Connect with us

HEALTH

भक्तपुरमा कोरोनाबाट मर्नेको संख्या ८ : आइतबार एकैदिन ४५ संक्रमित थप

Avatar

Published

on

भक्तपुर । भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण आइतबार थप एक पुरुषको मृत्यु भएको छ । पाल्पा जिल्ला घर भई हाल मध्यपुर थिमि नगरपालिका १ लोकन्थली बस्ने ७७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।
यससँगै भक्तपुरका कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
मध्यपुर थिमि नपा १ का वडा अध्यक्ष सुरज खड्काका अनुसार लोकन्थलीस्थित समिट अस्पतालबाट थप उपचारको लागि काभ्रेको धुलिखेल अस्पताल लाने क्रममा ती संक्रमित पुरुषको मृत्यु भएको छ ।
उपचारको लागि उनलाई शुक्रबार समिट अस्पताल लगिएको उनी बताउँछन् । मृतक पुरुषको शव सदगद गर्न नेपाली सेनाको टोलीले काठमाडौंको पशुपतिस्थित विद्युतीय शव दाहगृहमा लगेको वडा अध्यक्ष खड्काले जानकारी दिए ।
यससँगै मध्यपुर थिमिमा मात्रै कोरोना भाइरस संक्रमणका कारण तीनजना संक्रमितको मृत्यु भएको छ । यसअघि शनिबार राती मध्यपुर थिमि नपा ७ नगदेशका ६२ वर्षीया महिलाको उपचारकै क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो ।
त्यस्तै मध्यपुर थिमि नपा ३ गट्ठाघर निवासी ६४ वर्षीया महिलाको मृत्यु भएको थियो । नागरिक अस्पतालका उपचारको लागि लगिएकी उनको मृत्युपछिको परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
भक्तपुरमा शनिबार रातीमात्रै घरमै बसी उपचार गराइरहेका एक पुरुषको मृत्यु भएको थियो ।
भक्तपुर नगरपालिका १ दूधपाटी निवासी ६५ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको हो ।
मधुमेह र उच्च रक्तचापका बिरामी रहेका उनी घरपरिवारको सल्लाहमा होम आइसोलेसनमा रहेका थिए ।
यसअघि भक्तपुर नपा ३ मंगलाछेंका ८२ वर्षीय पुरुषको भक्तपुर अस्पतालमा मृत्यु भएको थियो । उनको मृत्युपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
कोरोना भाइरस संक्रमणकै कारण सूर्यविनायक नपाका दुई महिला र एक पुरुष गरी ३ जनाको मृत्यु भइसकेको छ । सूर्यविनायक नपा १ की ६१ वर्षीया महिलाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो । सूर्यविनायक नपा ८ का ७३ वर्षीय संक्रमित पुरुषको काठमाडौंको मेडिकेयर अस्पतालमा र ५३ वर्षीया महिलाको काभ्रेको धुलिखेल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
आइतबारसम्म भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या ४ सय ८९ पुगेको छ । आइतबारमात्रै भक्तपुरमा ४५ जना कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM