Connect with us

HEALTH

प्लाज्मा थेरापी गर्न भक्तपुर रेडक्रसले रगत संकलन थाल्यो

Avatar

Published

on

रगतबाट प्लाज्मा तयार गर्दै नेपाल रेडक्रस सोसाइटी भक्तपुरको ब्लड बैंककी एक प्राविधिक । तस्बिर : नेरेसो भक्तपुर

भक्तपुर । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले कोरोना भाइरस संक्रमणलाई जितेकाहरुको रगत संंकलन सुरु गरेको छ ।
कोरोना भाइरस संक्रमण भएर गम्भीर अवस्थामा पुगेका बिरामीहरुको प्लाज्मा थेरापी गर्न उक्त रगत संकलन गरिएको जिल्ला शाखाका सभापति मनोजकुमार थापाले जानकारी दिए ।
कोरोना भाइरस संक्रमणको कुनै खोप तथा औषधि अहिलेसम्म पत्ता लागेको छैन । तर संक्रमण भएर निको भएकाहरुको रगतको प्लाज्मा गम्भीर संक्रमितलाई दिँदा निको हुन थालेपछि अहिले प्लाज्मा थेरापी गर्ने क्रम बढेको छ ।
सोहीअनुसार कोरोना भाइरस संक्रमण भएर गम्भीर बिरामी भएकालाई जीवनदान दिन भक्तपुर रेडक्रसले संक्रमण भएर निको भएकाहरुको रगत संकलन गर्न थालेको जिल्ला सभापति थापाले स्पष्ट पारे ।
उनका अनुसार शनिबार कोरोना संक्रमण भएर पाटन अस्पतालमा उपचार गराइरहेका एक संक्रमितलाई भक्तपुरको चाँगुनारायण नपाका एक युवाको रगतलिए प्लाज्मा उपलब्ध गराइएको छ ।
संक्रमण भएर निको भएका ती युवकलाई पाटन अस्पतालमा उपचाररत संक्रमितले नै सम्पर्क गरेका थिए । जसअनुसार ती युवकले खुसीसाथ ती संक्रमितको प्लाज्मा थेरापीको लागि भक्तपुर रेडक्रसको रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) मा रगत दिएका थिए ।
प्लाज्मा थेरापीको लागि रगत संकलन गर्न भक्तपुरका ६१ जना कोरोना संक्रमण जितेकाहरुको सूची तयार गरिएको सभापति थापाले बताए ।
‘उक्त सूचीमा अन्य संक्रमण जितेकाहरुलाई पनि समावेश गर्दै जान्छौं’, उनले भने, ‘जसले गर्दा प्लाज्मा आवश्यक संक्रमितलाई सम्पर्क गर्न सहज होस् ।’
उक्त सूचीभित्रका व्यक्तिलाई रक्तदानको लागि भक्तपुर रेडक्रसले लिन जाने र पुनः घरसम्म पु-याउने व्यवस्था गरिएको छ ।
संक्रमित र उनका घरपरिवारले सम्पर्क गरेर ल्याएका व्यक्तिको रगत लिएर पनि भक्तपुर रेडक्रसले प्लाज्मा छुट्याएर उपलब्ध गराउने सभापति थापाले जानकारी दिए ।
उनले संक्रमितको लागि आवश्यक प्लाज्मा सरकारले निःशुल्क उपलब्ध गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
शनिबारसम्मा भक्तपुरका एकसय २ जना कोरोना भाइरस संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् ।
चिकित्सकहरुका अनुसार कोरोना भाइरस संक्रमण जितेकाहरुको रगतमा रोगप्रतिरोधी क्षमता विकास भइसकेको हुन्छ । त्यसैले उक्त रगतमा भएको प्लाज्मा अर्को संक्रमित व्यक्तिलाई दिँदा संक्रमणलाई चाँडै जित्ने उनीहरु बताउँछन् । उनीहरुको अनुसार यसरी प्लाज्माको लागि रगत दिनेहरु कोरोना भाइरस संक्रमणलाई जितेको १५ दिन पूरा भएको हुनुपर्छ ।
संक्रमण जितेका व्यक्तिबाट लिइएको रगतको प्लाज्मामात्रै काम लाग्ने जिल्ला शाखाका मन्त्री परशुराम पाण्डे बताउँछन् ।
‘संक्रमण जितेकाको रगतबाट प्लाज्मामात्रै लिन्छौं’, उनले भने, ‘बाँकी रगतका सेल काम लाग्दैन ।’
उनका अनुसार भक्तपुर रेडक्रसको ब्लक बैंकमा दैनिक ३–४ जना संक्रमित र संक्रमितका आफन्तले प्लाज्मा थेरापीको लागि रगत आवश्यक भएको भनी सम्पर्क गर्छन् ।
पहिले संक्रमितहरुको सम्पर्क नहुँदा व्यवस्था गर्न नसकिइरहेको उनको भनाइ थियो ।
भक्तपुरस्थित जिल्ला विपद् व्यवस्थापन समितिसँगको समन्वयमा शनिबारदेखि भने उक्त सेवा सुरु गरिएको मन्त्री पाण्डेले स्पष्ट पारे ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM