Connect with us

HEALTH

उच्च ज्वर आएपछि विदेशबाट आएका दुईजना आइसोलेसनमा

Published

on

भक्तपुर अस्पतालमा कोरोना भाइरस संक्रमण सम्भावितको परीक्षण गर्न पीपी बुथ हस्तान्तरण गरिँदै । तस्बिर : इन डेप्थ

भक्तपुर । विदेशबाट आएर घरकै क्वारेन्टाइनमा बसेका भक्तपुरका दुईजना पुरुषलाई भक्तपुर अस्पतालको आइसोलेसनमा राखिएको छ ।
उच्च ज्वर आएपछि भक्तपुर चाँगुनारायण नगरपालिका ६ नगरकोटका ती दुई जना बुधबार भक्तपुर अस्पताल पुगेका थिए । एकजना १९ दिनअघि संयुक्त अरब इमिरेट्सको दुबईमा नेपाल आएका थिए । अर्को भने १८ दिनअघि भारतबाट स्वदेश फर्किएका थिए ।
भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले दुवैमा उच्च ज्वर आएकाले स्वायब संकलनपछि अस्पतालको आइसोलेसनमा राखिएको बताइन् ।
उनका अनुसार अस्पतालले बुधबारसम्ममा ९३ जना विदेशबाट भक्तपुर फर्किएकाहरुको स्वायब संकलन गरिसकेको छ । जसमध्ये ६० जनाको रिपोर्ट प्राप्त भएको र उनीहरुमा कोरोना भाइरस परीक्षण नेगेटिभ आएको मेसु डा. गौतमले जानकारी दिइन् ।
‘बुधबारमात्रै १६ जनाको स्वायब संकलन गरियो’, उनले भनिन्, ‘अस्पतालको आइसोलेसनमा उपचार पाएर १३ जना घर फर्किसकेका छन् ।’
उनका अनुसार अस्पतालमा २१ शय्याको आइसोलेसन वार्डको व्यवस्था गरिएको छ । कोरोना भाइरससम्बन्धी उपचारमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अस्पतालमै खाने बस्ने व्यवस्था गरिएको छ ।
काठमाडौं महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालपछि भक्तपुर अस्पतालमा दोस्रो पीपीई बुथ निर्माण भएको छ । त्यसैले कोरोना भाइरसको संक्रमणको आशंकामा अस्पतालमा आएकाहरुको स्वायब संकलन गर्न अस्पताललाई सहज भएको मेसु डा. गौतम बताउँछिन् ।
‘पीपीई बुथको व्यवस्थासँगै कोरोना भाइरस संक्रमणको आशंका भएकाहरुको स्वायब संकलन गर्नको अस्पताललाई सहज भएको छ’, उनले भनिन्, ‘स्वायब दिन जति जना आए पनि हामी संकलन गर्छौं । अहिलेसम्म कसैलाई फर्काएका छैनौं ।’
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले विदेशबाट आएर भक्तपुर बसेका सबैको स्वायब परीक्षण गर्ने भनेपछि अस्पताल पुग्नेहरुको संख्या बढेको छ । मंगलबार १४ जना पुगेकोमा बुधबार १६ जना स्वायब परीक्षणको लागि अस्पताल पुगेका थिए ।
भक्तपुरमा चैत १ गतेपछि विदेशबाट आउने एकसय ३१ जनाको पहिचान भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार भक्तपुरका विभिन्न अस्पतालमा १७ वटा भेन्टिलेटर र ८७ वटा आइसोलेसन शय्या तयारी अवस्थामा राखिएको छ ।
त्यस्तै कोरोना भाइरस संक्रमितहरुको ओसारपसार गर्न जिल्लाका चार वटा एम्बुलेन्सलाई विशेष रुपमा मोडिफाइ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए । अरु २२ वटा एम्बुलेन्सलाई पनि आवश्यकताअनुसार मोडिफाइ गर्ने प्रक्रिया अघि बढाइएको उनको भनाइ थियो ।
जिल्लामा कोरोना भाइरस संक्रमणको आशंका भएका व्यक्तिहरुलाई घरसम्म लिन जानको लागि जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखको संयोजकत्वमा पासिएन्ट रिसिभिङ टीम (पीआरटी) गठन गरिएको छ । भक्तपुरका चार नपाका ३८ वटा वडामा समेत उक्त टीम सक्रिय रहेको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073

Design & Hosted By SITEMANDU

Powered By GO BHAKTAPUR.COM & LINK BHAKTAPUR.COM

error: Content is protected !!