Connect with us

HEALTH

अब चिकित्सा शिक्षाको एकीकृत शैक्षिक क्यालेन्डर

Avatar

Published

on

चिकित्सा शिक्षा आयोगद्वारा आयोजित पत्रकार भेटघाटका सहभागी । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । चिकित्सा शिक्षा पढाउने सम्पूर्ण शिक्षण संस्थाहरुको अब एकीकृत शैक्षिक क्यालेन्डर हुने भएको छ । अहिले शिक्षण संस्थापिच्छे फरक फरक शैक्षिक क्यालेन्डर प्रयोग भइरहेको छ । यसले शैक्षिक कार्यक्रम र समयावधि प्रभावित भइरहेको भन्दै चिकित्सा शिक्षा आयोगले एकीकृत शैक्षिक क्यालेन्डर निर्माण गर्ने भएको हो ।
आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ अनुसार एकीकृत शैक्षिक क्यालेन्डर निर्माण भइरहेको जानकारी दिए ।
‘अहिले शिक्षण संस्थाअनुसार फरक फरक शैक्षिक क्यालेन्डर प्रयोग भइरहेको छ’, आयोगमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘त्यसैले सबै शिक्षण संस्थाको शैक्षिक कार्यक्रम र समयावधिमा एकरुपता कायम गर्न एकीकृत शैक्षिक क्यालेन्डर निर्माण भइरहेको छ ।’
उपाध्यक्ष गिरीले राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ अनुसार शिक्षण संस्थाहरुको मापदण्ड, कार्यविधि र निर्देशिकासमेत बनाइरहेको सुनाए ।
त्यस्तै मेडिकल कलेजहरुको अनुगमन, मूल्यांकन पद्धति तथा मापदण्डसमेत निर्माण भइरहेको उनको भनाइ थियो ।
आयोगका सदस्य सचिव डा. हरि लम्सालले स्वास्थ्य शिक्षा क्षेत्रको सूचना तथा तथ्यांक संकलन, व्यवस्थापन, विश्लेषण र प्रवोधीकरण गर्न आयोगले सफ्टवेयरमा आधारित स्वास्थ्य शिक्षा व्यवस्थापन तथा सूचना प्रणाली विकास गरिरहेको बताए ।
उक्त सफ्टवेयर विकास भएपछि नेपालका स्वास्थ्य शिक्षा क्षेत्रको सम्पूर्ण सूचना तथा तथ्यांक पारदर्शी हुने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा जानकारी दिइएअनुसार आयोगले चालू शैक्षिक सत्रदेखि नै चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा एकीकृत प्रवेश परीक्षा लागू गर्न आवश्यक कानुनी तथा व्यवस्थापकीय व्यवस्था गर्न उपाध्यक्ष प्रा.डा. गिरीको संयोजकत्वमा एकीकृत प्रवेश परीक्षा समिति गठन गरिएको छ । उक्त समितिले आगामी शैक्षिक सत्रदेखि स्नातक तहको समेत एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने आयोगले जनाएको छ ।
सदस्य सचिव लम्सालले मेडिकल कलेजहरुले विद्यार्थीहरुसँग बढी शुल्क लिएकोबारे आयोगले बनाएको कार्यदलले अध्ययन सम्पन्न गरिसकेको जानकारी दिए ।
‘मेडिकल कलेजहरुले विद्यार्थी तथा अभिभावकबाट सरकाले विगतमा तोकेभन्दा बढी शुल्क लिएको भन्ने सवालमध्ये शैक्षिकसत्र २०७२÷७३ र २०७३÷७४ को शुल्क सम्बन्धमा आयोगले गठन गरेको कार्यदलले अध्ययन सम्पन्न गरिसकेको छ’, उनले भने, ‘अध्ययनको प्रतिवेदन तयार गरी पेस गर्ने अवस्थामा कार्यदल पुगेको छ ।’
सरकारले तोकेभन्दा बढी शुल्क लिएका मेडिकल कलेजहरुलाई शुल्क फिर्ता गर्न तथा समायोजन गर्न निर्देशन दिइसकेको छ तर विद्यार्थीहरुले बढी लिएको शुल्क फिर्ता तथा समायोजन नभएको गुनासो गर्दै आएका छन् ।
आयोगले शैक्षिक सत्र २०७६÷७७ को लागि उपत्यकाभित्र एमबीबीएसको लागि ४० लाख २३ हजार दुई पचास र बीडीएसको लागि २० लाख १९ हजार पाँच सय ८० रुपैयाँ शुल्क निर्धारण गरेको छ । त्यस्तै उपत्यकाबाहिर एमबीबीएसको लागि ४४ लाख ३६ हजार २५ रुपैयाँ र बीडीएसको लागि २० लाख १९ हजार पाँच सय ८० रुपैयाँ शुल्क तोकिएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 |

Design & Host By SITEMANDU.COM

Powered By GO BHAKTAPUR.COM