको कारण मृत्यु हो ।
यससँगै भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण मर्नेको संख्या १४ पुगेको हो । जुन कोरोना भाइरस संक्रमणका कारण हुने मृत्युदर १.५ प्रतिशत हो । देशभरको कोरोना भाइरस संक्रमणका कारण भएको मृत्युदर भने ०.६ प्रतिशतमात्रै रहेको छ ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार शनिबार ललितपुरको पाटन अस्पताल र मेघा अस्पतालमा उपचाररत दुई पुरुषको मृत्यु भएको थियो ।
स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत निष्ठा बल्लले सुरुमा निमोनिया भएर उपचारको लागि मध्यपुर थिमि नपाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा लगिएको ६३ वर्षीय पुरुषको पाटन अस्पतालमा मृत्यु भएको जानकारी दिइन् । निमोनिया भएर नगरपालिका अस्ताल लगिएका उनको शंका लागेर कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो ।
कोरोना संक्रमण पुष्टि भएपछि उनलाई थप उपचारको लागि पाटन अस्पताल लगिएको अधिकृत बल्लले बताइन् । पाटन अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेकै बेला शनिबार बिहान ती पुरुषको मृत्यु भएको छ ।
त्यस्तै संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसिरहेका वडा नं. ९ बस्ने ३८ वर्षीय पुरुषलाई सासप्रश्वाससम्बन्धी समस्या भएपछि बिहीबार नगरपालिका अस्पताल लगिएको थियो ।
उनको रगतमा अक्सिजनको मात्रा कम भएपछि शुक्रबार राती मेघा रिफर गरिएको र उपचारकै क्रममा शनिबार मृत्यु भएको अधिकृत बल्लले बताइन् ।

यससँगै मध्यपुर थिमि नपाका मात्रै ८ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । अधिकृत बल्लले मध्यपुर थिमि नपाका ५ पुरुष र ३ महिला गरी ८ जनाको कोरोना भाइरस संक्रमणकै कारण मृत्यु भएको जानकारी दिइन् ।
त्यस्तै सूर्यविनायक नपाका २ महिला र २ पुरुष गरी ४ जना र भक्तपुर नपाका २ जना पुरुषको कोरोना भाइरस संक्रमणकै कारण मृत्यु भएको उनको भनाइ छ ।

संक्रमितको संख्या ९ सय १२

भक्तपुरमा शनिबारसम्ममा कोरोना भाइरस संक्रमितहरुको संख्या ९ सय १२ पुगेको छ । जसमा ५ सय ८ पुरुष र महिलाको संख्या ४ सय ४ रहेको छ । शनिबार भक्तपुरमा साताभरिमा सबैभन्दा कम १८ जनामात्रै संक्रमित थपिएका थिए । जसमा १० पुरुष र ८ जना महिला संक्रमित थपिएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
भक्तपुरमा शुक्रबारसम्म २ सय १२ महिला र एकसय २७ पुरुष गरी ३ सय ४९ जनाले कोरोना भाइरस संक्रमणलाई जितेको अधिकृत बल्लले बताइन् । यो कूल संक्रमतिको ३९ प्रतिशत हो । जबकि नेपालमा कोरोना भाइरस संक्रमण निको हुने दर ७०.६ प्रतिशत रहेको छ । समग्र नेपालमा कोरोना भाइरसलाई जित्नेको प्रतिशतभन्दा भक्तपुरको दर करिब आधा रहेको छ ।
भक्तपुरमा चार नपामध्ये सबैभन्दा बढी कोरोना भाइरस संक्रमित मध्यपुर थिमिमा रहेका छन् । यहाँ शनिबारसम्म संक्रमितहरुको संख्या ३ सय ५८ पुगेको छ । जसमा एकसय ९३ पुरुष र एकसय ६५ महिला रहेका छन् ।
स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत बल्लका अनुसार मध्यपुर थिमिपछि भक्तपुर नपामा संक्रमितको संख्या बढेका छन् ।
यहाँ शनिबारसम्म एकसय १६ पुरुष र एकसय ११ महिलासहित २ सय २७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भक्तपुरका सांसददेखि वडा अध्यक्षसम्म संक्रमित

भक्तपुर नपा २ निवासी भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रेम सुवाललाई समेत कोरोना भाइरस संक्रमण भएको छ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिवसमेत रहेका सांसद सुवाल अहिले होम आइसोलेसनमा रहेका छन् । उनी भक्तपुर नपाका पूर्वप्रमुख पनि हुन् ।
त्यस्तै भक्तपुर नपाका दुई वडा अध्यक्ष र दुई वडा सदस्यलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरुको संक्रमण उपचारको लागि आइसोलेसनमा रहेका छन् ।
भक्तपुर नपाकै एक महिला वडा सदस्य भने कोरोना भाइरस संक्रमणलाई जितेर डिस्चार्ज भइसकेकी छन् । पछिल्लो समय भक्तपुर नपाका कोरोना भाइरस संक्रमण हुने दर बढेको छ । भक्तपुरले संक्रमितको संख्यामा सूर्यविनायक नपालाई उछिनेको हो ।
सूर्यविनायक नपामा भने एकसय १५ पुरुष र ८५ महिला गरी २ सय र चाँगुनारायण नपामा ८१ पुरुष र ३५ महिला गरी एकसय १६ जना कोरोना भाइरस संक्रमित रहेका छन् ।

१२ जना सम्पर्कविहीन

अधिकृत बल्लका अनुसार शनिबारसम्म भक्तपुर तोकिएर आएका १२ जना संक्रमित सम्पर्कमा आएका छैनन् ।
‘कतिको सम्पर्क नम्बर गलत छ’, उनले भनिन्, ‘कसैले जति सम्पर्क गरेर पनि मोबाइल उठाएका छैनन् ।’
कसैको स्पष्ट ठेगाना नखुल्दा पनि सम्पर्कविहीन भएको उनले सुनाइन् । शनिबार भक्तपुर जनिएर संक्रमण पुष्टि भएका दुईजनाको समेत ठेगाना स्पष्ट नखुलेको उनको भनाइ छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM